ललितपुर महानगरले थाल्यो सहरी सडकको निर्माण

ललितपुर : ललितपुर महानगरपालिकाले फेज ३ अन्तर्गतको २१ वटा सहरी सडकहरुको निर्माण सुरु गरेको छ ।
ती सडकहरुमध्ये बिहीबार महानगरपालिकाको वडा नं १५ स्थित स्वीमिङ पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्डको शिलान्यास गरिएको हो । यो सडक खण्डको लम्बाई तीन सय चालिस मिटर रहेको छ ।
फेज ३ अन्तर्गतको २१ वटा नै सडकको लम्बाई भने आठ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको खर्च करीब २६ करोड ८८ लाख लाग्ने छ ।
सडक शिलान्यास गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र निर्माण हुने सडकको विशेषता भिन्न हुने बताए । उनले भने, ‘ ललितपुर महानगरभित्र बनेका जतिपनि सडक छन् , तिनको मोटाई बढी छ, मोटाई बढी भएकाले ती सडक बनाएको वर्र्षभित्र सडक भत्कने छैनन्, केही वर्ष खप्छन् । ’ महानगरप्रमुख समहर्जनले निर्माण भएका सडकको गुणस्तरीयता प्राविधिक सहितको जनप्रतिनिधि टोलीले गर्ने उनले जानकारी दिए ।
सडक बनाएको एक वर्ष पनि नपुग्दै भत्किदा महानगरबासी समस्या पर्ने भएकाले महानगरले विशेषता सहितको सडक निर्माण गरेको महर्जनले प्रष्ट पारे । सडक निर्माणका लागि वडावासी सबैको सहयोग अपरिहार्य हुने पनि उनले बताए ।

ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतमले २१ वटा सडक निर्माण ९ महिनाभित्र सक्नुपर्ने सम्झौता भएको बताए । अन्य सडकको निर्माण कार्य पनि क्रमश सुरु गर्ने उनले जानकारी दिए । उनका अनुसार २१ वटा सडक निर्माण एउटै ठेकेदारले गर्नेछ ।
महानगरले सम्बन्धित वडाबाट निर्माणको आवश्यकता माग भएपछि त्यसको संभाव्यता अध्ययन गरेर बजेटको सिलिङ हेरी योजना छान्ने गरेको उनले बताए । नगरसभाले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा लगिन्छ । सहरी सडकहरुमा आठ मिटरसम्म ललितपुर महानगरपालिकाले हेर्ने त्यो भन्दा बढी भए त्यसलाई विभागले हेर्नेछ ।
वडा नं १५का वडाअध्यक्ष सुदर्शन मिश्रले बन्दै गरेको सडकलाई महानगर र वडाले अनुगमन गर्ने बताए । उनले सडक समयमै निर्माण सम्पन्न गर्न स्थानीयको भूमिका महत्वपूर्ण हुने समेत बताए ।
सडक सिलान्यास कार्यक्रममा महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला ,वरिष्ठ इन्जिनियर रामरतन शाहको उपस्थिति थियो ।