सुखमा साथ दिने साथीलाई सजिलै भुल्न सकिन्छ तर दुःखमा साथ दिने साथीलाई जीवनभर भुल्न सकिँदैन ।’ जिन्दगीका अप्ठेरा गल्ली–गोरेटाहरुको यात्रा गरिरहँदा मार्गदर्शन गरिदिने साथीको महत्व ‘भगवान’ को भन्दा ज्यादा हुन्छ । क्षणिक तिक्तता आएपनि आफ्नो जीवनमा ऊ फेरि फर्केर आइदेओस् भन्ने मनमा लागिरहन्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । चार वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।
अहिले ऊर्जामन्त्री वर्षमान पुन छन् । अहिले नेकपाको सरकार छ । घिसिङलाई नियुक्ति नगर्ने, अर्कैलाई गर्ने भनेर सरकारले निर्णय गरेको पनि छैन । तर, सामाजिक सञ्जालमा व्यापक रूपमा घिसिङको ठाउँमा अर्कोलाई कार्यकारी निर्देशक नियुक्ति गर्न थालियो भन्दै ‘कुलमान घिसिङ चाहिन्छ’ भन्ने अभियान चलाइएको छ ।राजनीतिक व्यक्तित्व, कर्मचारी प्रशासन, विभिन्न संस्थानका प्रमुखहरु कसैका पक्षमा पनि आम नेपालीले यति धेरै सद्भाव राखेको र पदमा कायम राखियोस् भनेर आवाज बुलन्द पारेको सम्भवत नेपालकै पहिलो घटना हो ।कुलमानलाई नै फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले समेत सामाजिक सञ्जालबाट उठाउन थालेका छन् ।२०७३ सालको भदौंमा कुलमान विद्युत प्राधिकरणको प्रमुख भएर आउनु अघि नेपालमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो ।
सही व्यक्तिलाई सही स्थान भन्ने भनाइलाई सार्थक पार्दै घिसिङले आफू नेतृत्वमा आएकै वर्षको लक्ष्मी पूजामा ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना निकालेनन् । बरु उनी लोडसेडिङ हटाउने योजनाको परीक्षण तिर लागे । मोबाइलमा लोडसेडिङ एप र घरको भित्तामा लोडसेडिङ तालिका टाँसेर राखेका नेपालीले त्यही दिनदेखि कुलमानको प्रशंसा गर्न थाले । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरेका कुलमानले २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका थिए । उनी २०७१ असोजमा प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए ।
चिलिमे हाइड्रोपावर योजनामा उनले पाएको जिम्मेवारी र त्यसमा उनले गरेको योगदानबाट पहिलो पटक कुलमानले अलिक फराकिलो वृत्तमा आफ्नो पहिचान बनाउन थाले । चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए ।
सन २००३ मा सम्पन्न भइसकेको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा थप प्रगति सोचेअनुरुप भएको थिएन । चिलिमे जलविद्युत कम्पनी त्यही २२ मेगावाट बिजुली बेचेर मात्रै बसेको थियो ।
चिलिमे कम्पनीको जिम्मेवारी पाउँदा कुलमानले जनताकै सेयरबाट ठूला विद्युत् आयोजना बनाउन सकिने दृष्टान्त प्रस्तुत गरे । रसुवाका जनतालाई चिलिमेको सेयरको हकदार बनाएका कुलमान विस्तारै त्यहाँका स्थानीयको मनमा बस्न सफल भए ।
९ वर्षसम्म चिलिमेमा उत्पादित विद्युत बेचेर बसिरहेको कम्पनीमा उनले महत्वाकांक्षी चार परियोजना सुरु गरे । १११ मेगावाटको रसुवागढी, १०३ मेगावाटको भोटेकोशी–३, ४२ मेगावाटको साञ्जेन र १४ मेगावाटको माथिल्लो साञ्जेन योजना अघि सारेपछि कुलमान अझ फराकिलो सर्कलमा पुगे । सन् २०१७ सम्ममा यी परियोजना पुरा गर्ने लक्ष्य लिएका थिए उनले ।
तर, २०७१ साउनदेखि लागु हुने गरी विद्युत् प्राधिकरण सञ्चालक समितिले चिलिमे जलविद्युत् कम्पनीबाट कुलमान घिसिङलाई हटायो । त्यसबेला प्राधिकरण सञ्चालक समितिको अध्यक्ष तत्कालीन ऊर्जा मन्त्री राधाकुमारी ज्ञवाली थिइन् ।
कार्यसम्पादन राम्रो नभएको भन्दै उनलाई चिलिमेको जिम्मेवारीबाट हटाइएको थियो । अर्थात्, असफल थिए कुलमान !
चिलिमेको काममा असफल करार गरिएका कुलमानले त्यसपछिका दुई वर्ष जिम्मेवारी नै पाएनन् । विद्युत् प्राधिकरणको कार्यालयमा पुग्ने, हाजिर गर्ने र ‘चिया गफ’ गरेर फर्किन थाले कुलमान ।
त्यही क्रम चलिरहेको थियो, विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्दशक मुकेश काफ्लेले राजिनामा दिए । अनि सरकारले काफ्लेको त्यो पदमा नियुक्त गर्यो कुलमानलाई । अनि आफ्नो करामत शुरु गरे कुलमानले जसलाई जनताले कुनै चलचित्रकोे नायक जस्तै गरि प्रशंसाा गर्न थाले । देशमा १५ वर्षसम्म लोडसेडिगं हट्दैन भन्ने भनाईलाई निरर्थक बनाई जनताको मन जित्न सफल भए कुलमान । अब यही महिना कुलमानको ४ वर्षे कार्यकाल सकिँदैछ । अनि उनी फेरि त्यस्तै चर्चामा आएका छन् जसरी उनले लोडसेटिङ हटाउँदा चर्चामा आएका थिए ।
अनि यो चर्चामा आउँदा कलाकार, आम मानिस र सामाजिक सन्जाल प्रयोगकर्ता भनिरहेका छन्– यो पदमा कुलमानको विकल्प कुलमान नै हुन्, उनलाई नै दोहोर्याउनु पर्छ ।
मंगलबार यो चर्चा र आकांक्षा, चाहना र इच्छा नेपाली सामाजिक सन्जाल प्रयोगकर्तामा निकै देखियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुनः नियुक्त गरेको अड्कलबाजी र अफवाह, हल्ला र ‘फेक न्युज’ केहीबेरमै भाइरल भयो । कुलमानलाई बधाई दिनेको लहर चल्यो, कुलमानलाई बधाई दिने रहर धेरैमा देखियो । नेकपाका स्थानीय कार्यकर्ताहरु पनि आफ्नो सरकारले सधैं राम्रो कार्य गर्ने गरेको र कुलमानको नियुक्ती पनि गरेकोमा सरकारको जयकार गाउन तम्सिए, सामाजिक सञ्जालमा ।
तर विडम्बना ! कुलमानको विषयमा मन्त्रिपरिषद् बैठकमा केही भएकै रहेनछ । ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबारे कुनै निर्णय मन्त्रिपरिषद् बैठकमा लगेकै रहेनछ ।
यो विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभए पनि सामाजिक सन्जालमा कुलमानलाई नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउनु पर्ने माग अहिले पनि चलिरहेकै छ।अहिलेको युवा पुस्ता परिवर्तन चाहन्छ,भ्रष्टाचारमुक्त एक स्वच्छ समाज चाहन्छ पनि भन्छौ हामी तर कुलमान जस्ता ब्यक्तिलाई कुनै पार्टी बिशेषको बिल्ला लगाइदिन पनि पछि पर्दैनौ । अब यहाँनेर प्रश्न उठ्छ, हामी युवाशक्तिहरुले राजनैतिक सोचभन्दा माथि उठी कुलमान जस्ता सपुतहरुलाई साथ दिनेकि नदिने ? स्थानीय देखि केन्द्रसम्म राजनितिक पहुँच राख्ने नेता कार्यकर्ताहरुले दल भन्दा पनि आफ्ना जनताको इच्छा र स्वयम् आफ्नो आत्माले चाहेको कुरा आफ्ना सरकारका प्रतिनिधिलाई राख्न सक्ने कि नसक्ने प्रश्न छ । कि साच्चिकै कुलमान गलत हुन् ? यदि हो भने हाम्रा सरकारले पनि सार्वजनिक रुपमा भनोस् कि कुलमानले राम्रो काम गरेनन् त्यसैले जिम्मेवारी दिन सकिएन कुलमानलाई । होईन भने किन जनताको आवाज माथि वेवास्ता गदैछन् सरकारका प्रतिनिधिहरु ।
लोककल्याणकारी राज्यको भाषण गर्नेहरु सामाजिक सञ्जालको आवाजलाई कुनै अर्को ग्रहबाट आएको आवाज जस्तै ठानी जनतालाई किन बेवास्ता गर्दै छ ।
यसअघिका भ्रष्ट कमिसनखोर बिद्युत माफियाहरुलाई छानबिन गरि कार्वाहीको दायरामा ल्याउन आवाज बुलन्द गर्ने कि नगर्ने ? कुनै पार्टि बिशेष र समुह बिशेषको झोला बोकी ब्यर्थ फालिएको समयको थोरै सदुपयोग गर्दै कुलमान जस्ता यो देशमा अन्य सपुतहरु जन्माउन हामीले अभियान गर्ने कि नगर्ने ? तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिंगको पहलमा “हाम्रो खोला हाम्रो पानी, जलबिधुतमा हाम्रो लगानी’ भन्ने नाराका साथ उज्यालो नेपाल अभियान चलाइएको थियो। बास्तवमै यो अभियान महान् छ ,पबित्र छ र हाम्रै लागि छ । झोलामा खोला बोकेर बस्ने दलालहरु र ठुला ठुला परियोजना संचालनका लागी हाम्रा नदिनालाहरु बिदेशीलाई दिने कमिशनखोर नेताहरुलाई पाखा लगाउनकै लागि यो देशमा अन्य थुप्रै कुलमानहरु जन्मनुपर्छ । “परिबर्तन संभव छ त्यो पनि हाम्रै पालामा“ यो नारा केबल भोट माग्नका लागी नभएर देशलाई संमृद्धिको बाटोतर्फ डोर्याउनैका लागि हुनुपर्छ । जय कुलमान !
Leave a Reply