झर स्रष्टाहरुको भर्चुअल भेला सम्पन्न, खनालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन

झापा । साहित्यमा नयाँ र लोकप्रिय विधाको रूपमा उदाएको झरको प्रवर्द्धन गर्ने भन्दै झर साहित्य प्रतिष्ठान गठन भएको छ ।
शिव खनाल जीवम को अध्यक्षता रहेको कार्यसमितिको उपाध्यक्षमा आर्त अकुलीन(कैलाली), महासचिवमा निरु गौतम(मोरङ), सचिवमा सुरेन्द्र शाही(बाजुरा), सह सचिवमा दीक्षा सापकोटा(पर्सा) र कोषाध्यक्षमा सविता के.सी (बझाङ) रहनुभएको छ ।
भर्चुअल माध्यममा भएको कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष एवम् अग्रज साहित्यकार खगेन्द्र बस्यालले झर सम्पूर्ण नेपालीको सम्पत्ति रहेको र अन्य विधाहरुले नबोलेका कुरा झरले बोलेको कुरा बताए । त्यसैगरी साईनो बिधाका प्रवर्तक एवम् साहित्यकार छायादत्त न्यौपानेले झरले नयाँ विधाको रूपमा लोकप्रियता हासिल गरेको र नयाँ विधाहरुलाई पनि अन्य विधासँगै लैजानुपर्ने कुरामा जोड दिए ।
पाटन क्याम्पसका उपप्राध्यापक शेष पौडेलले झर काव्यविधाको एक उपविधाको रूपमा रहेको भन्दै सानो संरचनाले मस्तिष्कमा झङ्कार दिने, सुक्तिमय रचना रहेको बताए । त्यसैगरी खोरिया विधाका प्रवर्तक एवम् चन्द्रगिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले झर उदार रूपमा सबै क्षेत्रलाई छुने खालको जनाए । झर अभियान मार्फत विश्व दिवस एवम् राष्ट्रिय दिवसको अवसरमा विभिन्न स्रष्टाहरुले सामुहिक रूपमा झर लेखी मिडिया मार्फत हरेक दिन प्रकाशन गर्ने अभियान नौलो र महत्त्वपूर्ण रहेकोे बताए ।
कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका महासचिव बिष्णु भट्टराई विभु तथा स्रष्टाहरु आचार्य नारद सुदामा (अमेरिका), बालकुमार क्षेत्री(अफगानिस्तान), हेमराज चौधरी(कोरिया) ले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा देशविदेशका गरी झण्डै ३ दर्जन स्रष्टाहरुको उपस्थिति रहेको थियोे ।

झर प्रवर्तक शिव खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्रष्टा आर्त अकुलीनले गरेका थिए भने स्रष्टा निरु गौतमले स्वागत मन्तव्य राखेकी थिईन् ।