नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक

विमल विष्ट,

काठमाडौ । नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीको टोलीले हिजो (मंगलवार) मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ता पछि मन्त्रीको आग्रहमा वायुसेवा निगमको कालोसूची हटाउनमा युरोपियन युनियन सकारात्मक देखिएको मन्त्रालयको स्रोतले जनाएको छ । युरोपेली युनियनले हरेक ६÷६ महिनामा सार्वजनिक गर्ने एयर सेफ्टी लिस्टमा नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ ।

नेपाल पछिल्लो ८ वर्षदेखि लगातार ईयूको एयर सेफ्टी लिस्ट (कालोसूची) मा परेको छ । यो सूचीमा रहेका वायुसेवा कम्पनीका जहाज युरोपियन युनियनका देशभित्र आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध गरिएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गरेका थिए । मन्त्री आलेको आग्रह पछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । उनले भनें, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।”

उक्त छलफका क्रममा दुइ पक्षिय सहयोगका बिभिन्न विषयमा छलफल भएको थियो । नेपाल–संघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनीहरु काठमाडौँमा छन् । उक्त भेटवार्ता तथा छलफलमा युरोपेली संघका तर्फबाट राजनितिक शाखा प्रमुख स्टेफेन नेकोन, डेस्क अधिकृत जान होम्कोफ तथा शाखाका उप प्रमुख इभो स्चुट रहेका थिए भने नेपालका तर्फबाट नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाइ सुरक्षा बिभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिब डा टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको थियो ।