प्रमिसा दाहाल
ललितपुर । गोदावरी नगरपालिकामा गजल विशेष कार्यक्रम गजल बाचन तथा पुरस्कार वितरण गरि समापन गरिएको छ । मोती जयन्तीको १५५ औैं जन्मोत्सवको अवसरमा गोदावरी साहित्य परिषद तथा गजल मञ्चको संयुक्त आयोजनामा भाद्र २ गते शुरु गरिएको थियो । गजल विशेष कार्यक्रममा अनलाइन मार्फत सम्पूर्ण गजल प्रेमीलाई सहभागी हुन सुचना सम्प्रेषण गरिएको थियो ।जहाँ ५२ गजल रचना आएका थिए । तर महामारीका कारण नतिजा ढीलाइ भएकोले आज सोही कार्यक्रमको प्रथम द्वितीय, तृतीय, प्रोत्साहन तथा उत्कृष्ट १० गजलहरूलाई वाचन तथा पुरस्कार वितरण कार्यक्रम समापन भएको छ । ५२ गजल मध्ये उत्कृष्ट भएका प्रथम, द्वितीय, तृतीय, तथा प्रोत्साहन गजलकारलाई प्रमाणपत्र र यातायात खर्च सहित क्रमश रु.५,०००, रु.३,०००, रु.२,००० र रु.१,००० पुरस्कार राशि वितरण गरिएको थियो । उत्कृष्ट १० गजललाई प्रमाणपत्र सहित यातायात खर्चको व्यवस्था गरिएको थियो ।
यस्तो विषम परिस्थितिमा पनि साहित्यलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता सहित सूचना सम्प्रेषण गर्ने तथा रचना पठाउने तथा पाउने कार्य प्रविधि मार्फत भएको र साहित्य प्रविधि मैत्री बन्न गएकोमा गोदावरी साहित्य परिषदका कोषाध्यक्ष गोपाल सञ्जालले खसी व्यक्त गरे। साथै उहाँले उत्कृष्ट गजल सहित अन्य स्रष्टालाई पनि गजल साभार गरि संयुक्त गजल प्रकाशनका लागि पनि परिषदलाई आग्रह गर्नु भयो ।
गजल मञ्चका अध्यक्ष तथा साहित्य परिषदका सह सचिव नवराज सञ्जेलले गजल मञ्च आधिकारिक रूपमा दर्ता गरि अगाडि बढाउने भन्दा पनि साहित्य सृजना मन पराउने व्यक्तिलाई यसमा समावेश गरि अगाडि बढाउनु पर्नेमा जोड दिए । यस्ता कार्यक्रमले व्यक्तिको भित्री प्रतिभा भेट्टाउने बाटो हुन सक्ने विश्वासका साथ कार्यक्रम गरेको पनि सञ्जलले बताए । साथै आफ्नो समाजको अनुहारलाई साहित्यको ऐनामा देखाउन सम्पूर्ण गजलकारहरूलाई परिषदसँग हातेमालो गर्न पनि आग्रह गर्नु गरे ।
गोदावरी साहित्य परिषदका सचिव रत्न घिमिरेले दुई पुस्तक प्रकाशन गरेको र अब तीन पुस्तक प्रकाशन गर्ने क्रममा रहेको जानकारी दिए । साथै २०७५ असारमा प्रधानमन्त्रीलाई चन्द्रागिरीमा लगेर कविता लेखाउने कार्यक्रममा प्रधानमन्त्रीसँग हात मिलाउने भन्दा पनि झमक घिमिरेको गोडा ढोग्नेको ठूलो भिड भएको र यो अवस्था उनको साहित्यले सृजना गराएको उदाहरण दिदै जीवनमा साहित्यिक लेखनको ठूलो ताकत रहेको पनि सचिव घिमिरेले बताए ।
साथै घिमिरेले ललितपुर भनेको सत्यमोहन जोशी जस्ता स्रष्टाको जन्म स्थान हो । जहाँ साहित्यको अवस्था राम्रो हुदाहुदै पनि आर्थिक अभावका कारण कृति प्रकाशनमा समस्या रहेको कुरा कृशुणा मिडियालाई जानकारी दिए ।साहित्य रचनाले व्यक्तिलाई अमर बनाउने हुदाँ मानिसले साहित्यको बाटो अङ्गाल्नु पर्छ भन्ने उनको दृष्टिकोण छ ।
परिषदका अध्यक्ष वशिष्ठ अधिकारीले परिषदबाट धेरै स्रष्टा जन्माउन सहयोग गरेको र भावी दिनमा यसलाई परिस्कृत गर्न परिषदबाट विभिन्न योजना समेत बनेको जानकारी दिए । साहित्य जन्माउने मानिसले सकारात्मक विचार राख्न सक्छ । साहित्यको विकास भनेको समाजमा सकारात्मक विचार फैलाउने ब्यक्ति जन्माउनु पनि हो भन्दै आगामी दिनका यसलाई विकास गर्न निश्चित कार्यदिशा तय गरि अघाडि बढाउने समेत अध्यक्ष अधिकारीले बताए ।
नेपाली साहित्यले कला र संस्कृतिको जगेर्ना गर्नुका साथै समाज रूपान्तरणमा पनि अहम भूमिका खेल्छ । यस्तो विषम परिस्थितिमा पनि साहित्यको समर्थन गर्दै मोती जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम हुनु र स्रष्टाको प्रतिभा प्रष्फुटन गर्न सक्नु गोदावरी साहित्य परिषदको एक उदाहरण हो ।
Leave a Reply