सुरुवाती मानव घुमन्ते थियो । भोजन र शिकारको लागि एक स्थानबाट अर्को स्थानमा घुम्दै पुग्ने मानवले जब कृषि र पशुपालन सिक्यो तब भने स्थायी रूपमा बस्न त थाले तथापि, पशु चरणको खोज, प्राकृतिक प्रकोप र युद्धका कारण भने पुनः स्थानान्तरण हुन बाध्य भयो । तर यसै चरणमा मानिसहरूमा जातिको भेद भने उत्पन्न भयो । वैदिक आर्यभन्दा धेरै अगाडिका यी प्रकृति पूजक जातिहरू बीच आफ्नो जातिलाई एक विशेष चिन्ह या लक्षणले आफ्नो जातिको परिचय दिने प्रचलन सुरु भयो । यी चिन्ह या लक्षण मुख्यतया जीवजन्तु या वनस्पतिहरू नै थिए । जातिको पहिचान गराउने जीव या वनस्पति त्यस जातिको श्रद्धा र सम्मानको चीज हुन्थ्यो । यसैलाई टोटम भनिन्छ ।
पूर्ववैदिक कालमा मानिसको भौतिक धन भनेको पशुधन नै थियो । यस बाहेक कृषिमा पनि उनीहरू आश्रित थिए । कृषि र पशुपालनमा आश्रित यी जातिले तत् तत् कुरामा विशेषता उपलब्ध गरेका हुन सक्छन्, जसले तिनीहरूलाई पृथक् विशेषता भएको जातीय पहिचान प्रदान गरेका हुनन् । यस प्रकार कुनै जाति विशेष वनस्पतिका राम्रा जानकार भएका हुनन् त कोही विशेष पशु या पन्छीका ज्ञाता हुन पुगे होलान् । मुद्राको प्रचलन नभई सकेको अवस्थामा साटासाट प्रथा (बार्टर सिस्टम) द्वारा आवश्यक कुराहरू साटासाट गर्ने लेनदेन गर्ने प्रथा प्रचलनमा थियो । यसरी ती जनावरहरू, पन्छीहरू र वनस्पति या कृषि पैदावार साटासाट गर्ने क्रममा ती जातिहरूको पहिचान गर्ने माध्यम पनि सोही वनस्पति या जनावरहरूबाट हुन गयो । प्रकृति पूजक यी जातिहरूले यिनै मध्ये कुनै वनस्पति, पन्छी या पशुलाई पूज्य ठान्न थाले, उनीहरूको पूजा या यस्तै कुनै अनुष्ठानमा आराध्य मानिएर ती वनस्पति या पशुपन्छीको प्रयोग हुन थाल्यो, सायद आफ्नो घरमा पालिएको पशुलाई मार्न दया लागेर पनि हुनसक्छ, (मन्दिरमा बलि नदिई या दिन लाग्दा उम्किएका भिमसेन बाेका,, परेवा, मलेवा समेत) ती पशुपन्छीको मासु निषिद्ध हुन थाल्यो । नेपालमा राईहरूका थुप्रै हाँगाहरू मध्ये चाम्लिङ, कुलुङ थुलुङ आदि राईहरू खसिबोका नछुनु, नपाल्नु र यसको मासु नखानुमा यही धारणा हुनु पर्दछ । यसै गरेर तामाङहरूमा पनि भँडा पाल्ने या भेडाको मासु नखाने प्रचलन पछाडिको कारण पनि यही हुन सक्दछ । ती जातिहरू परिचयका लागि अन्य बखतमा आफूलाई चिनाउन या श्रद्धाले ती पशुका शिर या कुनै अङ्गहरू, छालाहरू, पन्छीका प्वाँखहरू, काँडाहरू (दुम्सीकाे) श्रद्धाले शिरमा उन्दा हुन्, या वृक्षको पनि यस्तै प्रयोग गर्दा हुन् र आफूलाई यसैका सन्तान मान्दा हुन् । वनस्पति, पन्छी या पशुको यिनै प्रयोग पछि गएर ती जातिका परिचयात्मक चिन्ह अर्थात् टोटम हुन पुग्यो । दोश्राे विश्वयुद्ध अघिसम्म हुम्लाका शिकारीहरू बगदादसम्म बाजको व्यापार गर्न जान्थे । बगदादका बासिन्दाहरूले ती व्यापारीलाई बाज जातिको ठान्नु या ती जातिको परिचय (टोटम) नै बाज हुनुमा कुनै आश्चर्य नहोला । तामाङ जातिका झाँक्रीहरूले आफ्नो शिरमा दुम्सीको काँडा उन्नु पछाडिको कारण पनि यही टोटम हुन सक्छ । मौर्यहरू मयुर पाल्दथे, मयुर र मयुरको प्वाँखको व्यापार गर्दथे । यसैले ती जातिलाई मौर्य भनेर नामाकरण गरियो ।
ऋग्वेदमा एक जनसमुदायलाई शिग्रस भनेर उल्लेख गरिएको छ । शिग्रस एक वनस्पतिको जरा हो जसलाई पिँधेर मसलाको रूपमा (बेसार झैँ) प्रयोग गरिन्छ । शिग्रस जनसमुदाय सायद यसैको प्रयोग गर्दा हुन्, लेनदेन यसै मार्फत गर्दा हुन्, त्यसैले ती जनसमुदायको चिनारी या जातीय नाम नै शिग्रस हुन गएको अनुमान गर्न सकिन्छ । अमेरिकाका प्राचीन आदिवासी जातिहरूको नाम कुनै जनावर या निर्जीव वस्तुको नामलाई आधार मानेर राखिएका थिए । सेनेका र ओजिबबा नामक आदिवासी जनजाति विभिन्न ससाना उपजातिहरू मिलेर बनेका थिए । यी उपजातिहरूका नामाकरण पनि जनावर या निर्जीव वस्तुहरूकै आधारमा गरिएका थिए । यसैलाई टोटमवादको सुरुवाती कारण मानिन्छ ।
टोटमवादको लर्को वैदिक कालमा पनि प्रचलनमा थियो । व्यक्तिको चिनारी भनेकै वास्तवमा उसको टोटम हुने गर्दथ्यो । ऋषिहरूका नाम भए पनि अहिले नामको पछाडि जात लेखे जस्तै उति बेला भने टोटम उल्लेख गर्ने गरिन्थ्यो र आफ्ना रचनाहरूको नामाकरण गर्दा यही टोटम नै प्रयोग गर्दथे । कश्यप ऋषि (कछुवा) कौशिक (उल्लु) मांडुक्य (भ्यागुता) गौतम (साँढे) वत्स बाछ्छा शुनक (कुकुर) र कापेय (कपि/बाँदर) आदि ऋषिहरूको नामको पछाडिका पशुहरू निश्चय नै उनीहरूका जातिका टोटम हुन् । ऋषिहरू मात्र नभएर ऋवेदमा थुप्रै जनसमूहको नाम उल्लेख भएको छ र यी नामहरू पशुपन्छीहरूकै नामबाट व्युत्पत्ति भएका छन् । ऋग्वेदमा एक जनसमूहलाई अजस् भनेर उल्लेख गरिएको छ, जसको अर्थ बोका हो । मत्स्य जनको उल्लेख ऋग्वेद, कोषितकि उपनिषद, सथपथ ब्राह्मण, गोपद ब्राह्मण र मनुस्मृतिमा समेत भएको छ । कूर्म र कश्यपको अर्थ कछुवा हो । यी सबै ऋषिहरू या जनसमूहहरू कुनै विशेष मानव समूहका हुन्, जसको टोटम ती जीवहरू या वनस्पतिहरू थिए ।
टोटमवादको प्रभाव या अवशेष जसरी वैदिक साहित्यमा देखिएको छ त्यसको विस्तार या उल्लेख उपनिषद र पुराणहरूमा पनि देखिएको छ । पुराणले सामवेद संहिताको हजार शाखाहरू भएको उल्लेख गरेको छ । पुराणकै अनुसार इन्द्रले यी संहिताहरूको विनाश गरे तर पनि ती मध्ये केही संहिताहरू बचेका छन् । ती केही बचेका संहिताहरू मध्ये एक संहिताको नाम शारदूलीय छ । शारदूलीय नाम शारदूल (सिंह) बाट व्युत्पत्ति भएको देखिन्छ । यसै गरेर कृष्ण यजुर्वेदको एक शाखा तैत्तिरिय स्पष्ट रूपमा तित्रा पन्छीको नामबाट व्युत्पन्न भएको छ । मानव, बराह, छगलेय उपशाखाहरूको नामाकरण पनि मनुष्य, सुँगुर र बोका बाट व्युत्पत्ति भएका हुन् । अथर्ववेद संहिताका केही शाखाहरू पैप्पलाद, ब्रम्हपलाश र शौणक मध्ये पहिलो पिपलको फल खाने कुनै पन्छीको नामबाट र अन्तिम शौणक श्वान बाट व्युत्पत्ति भएका देखिन्छन् । यसरी थुप्रै संहिताहरू, श्वेताश्वतर (सेतो खच्चड), मांडुक्य (भ्यागुतो), कोशितकि (उल्लु), तैत्तरिय (तित्रा), छागलेय (छाग बोका), कुनै जीवको नामबाट या कुनै वनस्पतिको नामबाट नामाकरण गरिएका छन् । यसरी नामाकरण गर्नुको पछाडिका कारण मध्ये तत् तत् ऋषिहरू तत् तत् टोटमका हुनु पर्दछ । हरिवंश पुराणको एक पुरा अध्याय (३८) कुनै श्वान नामक अत्यन्त प्रतिष्ठित परिवारको वंशावलीको वर्णनमा लेखिएको छ । महाभारतको सभा पर्वमा यादवहरूको एक वर्गलाई श्वान भनिएको छ । महाभारतमै उलुक, वृश्चिक, काक, शृगाल, गर्दभ, कुक्कुर, गज, शशक, कच्छप, बराह, मेष, शार्दूल, हंस, अश्व, मत्स्य आदि थुप्रै जनसमुदायका नाम या यस नामका राज्यका नरेशहरू उल्लेख भएका छन्, जसका टोटम पशुपन्छी छन् ।
रामायणमा हनुमानलाई कपि भनेर उल्लेख गरिएको छ । रामायणमा उल्लेखित वाली, सुुग्रिव या हनुमान वेदमा उल्लेखित कापेय टोटमका थिए । वैदिक कालमा त्रिविष्टपमा (तिब्बत) आर्य जातिका अतिरिक्त अन्य तीन जातिहरू पनि थिए, नाग, सुपर्ण (गरुड) र किराँत । यी मध्ये गरुड जाति विष्णुको नजिकका भए, यसैले विष्णुको वाहन गरुड भए अर्थात् विष्णुसँग साथै हिँड्ने रहने गरुड जाति थिए । शिवको साथमा भने नाग र किराँत जातिहरू परे । पुराणको कथा अनुसार गरुड र नागको वैमनष्यता देखिन्छ, गरुड जातिलाई “किराताशी” भनिनुले किराँतहरू पनि गरुडका शत्रु थिए । महाभारतको आदि पर्वमा विनताले गरुडलाई सहस्र किराँतलाई भक्षण गरेर अमृत ल्याउन अह्राएको कथनले गरुड र किराँत जाति बीचको वैमनस्यता स्पष्ट हुन्छ । जब कि नाग र किराँतहरू भने मिलेर बसेका देखिन्छन् शिवको गलामा नाग हुनु र शिवको गणपतिको नाम अज (बाख्रा) हुनु यसैको प्रतीक हो । दक्ष प्रजापति शिवका ससुरा भए पनि पहिले शिवका विरोधी थिए, सतीको आत्महत्या पश्चात् प्रजापति कूलको महिमा मर्दन गरेर (टाउको काटेर बोकाको टाउको जोडिदिनु यसैको प्रतीक हो) यिनलाई अजमुख अर्थात् अज जातिहरूलेझैँ शिवको जय भन्ने पक्षमा ल्याइयो । पुराणदिका कथाहरूमा उल्लेख भएका थुप्रै जातिहरूको नाम विभिन्न जीव र वनस्पतिसँग मिल्नुको मुख्य कारण टोटम नै हौ । मुसलमानहरू सुँगुरलाई अपवित्र मान्दछन् तर सिखहरूमा भने सुँगुरको हड्डी स्पर्श गराएको भोजको भोजनलाई पवित्र बनाउने संस्कार थियो, कुनै जातिको टोटम अन्य जातिकालाई टयाबु पनि हुन्छ । नेपालका राईहरू मध्ये केही राईहरूले बाख्रा प्रयोग नगर्नुको कारण टोटम या ट्याबु मध्ये कुनै एक अवश्य हो, यस अर्थमा राईहरू किराँत भए पनि या त अज जातिलाई श्रद्धा गर्दथे या अज राईहरूका लागि ट्याबु थियो भन्ने ज्ञात हुन्छ ।
टोटम बन्नु पछाडिको अर्को कारण प्रागैतिहासिक कालका रीतिरिवाज, प्रार्थना गान, यज्ञ आहुति, अनुष्ठान, मन्त्रोच्चारण, कृषि कार्यका विभिन्न चरणको अभ्यास, उपजका लागि गरिने प्रार्थना र शिकारका लागि गरिने अभ्यासका कार्यहरूलाई पनि थिए । रामायणमा उल्लेख गरिएको एउटा नाम जाम्बवान पनि हो, जसको टोटम भालु भन्ने प्रस्ट बुझिन्छ । प्राचीन जातिमा प्रचलित विभिन्न नाचहरू स्वरूप परिवर्तन भएर अझै पनि अस्तित्वमा छन् । भालु नाच, मुजुर नाच आदि विभिन्न नाचहरू प्राचीन शिकारी जातिका धरोहर हुन र ती नाचको प्रादुर्भाव मनोरञ्जनको लागि नभएर भालुको सिकार गर्न या मुजुर छोप्नको लागि गरिने विभिन्न अभ्यासका चरणहरू सिकाउनका लागि गरिएका थिए । नेपालको पश्चिम भेगमा अझै युद्धका झलक दर्साउने खड्ग नाच आदि जीवन्त छन् । ती नाच वास्तवमा नाच हैनन्, पुरातन युद्ध अभ्यासका चरणका परिवर्तित स्वरूप हुन् । जाम्बवान जाति पनि सायद भालुको शिकारमा अभ्यस्त हुनन्, जसको कारणले ती जातिको टोटम या चिनारी नै जाम्बवान रहन गयो ।
बङ्गालका किसान वसु धारा व्रत राख्दछन् । यस व्रतमा उनीहरू एउटा माटोको घडामा ससानो प्वाल पारेर त्यसमा पानी भरेर एक वृक्षमा झुन्ड्याउँछन् र गीत गाउँदै अभिनय पनि गर्दछन् । त्यस घडाबाट पानी तप्किदा वर्षा भएको भान हुन्छ । यसरी किसान कल्पनामा आफ्नो इच्छालाई वास्तविकता प्रदान गर्दछन् । यसमा भौतिक सत्यता नभए पनि मनोवैज्ञानिक सत्यता भने छ । यस कार्यपछि किसान पानी पर्नेमा निश्चिन्त हुन्छन्, प्रकृतिको अगाडि मानवको निरीहताको भावबाट मुक्त हुन्छन् । आत्मविश्वास र मनोवैज्ञानिक असरले गर्दा अधिक विश्वास र उत्साहले बालीको देखभाल गर्दा हुनन् र यसले बाली पनि राम्रो हुँदो हो । यसबाट उनीहरूको मनोकाङ्क्षा अनुरूप पानी परी नै हाल्यो भने त्यसलाई नै गीत या प्रार्थनाको प्रभाव मानेर अझ बढी उत्साहित हुन्छन् । यही उत्साह र उत्साहले जन्माउने मनोबल नै राम्रो कृषि उपजको कारण बन्न जान्छ । वास्तवमा यो कुनै जादू भने होइन तर संयोगवश भएको वर्षा जादू बाट भएझैँ देखिन्छ । पूर्व वैदिक किसानदेखि वैदिक आर्य या टोटमहरूले गर्ने प्रार्थना गान, यज्ञ आहुति, मन्त्रोच्चारण व्रत वास्तवमा इच्छा पूर्तिको साधन मात्र थिए साध्य भने थिएनन् । परापूर्व कालदेखि किसानहरू यसैको सहाराले जीवित रहे, पानी नपर्दा या वालि नसप्रँदा समेत उनीहरूले आफ्नो प्रार्थना, गान, मन्त्रोच्चारण, भाकल या व्रतमा नै खोट देखे र अर्को पल्ट बडो सतर्क भएर यसलाई विधि बमोजिम गर्दै गए । वर्षाको लागि यस्तै प्रार्थना गर्ने क्रममा कुनै किसानले कुनै अमुक लयमा प्रार्थना र्गयो होला र वर्षा पनि भयो होला । यस वर्षालाई प्रार्थनाको शक्ति मानियो या लयको चमत्कार । यही लय कालान्तरमा माझिएर राग बन्न पुग्यो । पूर्वीय काव्यमा यही राग राग मल्हार नामाकरण भएको छ र यो राग ठीक सँग गाएमा वर्षा हुने विश्वास समेत गरिन्छ । उपत्यकाका “ज्यापू” जाति को परिचय या टोटम यही कृषि कार्य थियो । कृषिका बारेमा विज्ञ “ज्यापू” जसको शाब्दिक अर्थ “ज्या या फू” (काम गर्न सक्ने) या कृषि विशेषज्ञका रूपमा लाग्दछ ।
ऋग्वेदमा सोम यज्ञ गर्दा उच्चारण गरिने मन्त्रहरूलाई सामवेदमा सङ्कलन गरिएको छ । सामवेदका ७५ ऋचाहरू ऋग्वेदकै हुन् र अन्य ऋचाहरू पनि ऋग्वेदकै विलुप्त भागका हुन सक्छन् । यी ऋचाहरू वैदिक ऋषिहरूले लेखेका नभएर तिनका अक्षरज्ञान शून्य पूर्वजहरूले मौखिक रूपमा गरेका थिए र जति बेला ती ऋचाहरू श्रृजना गरिएका थिए त्यति बेला ती पूर्वजहरू पनि आदिवासी जीवनमै थिए । श्रुति मार्फत पुस्तान्तरण हुँदै आएका ती ऋचाहरूलाई पछिमात्र छन्दबद्ध गरिएका हुन् ।
छन्दोग्य उपनिषदका अनुसार व्यक्तिको सारतत्त्व वाक् हो, वाकको सारतत्त्व ऋक् (स्तुति या देवगीत) हो, ऋकको सारतत्त्व साम (सङ्गीत) हो, सामको सारतत्त्व उद्गीथ (उँचो स्वरमा गाउनु) हो । वाकको उत्पत्तिपछि वाकलाई हर्ष, युद्ध, शोक या समन चार अवस्थामा नाद गरियो । वाक पाएका आदिम मानवले युद्धको बेलामा (सिकार पनि एक प्रकारको युद्ध नै हो) नाद गरे, कुनै हर्षको बेलामा (सिकार प्राप्ति नै त्यति बेला ठुलो हर्षको विषय थियो) नाद गरे, कुनै शोकको (आफन्तजनको मृत्यु) बेलामा नाद गरे, समन (कुनै प्राकृतिक शक्तिको दया, क्षमा या शक्तिका लागि) सामूहिक रूपमा नाद गरे । यही नै सङ्गीतको प्रारूप थियो, गीतको उपज थियो । सामाजिक विकाश सँगसँगै यी नादहरूमा पनि क्रमशः परिमार्जन आउँदै गए, भाषागत सुधार हुँदै गए उच्चारणमा समता आउँदै गयो, फलतः पद, मात्रा, स्वरावली र अक्षरहरूको एकरूपता गरिँदै लगिन थालियो । यही नै छन्दहरूका विकाश चरण थियो । युद्ध, हर्ष, शोक या समनमा गरिएका नाद अर्थात् गीतहरूको उपज तर्कसङ्गत थियो भने यिनै नादहरूलाई समयक्रमेण छन्दमा बद्ध गरिँदै लगिएकोले छन्दको उपज युक्तिसंगत थियो । नृत्यमा अनुहारमा भाव ल्याएर, हात हल्लाएर तथा औँलाहरूको सहायताले कुनै विशेष मुद्रा बनाएर गीतका शब्दहरूलाई उच्चारित गर्दा उच्चारित शब्दको आशय श्रोतालाई बुझाउन सजिलो हुने ती उच्चारित शब्दहरूको अझ बढी प्रभाव दर्शक श्रोताहरूमा पर्न जाने हुन्छ । छन्दमा लेखिएका गीत गाउँदाका समयमा विभिन्न स्वरलाई अभिव्यक्त गर्न धर्माचार्यहरू आफ्नो औँला र हातको विभिन्न मुद्राहरू बनाउँदथे । यसो गर्दा उच्चारित शब्दमा निश्चित् स्वराघात या बलाघात पर्दछ र त्यसरी गाएको गीत प्रभावकारी हुन्छ भन्ने मान्यता अनुरूप मन्त्रहरूको उच्चारण गर्दा पनि हातका विभिन्न मुद्राहरू बनाएर मन्त्रोच्चारण गरिन्छ । वटुकहरूले “द्याै शान्ति …” भनेर हातकाे मुद्रा बनाउँदै ऋचा गायन गर्नुकाे कारण यही हाे ।
प्रारम्भिक कालमा घुमन्ते जीवनमा सिकार प्रमुख कार्य थियो भने कृषि र पशुपालनमा आश्रित हुन थालेसँगै मानिसहरू एक स्थानमा रहन थाले । प्रारम्भिक कालमा कृषि कार्यमा संलग्न मानिसहरू पनि अत्यधिक उब्जनीको मूल कारण पुरुषको श्रम, कौशल र रेखदेख नभएर यो केवल “दैवीय नारी संरक्षण”ले मात्र हुने विश्वासका कारण ती नारी शक्तिमा निर्भर थिए । दक्षिण अफ्रिकाको सुम्बा स्त्रिहरू प्रेतात्माको आदर गरिए मात्र उब्जनी हुने विश्वासमा पहिले स्त्रिहरू नै जमिन जोत्ने र नृत्य गर्ने गर्दछन्, त्यसपछि मात्र पुरुषहरू कृषिका बाँकी काम गर्दछन् । मेक्सिकोमा पनि उर्वरताकी देवीको आह्वान गर्दै उनको आदरमा समारोह नगरिएसम्म कृषिको सानोभन्दा सानो काम पनि गर्दैनन् । कतै गर्भवतीलाई फल खान दिए उत्पादन बढ्ने विश्वास गर्नेहरू छन् भने कतै बाँझी आइमाईलाई उद्यान या खेतबाट टाढा राख्ने प्रचलन पनि छ । यसै गरेर प्राचीन कालमा विभिन्न जातिमा अन्नबालीको उब्जनी राम्रो होस् भनेर गीत गाउने, गीत गाउँदै नृत्य गर्ने प्रचलन पनि थियो । यी सबै एक प्रकारको दैवी प्रार्थना नै थियो । त्यति बेला गाइएका गीतहरू कथ्य भाषाको प्रारूप बदलिँदै गएर कथ्य भाषाभन्दा पृथक् र नबुझिने भएका हुनन्, अर्थगत् भिन्नता आएका हुनन् । तथापि, प्रकृतिवत् बढी उब्जनी भएता पनि त्यसलाई त्यही गीत गाउँदाको कारण बुझ्नेले यसलाई दैविक चमत्कार या गीतको प्रभाव मानेका हुन् । मन्त्रको उत्पत्तिको कारण यही हो । तर भाषा नबुझिने र नमिल्ने र रहस्यमय तरिकाले यस्ता नृत्य गर्ने, अनुष्ठान कार्य गर्ने चढाइने कुराहरू र प्रयोग गरिने वस्तुहरू पनि पृथक् र रहस्यमय हुने भएकोले त्यस कार्यलाई नै जादूटुना भनिएको हुनसक्छ । परम्परागत रूपमा चलिआएको यस्ता प्रचलनमा अझै विश्वास गरिन्छ र यसका मन्त्र सबैलाई भनिन्न, मन्त्रको असर कम हुने विश्वासमा विद्या गोप्य राखिन्छ । बन झाँक्री परम्परा यसैको एक कडी हो । सानैमा बनझाँक्रीले लगेर झाँक्री बिद्या सिकाएको भन्ने झाँक्रीहरूले उच्चारण गर्ने मन्त्रहरू अस्पष्ट हुन्छन् र ती कुन भाषामा उच्चारण गरिन्छन् ती पनि खुलेका छैनन् । जादूटुना, गीतसङ्गीत, नृत्य आदि माध्यमबाट चिनिन गएका जातिहरूमा यक्ष, किन्नर, गन्धर्व आदि जातिहरूलाई लिन सकिन्छ । यसरी जातिको उत्पत्ति र जाति भेदको प्रमुख कारणहरू मानिस प्रकृतिक अवस्थामा रहँदाका यिनै टोटमहरूलाई मान्न सकिन्छ ।
गोत्रको सुरुवात उत्तर वैदिक कालको उपज हो जुन सप्त ऋषिहरूको नामबाट गरिएको देखिन्छ । यिनमा पनि शतपथ ब्राह्मण र अन्य ग्रन्थमा पृथक् रूपमा सप्त ऋषि भनेर उल्लेख भएका नामका आधारमा भने यो नाम एघार पुग्छ । गोत्रमा पनि एकातिर मानव प्रवासनको छाप स्पष्ट देखिन्छ भने अर्कोतिर टोटमको प्रभाव पनि स्पष्ट देख्न सकिन्छ । जस्तो कि गर्ग र गोतम साँढे टोटम, ऋषभ वृषभ टोटमसँग, अज बोकासँग, काक कौआ टोटमको स्पष्ट प्रभाव हो । वैदिक कालमा गोत्रको कुनै अवधारणा थिएन । जुन गोत्र या ऋषिका वंशज भनेर गोत्रको बाँडफाँड भएको छ, ती ऋषिहरू पनि मानव प्रवासनका मूल स्थान र टोटमसँग स्पष्ट रूपमा जोडिएका छन् । अङ्गिरा ऋषिलाई वेद पुराणमा अग्निपुत्र भनिन्छ । अजरबैजानको यानार डैग नामक पहाडहरूमा जमिनबाट निस्किएको प्राकृतिक ग्याँस परापूर्व कालदेखि बलिरहेको छ (मुक्तिनाथको ज्वालादेवी जस्तै) । फारसीहरूले यसैलाई “अत्तुरपटन” अर्थात् “पवित्र अग्नि संरक्षित स्थान” भन्छन् । फारसीमा एजँरको अर्थ नै आगो हो । अङ्गिरा ऋषि अग्निबाट जन्मिएका नभएर यहीँका थिए जो पछि प्रवासनका क्रममा टर्की आए । रक्त सम्बन्धको मूल खोज्दै जाने हो भने तुर्किहरूकै वंशज हुन् हुण र मङ्गोल । आगोबाट जन्मिएका मानिने अङ्गिरा ऋषिलाई हुण र मङ्गोलहरूले आफूलाई यिनको गोत्र या वंशज मानेका छैनन् । अत्री गोत्र अजरबैजानकै अत्रीक नदीसँग जोडिएको छ भने कश्यप गोत्र कश्यप सागरको भूभागसँग । कौशिक गोत्रका विश्वामित्रको माटो कुशागार र इन्द्रलाई पनि ऋग्वेदमा कुशिक भनिएकोले यिनी पनि कुशिक वंशीय (कुश अत्यधिक हुने घाँसे मैदान) सँग जोडिन पुग्छन् ।
नेपालको सन्दर्भमा नेपालीहरूले अपनाएका गोत्र भने वास्तवमा नवाैँ शताब्दीमा हिन्दु करणपछिको उपज हो । नेपालमा गोत्रको त्यति सारो महत्त्व थिएन भन्ने कुरा पृथ्वीनारायणले गोत्र परिवर्तन गरेको कुराबाट पुष्टि हुन्छ । खसहरूमा गोत्रको त्यति महत्त्व थिएन र पृथ्वीनारायण शाह पनि पछि हिन्दु भएका खसहरूकै वंशज भएकाले गोत्र परिवर्तनको कार्यलाई उनले सामान्य ढङ्गले गरेका थिए । खसहरूको हिन्दुकरण भएपछि भने आफ्ना पुरोहित या पुरोहितका बोलीका आधारमा विभिन्न जातिहरूले आफूलाई विभिन्न गोत्रका भनेर चिनाउन लागे । जसरी कुँवरमध्ये जङ्गबहादुरले आफ्नो पुर्खालाई भारतका राणाहरूसँग जोडे त्यसरी नै थुप्रैले आफूलाई विभिन्न ऋषिहरूसँग जोडे, जोडाए । नेपालमा भएका विभिन्न गोत्रहरू भने विभिन्न स्थानमा विभिन्न ब्राम्हणाहरूले विभिन्न तरिकाले बनाई दिएका छन् ।
“बाउनकाे मुख चाेखाे” भन्ने मान्यतालाई शिरोधार्य गर्दा उनिहरूले जथाभावी आफ्ना जजमानका गाेत्र निर्धारण गरिदिएकाले कतै जात उहीँ भए पनि गाेत्र भने फरक फरक हुन पुगेका छन् भने कतै एउटै गाेत्रका विभिन्न जात हुन गएका छन् । गौतम गोत्रका ब्राह्मण पनि छन् सार्की पनि छन्, थापाहरू बगाले मुगाले आदि छन्, बस्नेतहरू पनि खप्तडी सिरुपालि आदि छन्, यी सबै स्थानबाट आएका हुन् । स्थान फरक भएको हुँदा यिनीहरूका गोत्र फरक फरक छन् । अधिकारी ब्राह्मण र क्षेत्री दुवै छन्, जात खसेर खत्री र हमाल भएका पनि छन्, गाेत्र पनि फरक फरक भएकाे छ । नेपालमा यी जात बस्नेत, खड्का थापा, अधिकारी आदि भनेका जिम्मेवारीको आधारमा बनेका हुन्, कर्णाली इतरका पनि विभिन्न ससाना राज्यमा बनेका हुन्, यिनका मूल एकै होइन, तसर्थ एकै जातका भएता पनि यिनीहरू पृथक् गोत्रका र एकै गाेत्रका भए पनि पृथक जातका भएका हुन् । एकै जातका क्षेत्री र मगर या ब्राह्मण र क्षेत्री बीच पनि गोत्र पृथकता हुनुको कारण यही हो । तथापि, गोत्रिकरणपछि गोत्रका कारण एउटा फाइदा भने स्पष्ट रूपमा भएको छ । गोत्रका आधारमा ७ पुस्तासम्म सपिण्ड, १४ पुस्तासम्म समानोदक, २१ पुस्तासम्म सगोत्र र त्यसपछि बाँकी गोत्रज कहलाइन्छ । मुसलमानहरू मामाचेली फुपूचेली विवाह गर्छन् (नेपालमा खस, ठकुरी र मगरहरूमा पनि हक लाग्ने यो प्रचलन कताकति कायमै छ)। यसो हुँदा उनीहरूमा एकातिर अनुवांशिक रोगहरू अत्यधिक सर्ने मात्र होइन एकै वंशाधारका हुँदा र क्रस पोलिनेसन नहुँदा यस्ता रोगहरू क्रोनिक हुने मात्र होइन जायजन्ममा पनि अनेक विकार उत्पन्न हुन्छ । यस आधारमा सगोत्री परेमा सामान्यतया विवाह नगरिने हुँदा थुप्रै अनुवांशिक रोगहरूबाट मुक्त छ ।
सन्दर्भ ग्रन्थहरू:
“खसहरूको इतिहास” — वालकृष्ण पोखरेल
“दर्शन दिग्दर्शन” — राहुल सांस्कृतायन
“लोकायत” — देवीप्रसाद चट्टोपाध्याय
“प्राचिन भारतीय परम्परा” — रांगेय राघव
आभार” — बालन्द राई
बिपुल सिजापति
Leave a Reply