आज ईन्द्र जात्रा

इन्द्रजात्रा सुरुवात राजा जयप्रकाश मल्लले गरेका हुन् भन्ने जनमानसको भनाइ रहेको पाइन्छ । यसर्थ नेवारी समुदायले मनाउने विभिन्न चाडपर्वमध्ये इन्द्रजात्रा पनि एक महत्वपूर्ण पर्व हो । नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा यसलाई मनाइँदै आएको छ

नेपाल धर्म र संस्कृतिमा ज्यादै धनी छ । यसमध्ये इन्द्रजात्रा पनि एक हो । यो खासगरी काठमाडौं उत्पत्यका नेवार समुदायको महान पर्वको रूपमा रहेको छ । प्रत्येक वर्ष भाद्र चर्तुदशीका दिन पर्ने यो पर्व काठमाडौंलगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदी स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी परम्परागत रूपमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका आगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी ठड्याइएको लिंंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्छ । नेपाल भाषामा ‘योर्सी’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिन्ह अंकित पताका झुन्ड्याएको उक्त लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सैनिकको व्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहेको श्रेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई देखाइन्छ । यसअधि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलान्चोक नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । इन्द्रध्वजाको लिंगो ठड्याएपछि जात्रा आठदिनसम्म रहन्छ । यसरी आठदिनसम्म राजधानीका विभिन्न स्थानमा भक्कुनाच हलचोक (सवभकु), भक्तपुरको महाकालीनाच, मिजपातको मजियमत, लाखेनाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न जाने भक्तजनको घँुइचो लाग्ने गर्छ । त्यस्तै, गरी कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ । यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ ।

त्यस दिन नेवार समुदायका मानिसहरूले ‘समयबजी’ खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिंगो ढालेर जात्राको समापन गरिन्छ । यसरी आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँछन् । इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्पंसत्तः को बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ ।

इतिहास तथा संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको वेला पक्राउ गर्यो । त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच संग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको छ । यसैगरी इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ ।

इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नालीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ । लिंगो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवीकुमारी, भैरव र गणेशलाई रथमा राखि काठमाडौं पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ ।

यो जात्रा गर्नुअघि हनुमानढोकाको गद्दीवैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेनुपर्ने प्रचलन छ । यो जात्रामा राष्ट्रप्रमुख उपस्थितिमा जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाए र आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसैदिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सत्बिज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् । यसपछि बहुमत निकाल्ने भनि बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन् ।

अन्त्यमा भन्नुपर्दा हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत धेरै चाड पर्वहरू एकपछि अर्को गरी लगातार आउने गर्छ । यसर्थ इन्द्र जात्रा सुरु भएपछि नेवार समुदायका विभित्र पर्व सुरु हुने गर्छ । यो पर्व सुरुवातको सँगसँगै हनुमानढोका अगाडि रहेको श्वेत भैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ।कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर इन्द्रजात्रा व्यवस्थापन समितिले यो वर्ष इन्द्र तथा कुमारी जात्रासहितका जात्रा नगर्ने निर्णय भएको छ।जयप्रकाश मल्लको पालादेखि हुँदै आएको कुमारीको रथ यात्रा पूर्ण रुपमा रोकिएको यो पहिलो घटना हो।