अक्सर सोझो रुखलाई नै काट्ने गरिन्छ भन्ने कुरा धर्मराजलाई राम्रोसंग थाहा छ । छिमेकी र साथीभाईहरु उसलाई ठुले भन्थे, किनकि ऊ घरको जेठो छोरो थियो । जेठो हुनुले सबैले माया गर्ने अनि आदर गर्ने मात्र थिएन, जिम्मेवारीले जन्मदै थिचिनु पनि थियो । माओवादी द्वन्द चर्कदो थियो, प्रहरी र सेनाका जवानहरुले आम मानिसलाई माओवादीको आरोप लगाउथे अनि माओवादीका लडाकुहरु आएर खाना बनाउने आदेश दिन्थे, धर्मराज १५ बर्षको जवान थियो । उसलाई पनि अब माओवादी लडाकुमा भर्ती गराउन उसको बुवालाई गाउँ इन्चार्जले पटक पटक भन्दै आएका थिए र भर्ति नभएमा जनकारवाही गर्ने सम्मको धम्की दिन्थे । धर्मराजको बुवा छोरालाई माओवादीको छापामार बनाउने पक्षमा थिएनन् त्यसैले उनले छोराको स्वास्थ्यमा समस्या आएको भन्ने बहाना बनाएर धर्मराजलाई काठमाडौंमा आफ्नो भतिजाको कोठामा बस्ने प्रबन्ध मिलाएर फर्केका थिए। गाउँमा कसैले सोध्दा भन्थे बर्षदिन सम्म हप्तै पिच्छे अस्पतालमा जानुपर्ने भएर उसलाई उतै छोडेर आइयो ।’
सधै काठमाडौंमा राखेर पढाउन सक्ने हैसियत पनि परिवारको थिएन, त्यसैले काठमाडौं बसेको केहि समयपछि एउटा स्टेशनरीमा सहयोगीको रुपमा काम गर्यो र आफ्नो १० कक्षासम्म पढाई सकेपछी प्रदर्शनीमार्गमा रहेको क्याम्पसमा आई. ए. मा भर्ना गर्यो । गाउँमा पनि आर्थिक समस्या, भाइबहिनी पनि पढ्ने उमेरका सबै जिम्मेवारीले धर्मराज नेपालमा बसिरहने स्थिती थिएन । ३ वर्ष काम गरेर जम्मा गरेको ४० हजार रुपैयामा २० हजार रुपैया सापटी लिएर धर्मराज सुन्दर सपनाहरु संगालेर मलेसिया उड्यो ।
बिदेशी जीवन सोचेजस्तो सहज कहाँ हुन्थ्यो र, हुनत सजिलो काम हुने भए त जसले नि गरिहाल्थ्यो नि, भन्ने सोच धर्मराज को थियो र संयम रहन्थ्यो। पारिवारिक जिम्मेवारी नै महत्वपुर्ण थियो धर्मराजलाई र त्यतातिर ध्यान केन्द्रित गर्दा गर्दै निलिमासंग उसले देखेका सपनाहरु तुहिए किनकि निलिमाको बाबुआमाले उसको विवाह अर्कैसंग तय गरिदिए ।
“शारीरिक सम्पर्क पनि उनीहरुको विचमा सामान्य हुन थाल्यो।
सम्बन्ध बलियो थियो तर जायज थिएन सायद।
यो सम्बन्धले दुबैको पारिवारिक र सामाजिक जीवन ध्वस्त
पार्न सक्थ्यो त्यसैले उनीहरु यो सम्बन्धको निरन्तरता चाहदैनथे ।
दिलमाया र धर्मराज अनौठो किसिमको प्रेममा थिए जसको कुनै भविष्य थिएन
तर वर्तमानमा उनीहरु एकअर्काका परिपुरक भए ।”
विदेशमा झन्डै एक दशक भन्दा लामो वितायो उसले, धन मनग्य कमाउन नसके पनि गाउँमा एउटा घर बनाएर आफ्नो विहावारी सम्म गरेको थियो अहिलेसम्म सन्तान नभएकोले सन्तान प्रतिको चाहना पनि उग्र थियो हुनत उसका भाइहरुको छोराछोरी ठूला भैसकेका थिए । अब नेपालमा नै केही गर्छु कति अर्काको भूमीमा पसिना चुहाउनु भन्ने सोचले अलि अलि जम्मा गरेको पैसा लिएर नेपालमा एउटा सानोतिनो व्यवसाय गर्ने उसको बिचार थियो । त्यसैले अब ऊ मलेसियाको काम अन्त्य गरेर आफ्नै देश फर्किने तयारीमा थियो ।
विदेश हुँदा परिवारमा निरन्तर सम्पर्कमा हुने रहर हुन्थ्यो उसलाई, तर काम अनि नेपाल र मलेसियाको समय अन्तरालले हप्तामा १ -२ पटक मात्र कुराकानीको वातावरण मिल्थ्यो । बुवा आमा ,श्रीमतीसंग अक्सर बोल्ने रहर हुन्थ्यो उसलाई, विदेश गएको सुरुका बर्षमा श्रीमती पनि धेरै कुराकानी गर्ने गर्दथी, पछी दुवैतिरको व्यस्तताले हुनासक्छ उनीहरु विचमा कुराकानीको बारम्बारता सिमित थियो । गाउँमा विधि व्यवहार सकिएपछी धर्मराजले श्रीमतीलाई काठमाडौंमा बस्ने व्यवस्था गरेको थियो । हुन त सहरमा राख्ने उसको मनसाय पनि थिएन तर जुनाको भाइले स्कुल सकेपछी काठमाडौंमा क्याम्पस पढ्न पठाउन साथी पनि चाहिने थियो र माइतिपक्षको नजिकको आफन्तको एउटा कार्यालयमा कामको अवसर पनि पाउने भएकोले उनीहरुले आपसी सहमतिमा काठमाडौं जाने विचार गरे । गाउँमा पनि त अल्झेर नै बस्ने हो खासै कामधाम त्यस्तो हुने होइन, सहर बजारतिर भएपछी दुइचार कुरा पनि थाहा हुन्छ अनि दुइपैसा आम्दानी पनि गर्न सजिलो हुन्छ भनेर धर्मराज खुसि नै थियो ।
विदेशमा बस्दा एक्लोपन दिनरातको दुख, पारिवारिक गनगन जस्ता कुराले दिक्क लगाउथ्यो । उसलाई कम्पनीले बस्ने र एकछाक खाने सुविधा दिएको थियो, छुट्टीको दिनमा बाहिरतिर घुम्न निस्कन्थ्यो जसले केहि आनन्दको अनुभुती दिन्थ्यो । मलेसियामा नेपालीहरुको घनत्व धेरै थियो तर पनि सर सहयोग भने खासै नहुने, नेपालीले नै नेपालीलाई लुट्छ भन्थे साथीहरु, तर उसलाई अहिलेसम्म त्यस्तो परेको थिएन । आफ्नो छुट्टीको समय पारेर आइतबारको दिन धर्मराज पार्कतिर निस्केको थियो । ऊ नजिकै आएर एकजना महिला ठुलो ठुलो आवाजमा फोनमा बोल्दै थिइन् र एकछिन कराएपछी फोन काटिन् । त्यसपछि एकछिन् आखा छोपेर रोइन् अनि रिसाउदै ।।।।। खाते ! भनिन् । धर्मराज अलमल्ल पर्यो केहि बोलेन ।
हेर्दा ३४ -३५ बर्षको झैँ लाग्ने ति महिला स्वदेशी भएको त स्पष्ट भैहाल्यो, तर को संग बोलिन्, कसलाई गाली गरिन् थाहा पाउन सकेन । हल्का मोटो शरीर आकर्षक जिउडाल अनि तिखो आवाजले धर्मराजले ति महिलाबाट ध्यान हटाउन सकेन । धेरैबेर हेरिसकेपछि धर्मराजले सोध्यो, अनि उनीहरुको विचमा कुराकानी भयो ।
ति महिला आफ्नो छोरी र श्रीमानलाई छोडेर विदेश आएकी थिइन् उनी यता आएपछि उनको श्रीमानले छोरीलाई राम्रोसंग रेखदेख नगर्ने अनि दुर्व्यवहार समेत गर्ने हुनाले छोरी मामाघरमा गएर बस्न थालिछे, जाँड रक्सी खाने र कुलतमा पनि फसेको व्यक्तिसंग भन्दा छोरी मामाघरमा नै सुरक्षित हुने स्वाभाविक थियो । यताबाट पैसा पठाउन कम भएपछि विभिन्न बहानामा पैसा माग्ने गरेका श्रीमानले धेरैजसो आफुलाई अल्सर भएको र उपचार गर्नुपर्ने बताउथ्यो रे । तर अहिले गाउँमा अर्कैकी श्रीमती लेराएर बसेको भन्ने हल्ला आएपछि के हो भनेर बुझ्दा उनको पछिल्लो फोन सम्पर्कले उक्त कुराको पुष्टि गरेको रहेछ ।
धर्मराजलाई यति सुनेपछि नराम्रो लाग्यो अनि ति महिलाप्रति सहानुभूति जनायो र अब उनीहरु निरन्तर सम्पर्कमा रहने भए, आफुलाई एक्लो महसुस गर्ने धर्मराज दिलमायाको दुखमा मलम बन्न थालेको थियो, दुबैको विचमा निकटता बढ्यो, मिल्ने साथी भए अनि उनीहरुको विचमा अब सबै कुरा सामान्य हुन थाले । यस्ता सम्बन्धहरु पनि स्थापित भए जुन नेपाली समाजमा केवल श्रीमान् र श्रीमतीको विचमा मात्र स्वाभाविक थिए । दुवैजना एकअर्काको अत्यन्तै नजिक भए, शारीरिक सम्पर्क पनि उनीहरुको विचमा सामान्य हुन थाल्यो। सम्बन्ध बलियो थियो तर जायज थिएन सायद। यो सम्बन्धले दुबैको पारिवारिक र सामाजिक जीवन ध्वस्त पार्न सक्थ्यो त्यसैले उनीहरु यो सम्बन्धको निरन्तरता चाहदैनथे । दिलमाया र धर्मराज अनौठो किसिमको प्रेममा थिए जसको कुनै भविष्य थिएन तर वर्तमानमा उनीहरु एकअर्काका परिपुरक भए ।
धर्मराजलाई आफुले जुना प्रती अन्याय गरेको पनि महसुस हुन्थ्यो अनि भित्रभित्र दिलमायाको पनि माया लाग्थ्यो । यो अवैध सम्बन्धबाट ऊ टाढिन चाहन्थ्यो र आफ्नो पारिवारिक जीवनमा यसको गन्ध पनि नपुगोस भन्ने लाग्थ्यो । अब जुनासंग नै बाकी जीवन सुखसाथ विताउनु थियो त्यसैले पनि उसलाई जतिसक्दो छिटो नेपाल जानु थियो । कम्पनीमा उसको समय पनि सकिन आटेको थियो र सधैलाई विदेशको काम फिनिस गरेर दिलामायासंग पनि सदाको लागि विदा मागेर ऊ नेपाल उड्यो ।
एयरपोर्टमा उसलाई लिन उसको सालो सुरेश आएको थियो, भिनाजुलाई देख्ने वित्तिकै नमस्कार गरेर सुटकेस समातेर अघि बढ्यो र ट्याक्सी चढेर उनीहरु सामाखुसीमा रहेको आफ्नो कोठामा गए । बाटोमा आउँदा ऊ कतिबेला जुनालाई भेट होला, जुना आफ्नो पतिको आगमनमा खुसीले नाचिरहेकी होलि भन्ने कल्पना गरिरहेको थियो । कोठामा छिर्ने बेलामा जुनाले उसको स्वागत गरिन् । सबैजना खुसी भए तर धर्मराजलाई आफ्नी जुना जुन रुपमा खुसी हुनुपर्ने जस्तो लागेको थियो त्यति भएको जस्तो अनुभुती भएन, सायद धेरै न्यास्रिएर हो कि भन्ने लाग्यो वा भाइसंग सरमाइन भन्ने लाग्यो । जे होस् नेपाल आएपछि धर्मराजको छाती धक्क फुलेको थियो अनि उसलाई बहुत आनन्द मिलेको थियो । दुखसुखका सामान्य कुराकानी पछी उनीहरु सुते । भोलिपल्ट उठेपछि आफ्नो नित्य कर्म सकेपछी चिया खाने क्रममा उसले थाहा पायो कि जुना आजपनि अफिस जाने तयारीमा थिइन्, धर्मराजलाई कता कता खिन्न लाग्यो किनकी वर्षौपछी आफ्नो पति आफु समिप आउदा पनि उनले अन्जानलाई झैँ व्यवहार गरेकी थिइन् । कता कता जनाले दिलामायासंगको सम्बन्ध थाहा पाएर पो यस्तो व्यवहार गरिन कि भन्ने उसलाई लाग्यो तर त्यो कुरा हुन नसक्ने तर्कले नै मनमनै जित्यो ।
आफुले खाना खाएर जुना अफिस गइन्, उनको अफिस पुतलीसडकमा थियो, धर्मराज पनि यताउता गरेर दिन वितायो, समय यसैगरी चलिरहेको थियो । आएको ४- ५ दिनपछि धर्मराज आफ्नो विदेशी साथीहरुसंग भेट्न गयो, भृकुटीमण्डप उनीहरुको लागी सहज बन्यो र त्यतै भेटे । नेपाल फर्केपछि गरेका व्यवसाय, समस्या अनि सरकारको नीति सम्बन्धमा उनीहरुको गफ केन्द्रित भयो अनि धर्मराजले पनि पहिले आफुले गरेको स्टेशनरीको काम गर्ने मनसाय तयार गर्यो जसमा उसलाई पुरानो अनुभव थियो । अब खाजा खानलाई नजिकैको रेष्टुरामा जाने भए सबैजना, धेरैपछि धर्मराजसंग भेट्न पाएकोमा सबै खुसि थिए । बस्नको लागी छुट्टै छुट्टै क्याविनहरु तयार थिए जहाँ आफ्नो समूह गोप्य तरिकाले बस्न सकिन्थ्यो त्यो रेष्टुराँमा, उनीहरु उत्तरतिरको कुनामा गएर बसे ।
खाजाको अर्डर भयो, पर्खाइमा बसे उनीहरु, संगैको क्याविनमा दुइजनाको आवाज आइरहेको थियो, कहिलेकाही उनीहरुको आवाज चर्को हुन्थ्यो कहिले अत्यन्तै सानो, असामान्य सम्बन्धमा रहेका झैँ गरी कुराकानी गरिरहेका अर्को क्याविनका मानिसहरु कुनै ठुलै समस्यामा परेर समाधान खोजेको भाव स्पष्ट बुझिन्थ्यो ।यतापट्टीको हल्लाले धर्मराजका साथीहरु एकछिन शान्त हुन्थे र फेरी आफ्नै कुरामा केन्द्रित हुन्थे । प्लाइको पार्टीसन भएकोले दृश्य लुकेपनि आवाज स्पष्ट सुनिन्थ्यो । आवाज चिनेको जस्तो आभाष भैरह्यो धर्मराजलाई, त्यसैले आफ्नो साथीहरुको भन्दा पनि अर्कोतिरको आवाज सुन्न ऊ उत्सुक थियो ।
खाजा आयो सबैले खाए अनि उताको ससंकित आवाजले अधैर्य भएको धर्मराज वासरुम जाने बहानामा बाहिर निस्क्यो, बाहिर निस्केपछी आवाज अझ स्पष्ट सुनियो, ननिस्केको भए धर्मराजले पनि त्यो कुरा चाल पाउने थिएन । ति महिला गर्भवती रहिछन र उनीहरु महिलाको पेटमा रहेको अवैध सन्तानको व्यवस्थापन कसरी गर्ने भन्नेमा कसैले सुन्ला झैँ खासखुस गर्दै थिए ।
फेरि आवाज आयो, म के गरौ ? अब त ऊ पनि नेपाल आइसक्यो भन्दै उनीहरु सल्बलाएको झैँ सुनियो ।
यो आवाजले धर्मराजलाई बाहिर रोक्न सकेन, ऊ जब सरासर त्यो क्याविन भित्र गयो, छागाबाट खसेको जस्तो भयो किनकी त्यहाँ रहेका युगल जोडी जो अंगालोमा बाधिएका थिए, ति अरु कोहि थिएनन्, उसकी श्रीमती जुना र अफिसको हाकिम कृष्ण आफ्नो प्रेमलिलामा मस्त थिए ।
‘शर्मा दिप’
Leave a Reply