ललितपुर । सुनाकोठीवासीले आइतबारदेखि मुख्य सडक अवरुद्ध गरेर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।
विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि स्थानीयले बन्द घोषणा गरेका हुन् । चार महिनाअघि पनि उनीहरु यसैगरी आन्दोलित बनेका थिए । त्यति बेला तुरुन्तै सडक कालोपत्रे गर्ने सहमति भएको स्थानीय बताउँछन् ।
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले लिएको ५ वर्ष बित्यो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी यो सडक खण्डको ठेकदार हुन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा छ । त्यहाँसम्म सडक बिस्तारको काम सकिएको पनि छ ।
आफू बसेको घरसम्म सडक चिल्लिएपछि दाहाललाई कुनै सास्ती छैन । त्योभन्दा पश्चिमका जनताको दिन भने मौसम अनुसार धुलो र हिलोमा गुम्सिएको छ । उनीहरु अधिकारी र उनको शैलुङ कन्स्ट्रक्सनसँग मात्र नभई नेता दाहालसँग पनि रुष्ट छन् । स्थानीयले ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार’ नारा समेत लेखेर टाँसेका छन् । बिहान १० देखि साँझ ५ वजे सम्म सडक बन्द रहने गरेको थियो भने आज विहान ७ वजेदेखि बन्द रहेको छ ।
1 Comment