कोरोना चुनौती भन्दैमा विकासको योजना कार्यान्वयन गर्नुको विकल्प छैन- मिङ्मा लामा

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामासँग  गाउँपालिकाको महिला तथा बालबालिकाको अवस्था बारे प्रमिसा दाहालले गरेको कुराकानी ः
 तपाईंको विचारमा महिला सशक्तीकरण के हो जस्तो लाग्छ ?
सर्वप्रथम त कृशुणा मिडियालाई कोन्ज्योसोममा स्वागत तथा धन्यबाद भन्न चाहन्छु । यस गाउँपालिका तथा समग्र देशको कुरा गर्नु पर्दा महिला सशक्तीकरण भन्ने बित्तिकै राज्यको संरचना तथा संवैधानिक व्यवस्थामा महिलालाई कसरी सक्रिय बनाउने तथा प्रत्येकलाई सहभागी गराउने र महिलाहरूले भाग लिन सक्ने क्षमता नै मेरो विचारमा महिला सशक्तीकरण हो जस्तो लाग्छ ।

अहिले कोन्ज्योसोममा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरूमा महिलाको अवस्थ कस्तो छ ?
यो गाउँपालिका ललितपुर जिल्लाको छ वटा स्थानीय तह मध्य एक सानो गाउँपालिका हो । जसमा ५ वटा वडाहरु रहेका छन । यहाँका महिलाको अवस्था हेर्दा अरु गाउँपालिकाको तुलनामा शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्रमा राम्रो देखिन्छ ।

भनेपछि अरु गाउँपालिकाको तुलनामा उत्कृष्ट नै छ भन्न चाहनु हुन्छ ?
हामीले यस गाउँपालिकाका महिलालाई कसरी सशक्त बनाउने र महिला तथा बालबालिकाहरूलाई संविधानमा व्यवस्था भएका अधिकार, उहाहँरुले पाउनु पर्ने अवसरका कुराहरुलाई सकेसम्म अरु गाउँपालिकाको तुलनामा नमुना कै रुपमा लाने प्रयासमा छौं ।

 महिला विकासका योजना लिएर तालिमहरू कत्तिको आउछन् ? अनि कस्ता कस्ता तालिमहरू आउछन् ?
अहिले चाहिँ कोरोना भाइरसका कारण तालिमहरू लिएर संघ संस्थाहरू आइरहन सकेको अवस्था छैन र आउन दिएका पनि छैनौं । गाउँपालिकाले नै गर्नु पर्दा महिलाहरूलाई अघि बढाउने हेतुले खोलिएका पाँचै वडामा महिला सहकारीहरू छन् । सकेसम्म महिलाहरूलाई कसरी सशक्त बनाउने भन्दै उहाँहरूलाई कानुनी तथा लैङ्गिक हिंसाका कुरा, महिलाहरूलाई पनि विकास निर्माणमा सहभागी हुनुपर्ने कुरा पछाडि रहेका महिलाहरूलाई कसरी अगाडि ल्याउने भनेर सचेतना कार्यक्रम गरेका छौं ।

 यसरी गरीएका सचेतनाका कार्यक्रममा महिलाहरूको चासो कत्तिको रहन्छ ?
यस गाउँपालिकाका पाँचवटा वडाको तुलनामा एक नम्बर र चार नम्बरमा एकै जातीको बसोबास रहेको हुँदा अलिक पिछडिएको महशुस भएको छ । तर पनि हाम्रा कार्यक्रमहरू बढी तीनै वडाका लागि केन्द्रीत हुन्छन् । महिला सहकारी भनेको महिलाहरूको जमघट हुने सञ्जाल हो र प्रत्येक घरका महिलनहरू सदस्य रहेका हुन्छन् । यही मार्फत हामीले महिलाहरूलाई प्रत्येक कार्यक्रममा सहभागी हुन पर्छ भन्दा उहाँहरू चासो देखाउनु हुन्छ । महिला अधिकार के हो, महिलाले पाउनु पर्ने हक हितका कुरा के हुन् भनेर उहाँहरूले चासो लिनु हुन्छ र यस्ता कार्यक्रममा आफ्नो सहभागिता जनाउनुहुन्छ ।

 तपाईले एक नम्बर वडा र चार नम्बर वडा अरू वडाका तुलनामा पछि परेका छन भन्नु भयो । यी वडाहरूलाई अरू वडा समान बनाउन कस्तो प्रयास गरिरहनु भएको छ ?
यी दुई वडामा जनजाति अलिक बढी र शिक्षामा पछि परेको भन्ने कुरा छ । यसमा हामीले पछि परेका वडालाई कसरी अरू वडा समान ल्याउने भनेर सचेतनाका कार्यक्रमहरू, शिक्षा, स्वास्थ्य तथा बालबालिकाका कार्यक्रमहरू बढी गर्ने तथा बजेट व्यवस्थापनका कुरामा पनि यी वडाहरूलाई प्राथमिकतामा राखेर अरू वडा समान ल्याउने प्रयत्नमा छौं ।

स्थानीय सरकार आए पछि महिलाका क्षेत्रमा केही फेरबदल देख्नु भयो ?
धेरै कुरामा फेरबदल भए झैं मलाई लाग्छ । किनकि जब स्थानीय तहको चुनाब भयो त्यसमा पनि संविधानमा उल्लेख भएको समावेशिता अनुरुपनै अध्यक्ष वा उपाध्यक्ष महिला उम्मेदवार हुनु पर्ने, त्यस्तै प्रत्येक वडामा महिला वडा सदस्य हुनुपर्छ भन्ने व्यवस्था अनुसार नै महिलाले उम्मेदवार दर्ता गराए र महिलाहरूले पनि जिते । प्रत्येक ठाउँमा महिलाहरूले आफ्ना समस्याहरू कहाँ राख्ने, कुन निकायमा जाने भन्ने कुरामा महिलाहरू जानकार भै सकेको अवस्था छ । विकास निर्माणका कार्यमा, पूर्वाधारका काम गर्दा पनि उपभोक्ता समितिमा हामीले ५० प्रतिशत महिला पनि सहभागी हुनुपर्छ भन्ने नीति तथा कार्यक्रमहरू बनाएको हुनाले अहिले धेरै महिला सहभागिता तथा महिलाहरूको पहुँच पुगेको छ र शिक्षाका क्षेत्रमा पनि महिलाहरू अग्रसर नै छन् ।

 यहाँ महिला हिंसाको अवस्था कस्तो छ ?
महिला हिंसाको कुरा गर्नुपर्दा अहिले सम्म चाहिँ त्यति आएको छैन । यहाँ लग्भग ८० प्रतिशत जनजाति बसोबास गर्नेछन् । त्यसकारण जनजातिहरूमा पुरूषको तुलनामा महिलाले बढी अधिकारको प्रयोग गरेको पनि पाउन सकिन्छ । बाहुन, क्षेत्रीको तुलनामा जनजातिका महिलाहरू अधिकार प्रयोग गर्न पछि पर्दैनन् र यसो हेर्दा कतिपय वैदेशिक रोजगाीमा गएका पुरुषहरू पनि हिंसामा परेको पाउन सकिन्छ ।

महिला विकासका लागि कस्ता योजनाहरू रहेका छन् ?
महिलाहरूलाई अगाडि बढाउनकै लागि हामीले उपाध्यक्षसँग महिला कार्यक्रम राखेका छौं । त्यस्तै महिला सहकारीका लागि सञ्चालन र व्यवस्थापन सम्बन्धि हामीले तालिमहरू व्यवस्थापन गरेका छौं । ती बाहेक पनि न्यायीक कुराहरू महिलालाई थाहा नहुन सक्छ, आदिवासी, जनजाति, सिमान्तकृत तथा पिछडिएका महिलाहरूलाई अरू वर्गसँगै लानु पर्छ भन्ने हिसाबले थुप्रै सचेतना कार्यक्रमहरू राखेका छौं ।

 यी योजनाहरूले कत्तिको उपलब्धि हासील गरे जस्तो लाग्छ ?
अवस्य, हामीले कार्यक्रम राखे पछि त्यो नतिजा मुखि हुनुपर्छ झैं लाग्छ । जुन उदेश्य राखेर हामीले बजेट व्यवस्थापन गरेका हुन्छौं , भोलि त्यो बजेट लक्षित वर्ग सम्म पुग्यो या पुगेन र तिनले फाइदा लिन सके या सकेनन् भनी नतिजा खोज्छौ । जस कारण ती कार्यक्रमहरूले उपलब्धि हाँसिल गरे झैं लाग्छ ।

तपाई अपांग तथा बालबालिका संरक्षण समितिको संयोजकको नाताले कोन्ज्योसोम गाउँपालिकामा समग्र बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषणको अवस्था कस्तो रहेको छ ?
बालबालिका भन्नाले विश्व मानव अधिकार घोषणा पत्र अनुसार १८ वर्ष मुनि र नेपालको सन्दर्भमा १६ वर्ष मुनीका व्यक्तिलाई बालबालिका भनिन्छ । कुनै पनि बालबालिका शारीरिक तथा मानसिक रूपमा अशक्त हुन सक्छन् । जस्लाई शिक्षाको पहुँचमा कसरी पुर्‍याउने भन्ने कुराहरू छन् । त्यस्तै ती अपांग बालबालिकाको वर्गीकरण गरेर अपांग परिचयपत्र तथा राज्यले व्यवस्था गरेको अपांग भत्ताको ,राहत छ । ती अपांग बालबालिकामा पोषणको कमि हुन नदिनका लागि हामी पोषणका कार्यक्रम पनि गर्दछौं । अपांग बालबालिकाहरूले व्यवसाय सञ्चालन गर्न नसके पनि परिवारले व्यवशाय गरि अपांगलाई केही राहत मिलोस भन्ने हेतुले कुखुरा तथा बाख्रा वितरणका कार्यक्रम ल्याएका छौं । स्कुले बालबालिकाहरूका लागि पनि हामीले धेरै कुरामा ध्यान दिएका छौं । इसीडी र एक कक्षाका भाईबहिनिका लागि पोषण युक्त खाजाको व्यवस्था गरेका छौं । ती बाहेक पनि प्राकृतिक नियम अनुसार महिनावारी हुँदा विधालय नियमित नआउने अवस्था नहोस् भनेर हामीले गाउँपालिकाको तर्फबाट सेनेटरी प्याड वितरण गरेका छौं । शिक्षा, स्वास्थ्य तथा अती आवश्यक कुराहरूका लागि पनि समग्र बालबालिकाका लागि नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्दै आएका छौं ।

यहाँका बालबालिकाको मुख्य समस्या, कारण तथा समाधानका उपाय के होलान् ?
अहिले चाहिँ कोरोनाका कारण शिक्षाबाट बञ्चित भएका छन् । यी समस्या समाधानका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर गाउँपालिकाले सामुदायिक सिकाइ केन्द्रको व्यवस्था गरेका छौं भने गाउँपालिका भित्रका १८ वटा विधालयमा नेटको पहुँच पुर्‍याउने कार्यक्रम बनाएका छौं र तत्कालै कार्यान्वयन गर्ने क्रममा छौं । अहिले बालबालिका प्रविधिसँग नजिकिएका छन । यो राम्रो हो तर सदुपयोग गर्ने या दुरुपयोग गर्ने भन्ने जान्न सकेका छैनन । अभिभावकले पनि बालबालिकालाई दस चार विधालय पठाए पछि सबै जिम्मा विधालयले लिन्छ भन्ने गलत सोचाई राखेको पाइन्छ । जसको कारण सिकाइ उपलब्धि गुणस्तरीय छैन । यसका लागि अभिभावकले पनि बालबालिका प्रति आफ्नो जिम्मेवारी बोध गर्नु पर्छ । विधालय, विधार्थी, अभिभावक तथा विधालय व्यवस्थापन समिति विच सहकार्य भै अघि बढ्नु पर्छ ।

 तपाईंको विचारमा वालमैत्री विधालय के हो जस्तो लाग्छ र बालमैत्री विधालय निर्माणमा पालिकाको कस्तो भुमिका रहन्छ ?
बालमैत्री विधालय भन्नाले बालबालिकालाई विधालयमा आकर्षण गर्ने तथा बालबालिकालाई विधालय जान उत्साह जगाउने र बालमैत्री पूर्वाधार जस्तो ः धारा, ट्वाइलेट, खेलमैदान, कक्षाको व्यवस्था गर्नु नै बालमैत्री विधालय हो । र विधालयलाई बालमैत्री बनाउन गाउँपालीकाले प्रयत्न गरिरहेको अवस्था छ ।

यहाँ विधालय घेरा भन्दा बाहिर रहेका बालबालिकाहरू कति छन् ?
एक वर्ष अगाडि शिक्षा शाखाले ड्रपआउट र विधालय घेरा भन्दा बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गराएको थियो । जुन तथ्यांक अनुसार विधालय घेरा भन्दा बाहिर बालबालिका नरहेको पाइएको छ । जुन हाम्रा लागि खुसी कुरा हो ।

कोन्ज्योसोममा बाल हिंसा तथा बाल यौन दुरव्यवहार कत्तिको पाईन्छ ?
हामी निर्वाचित भएर आउँदा सुरूमा सिविन संस्थाले काम गरेको थियो । जस्ले सङ्कलन गरेको डाटा हेर्दा थोरै मात्र छिटपुट घटना पाइन्छ । आफन्तका कारण, चेतनाको अभावमा , बेरोजगारीका कारण तथा मादक पदार्थ सेवन गरेका कारण यस्ता केही घटना सुरुमा घटे पनि अहिले भने शून्य अवश्थामा नै रहेको पाइन्छ ।

 बालबालिकाको चौतर्फी विकासका लागि कस्ता नितिहरू रहेका छन् ?
बालबालिका भनेका राज्यकै मेरूदण्ड हुनाले हामीले प्रत्येक कार्यक्रमहरू तथा नितिहरू बनाउँदा यी बालबालिकाको चौतर्फी विकासलाई नै ध्यान दिएर बनाएका छौं । विधार्थीहरूलाई गुणस्तरीय, व्यवहारीक तथा प्रविधिमैत्री शिक्षा दिनका लागि हामीले नीति तथा कार्यक्रम बनाएका छौं । यसमा पनि बालबालिकाहरूलाई कसरी सशक्त बनाउन सकिन्छ भन्दै बालबालिका कै लागि शिक्षा भन्ने शीर्षकमा बजेट छुट्ट्याएका छौं । यसमा बाल संगठन, बाल क्लब मार्फत बाल समस्या ल्याउने र समाधानका उपाय खोज्दै युवा परीचालनका कुराहरूमा पनि ध्यान दिएर अध्यक्ष कप, उपाध्यक्ष कप जस्ता कार्यक्रमहरूको आयोजना गरेका छौं । त्यस्तै खेलकुद विकासमा पनि लागेका छौं , यसमा युवा तथा बालबालिकाको आकर्षण पनि देखिन्छ ।

आ.व ०७७र०७८ मा महिला तथा बालबालिकाको विकास तथा स्तरोन्नतिका कस्ता योजनाहरू ल्याउनु भएको छ ?
हामीले महिला, अपांग तथा जेष्ठ नागरिक भनेर १० लाख रूपैयाँ बजेट छुट्याएका छौं । यी बाहेक पनि गाउँपालिकाको तर्फबाट उपाध्यक्षसँग महिला कार्यक्रम भनेर राखेका छौं । यहाँका महिलालाई कसरी व्यवसायी बनाउने तथा सीप मुलक र आय आर्जन तर्फ बढाउने भनी लागि परेका छौं । तर यो कोरोना महामारीका कारण कार्यक्रम गर्न कत्तिको साथ दिन्छ । यो महामारीको चपेटामा अलिक चुनौतीपूर्ण पनि बनेको छ । हामीसँग नीति तथा कार्यक्रम, अवसर तथा चुनौती सबै छन् तर पनि यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा छु ।

 जातीगत रूपमा हेर्दा बाहुन, क्षेत्रीको तुलनामा जनजातिहरू अलिक पिछडिएका हुन्छन् । त्यसमा पनि यो गाउँपालिकामा तामाङ जातीको बाहुल्यता रहेको छ ।यस हिसाबले हेर्दा जातीगत रूपमा तुलना गर्नु पर्दा महिला तथा बालबालिकाको अवश्था सबै जातीमा समान पाउनु हुन्छ या केही तलमाथि छ ?
बाहुन क्षेत्रिको तुलनामा यहाँका जनजाति तथा अल्पसंख्यक पिछडिएका त छन् नै । यो के कारणले भन्दा एक त संस्कार त्यस्तै अर्को पारिवारिक भूमिका तथा चेतना यश कारण पनि जन जाति र बाहुन क्षेत्रीमा विल्कुल फरक पाइन्छ । देशको अवस्था तथा अन्याय पर्दा आवाज उठाउन कुन निकायमा जाने जस्ता कुरा बुज्न जनजातिहरू पछाडि परेका छन् । विरोध गरेर होइन कि। प्रगतिको देखासीखी गरेर बाहुन क्षेत्री सँग कसरी लाग्नुपर्छ रु भन्ने कुरामा हामी महिलाहरूलाई सन्देश दिदै समान स्तरमा उकास्ने क्रममा
प्रश्न ः तपाईंको नितान्त आफ्नो विचार राख्नु पर्दा कोन्ज्योसोममा महिला तथा बालबालिकाको विकास तथा स्तरोन्नतिका लागि कस्ता योजनाहरू ल्याउनुपर्छ जस्तो लाग्छ ?
मुख्य कुरा त शिक्षा नै हो । यहाँका महिला तथा बालबालिकाहरूलाई शिक्षा तथा चेतनामा सशक्त बनाउनु आवश्यक छ । त्यस्तै लैङ्गिंक विभेद, क्षेत्रीय विभेद तथा वर्गीय विभेदका कुराहरू रहेका छन् । यी विभेदहरूलाई अन्त्य नगरे सम्म महिलाहरू पुरूष समान अगाडि बढ्न सक्दैनन् । कतीपय ठाउँमा अन्यायहरू लुकेर रहेका पनि हुन सक्छन् । यस्तो नहोस् भनेर हामीले न्यायीक समितिबाट पनि कानुनी सचेतनाका कार्यक्रम तथा लैङ्गिक हिंसाका कार्यक्रमहरू राख्छौं । कुन ठाउँमा गएर न्याय लिने तथा कसरी अधिकारको प्रयोग गर्ने भन्ने कुरामा महिलाहरूलाई जानकारी दिई रहन्छौं ।पिछडिएका वर्गहरूलाई अरू समान स्तरमा उकास्नका लागि त्यही अनुसारका कार्यक्रमहरू राख्छौं ।

अन्त्यमा गुनासोको कुरा गरौ, स्थानीय सरकारले बजेट ल्याउँदा महिला तथा बालबालिकालाई सहभागी नगरार्इ वा उनीहरूको गुनासो नसुनी बजेट अन्दाजको भरमा ल्याउँछन् भन्ने आरोप लागेको छ । यसमा तपाईं के भन्न चाहनु हुन्छ ? अनुगमन भएको छ पालिकाको तर्फबाट ?
अन्दाजको भरमा भन्दा पनि राज्य संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा गए पछि हामी निर्वाचित भएर आउदा हामीसँग धेरै चुनौतीहरू थिए । यसका अतिरिक्त पनि हामीले अभ्यास गर्यौ । अभ्यास गर्दा केही त्रुटि पनि भएको हुन सक्छ । अगाडि भने झैं, अन्दाजको भरमा काम किन भयो त भन्दा हामीसँग महिला तथा बालबालिकाको कुनै तथ्यांक थिएन । नयाँ संरचनामा आएका थियौ । यसले गर्दा यी चुनौती सामना गर्न हामीले सकेको प्रयास गर्यौ । जस अनुसार बजेटको व्यवस्था गर्यौ । यसले गर्दा केही बालबालिका तथा महिलालाई समान रूपमा बजेट व्यवस्थापन नभएको होकी भन्ने लाग्नु स्वभाविक हो । दुस्खको कुरा अहिलेसम्म कोन्ज्योसोममा महिला तथा बालबालिकाका क्षेत्रमा कर्मचारी छैनन् ।महिला तथा बालबालिकाको क्षेत्रमा बजेट छ । यसलाई कार्यान्वयन गर्नका लागि कर्मचारी तोक्नु पर्यो भनी मैले बारम्बार आवाज उठाएको पनि छु । जनप्रतिनिधिले नीति नियम बनाउँछन् तर  के आवश्यक छ त्यसलाई अभिलेखिकरण गर्ने तथा तथ्यांक ल्याउने काम कर्मचारीको हुन्छ । यसै कारण पनि यो समस्या आएका छन् ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
यस गाउँपालपकाको महिला तथा बालबालिकाको अवस्था बारे बोल्ने अवसर मलाई दिनु भएकोमा यश कृशुणा मिडियालाई धन्यवाद । महिला तथा बालबालिकाका समस्याहरू छन् । जति मैले भने ती सहज ढङ्गले सबै कार्यान्वयन गर्न सकेका छैनौ । यसलाई लागू गर्न हामी लागू पर्ने छौं भन्दै यो मिडियालाई पुनः धन्यवाद