ब्रज किशोर पटेल
रौतहट । नेपाली एक किशोरीलाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । किशोरीलाई ललाइफकाई भारत तर्फ लैजान खोजिएको स्रोतले बताएको छ । पक्राउ परेका सातै जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ ।
Leave a Reply