जीवजन्तुको आहारा किन्नै धौ धौ हुँदा चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

ललितपुर ः ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरंजिवी पोखरेललाई चेक हस्तान्तरण गरे । कोरोना महामारीका कारण आम्दानी नभएकाले जनावरलाई आहारा खुवाउनै हम्मे हम्मे परेको जानकारी पाएपछि सहयोग गरेको उनले बताए ।
सहयोग गर्नुको कारण प्रष्ट पार्दै उनले भने, ‘ कोरोना महामारीका कारण आम्दानी नभएपछि चिडियाखानाका धेरै कर्मचारीले आधा तलबमा काम गर्नु भएको रहेछ , जीवजन्तुको आहारा किन्नै धौ धौ परेको रहेछ ।’ चिडियाखानाको आम्दानी नभएका कारण जिवजन्तुको आहारा प्रभावित हुनु नहुने बताउँदै अपुग भए फेरि पनि सहयोग जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे । प्रमुख महर्जनले आधा तलबमा जिवजन्तुको स्याहार , सुसार गर्ने कर्मचारीको समेत उनले प्रसंशा गरे ।
कार्यक्रममा चिडियाखानाका प्रमुख चिरंजिवी पोखरेलले अप्ठ्यारो परिस्थितिमा महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने,‘चिडियाखानाले आर्थिक अभाव झेलिरहेको अवस्थामा कतैबाट सहयोग पाएका थिएनौं,ललितपुर महानगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरेकामो खुशी छौं , धन्यवाद दिन चाहन्छौं ।’ नेपाल सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा धेरै जमघट हुन नपाउने निर्णय गरेसँगै चिडियाखाना बन्द हुँदा आर्थिक अभाव झेल्नु परेको स्पष्ट पारे । चिडियाखानामा एक हजार जिवजन्तु छन् ।
चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार टिकटबाट उठेको रकमबाटै जिवजन्तुको आधार खरिद लगायत अन्य काम गरिन्छ । दैनिक ,३० देखि ४० थरीका खानेकुरा तयार पार्नुपर्छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाको उपस्थिति थियो ।