पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविरको आयोजना गर्दै

photo source: google

विमल विष्ट
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भोलि मङ्सिर ५ गते (आइतबार) बिहान ५ बजे राष्ट्रदेब श्रीपशुपतिनाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितीमा उक्त बिशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।
उक्त योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई राष्ट्रदेब पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिब डा.टोकराज पाण्डेयले बताए । उनले भनें, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितीमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीहरुको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रबद्धन हुने अपेक्षा लिइएको छ ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । शिविरमा हज्जारौं सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण गत बिहीबार नेपाल आएका हुन् ।