ललितपुर । गोदावरीका नगरपालिकाको निर्माण ब्यवशायीहरुले आफुलाई दोहनकर्ताको उपनाम दिएको भन्दै पिडा पोखेका छन् । गोदावरी उद्योग वाणिज्य संघ र ट्रान्सपरेन्सी ईन्टरनेशल नेपालको संयुक्त आयोजनामा बुधवार भएको “भुकम्प पछिको पुर्ननिर्माण र पुनस्र्थापनामा सदाचार, निजि क्षेत्रको योगदान र भुमिका” नामक अन्तक्र्रिया कार्यक्रममा निर्माण ब्यवशाय गर्दा प्रशासनको ब्यवहारले दिक्क बनाएको र नबुझ्नेहरुले आफुलाई दोहनकर्ताको उपनाम दिएकोमा दुख ब्यक्त गरेका छन् । गोदावरी नगरपालिका भित्र समय -समयमा ढुंगा खानीको विवाद आईरहन्छ । खानी ब्यवशायलाई मापदण्ड अनुरुप सञ्चालन गर्न वा विभिन्न कारणमा प्रशासनले रोक्ने गरेको छ । यसै सन्दर्भमा स्थानीय सरकारले उपलब्ध स्रोतलाई ब्यवस्थित गर्न नसकेको भन्दै ब्यवशायी वीरेन्द्र महर्जनले खानी सञ्चालनमा विदेशको मापदण्ड नेपालमा लागु गर्दा ब्यवहारिक नभएको गुनासो गरे । ढुंगा रोडा विकासका लागि आवश्यक कुरा हो ,तर सरकारले आवश्यक पर्दा खानी खुलाउने र आवश्यक नपर्दा विभिन्न बहानामा बन्द गराउने गरेको र यस्तो खेल अन्त्य गराउन नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई अनुरोध गरेका छन् । उनले भुकम्पपछि स्थानीयलाई निर्माण सामाग्री निशुल्क समेत उपलब्ध गराई योगदान दिएको जनाए।
चापागाउँमा सम्पन्न उक्त कार्यक्रममा मेयर महर्जनले खानीलाई गृह मन्त्रालयबाटै परिपत्र गरेर जिल्ला प्रशासन मार्फत बन्द गराएको बताए । उनले भने, “खानी सञ्चालनमा स्थानीय सरकारलाई अधिकार दिए पनि केन्द्रले खानी रोक्नु संघीयता विरोधि कार्य भएको र यसवारे छलफल गरि अदालतसम्म जानुपर्ने स्थिति समेत आउन सक्छ ।”
कार्यक्रममा गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले नेपालमा ब्यवशायमैत्री कानुन र प्रशासनको ब्यवहार नभएको खुलासा गरे । उनले नेपालमा ब्यवशाय गर्नु भनेको ठुलो चुनौतिको सामना गर्नु सरह हो, भने ।
कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेशल नेपालका महासचिव मुकुन्द प्रधानले देशमा जस्तोसुकै स्थिति भएपनि सदाचार भएर नैतिक मुल्य कायम गरि ब्यवशाय गर्न सके भ्रष्टाचार कम हुने सुझाव दिए । छलफलमा ब्यवशायीहरुले बिलको समस्या, सरकारी टेण्डरमा भएको अनियमितता, भ्याट र मुल्यवारे आफ्ना समस्याहरु राखेका थिए ।कार्यक्रमको अन्तिममा गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष महर्जनले अतिथिहरुलाई मायाको चिनोको रुपमा बज्रवाराही बनमा मात्र पाईने काँडेभ्याकुर चराको चित्र अंकित फ्रेम प्रदान गरेका थिए ।
Leave a Reply