मन्दिरको १७३ तोला सुन गायव ! सुन खोज्ने पदाधिकारीलाई पुजारीद्धारा अपमान

काठमाडौं । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ। अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो। अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो।
पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्येश्वरीका पुजारीलाई पत्राचार गरेको थियो।गुठी संस्थानअन्तर्गत पुजारी र रैरकमी गुहेश्वरीमा काम गर्दै आएका छन्। कोष मातहतको पाशुपत क्षेत्रस्थित मन्दिरका दुवै मूर्तिमा २०७५ साल साउनमा २ करोड ११ लाखभन्दा बढी रकम कोषले खर्चिएको थियो। दुवै मूर्ति मर्मतसम्भार गरी सुनको मोलम्बा (तामा वा चाँदीको मूर्तिमा सुनको लेपन) लगाउने कार्य २०५७ सालमा सम्पन्न भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सुन खियाइको मात्रा अस्वाभाविक भएको बताउँछन्। ‘पानीले पखाल्दा र नरम ब्रसले सामान्य सफा गर्दा ७१३ तोला सुनमा १७३.५ तोला घट्नु विश्वासिलो तर्क होइन’, शाक्य भन्छन्। बर्सेनि एक तोलामा दुई–चार लाल वा बढीमा एक आनासम्म खिइनुलाई मात्र स्वाभाभिक मानिने उनको भनाइ छ।
यस संगै पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले दुईवटा मूर्तिमा जति सुन खिइयो त्यत्ति तिर्नुपर्ने नत्र पुष्टि हुनुपर्ने भनाइ राखेका थिए त्यसपछि त्यहाँका पुजारी केदारमान भण्डारीले सुनको विषय उठान गरेको भन्दै आफ्नो फेसबुक पेजमा कोषाध्यक्ष थापाको फोटोमा कालोमसीले काट्टी गरी अपमान गरेका थिए । जस्तोसुकै परिस्थितिमा पनि पशुपति कोषको सम्पति जोगाउने र खोज्ने आफ्नो जीम्मेवारीबाट बञ्चित नहुने कोषाध्यक्षले बताए । कोषको सम्पति कसैले पनि ब्यक्तिगत रुपमा भोगेको सहन नसक्ने पनि भाव प्रकट गरे ।
आफूलाई सामाजिक सञ्जालबाटै अपमान र सार्वजनिक बेइज्जती गरेको भन्दै कोषाध्यक्ष थापाले महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइममा मंगलबार उजुरी दिएका थिए । प्रहरीले केदारमान भण्डारीलाई पक्राउ पूर्जी जारी गरिसकेको छ । पूर्जीअनुसार महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले भण्डारीलाई खोजी गरिरहे पनि पक्रन सकेको छैन । स्रोतअनुसार, भण्डारी मोबाइल स्वीच अफ गरेर लुकी बसेका छन् ।