प्रकृति विभिन्न प्राणी, बनस्पति र सूक्ष्मजीवहरुको आश्रयस्थल हुनुको साथसाथै अथाह ज्ञानको भण्डार पनि हो। यसको गर्भमा थुप्रै रहस्यहरु अन्तर्निहित छन् जसको उद्घाटनमात्रले मानब जीबन सुखी सन्तुष्ट र स्वस्थ रहन सक्दछ।इतिहासको विभिन्न कालखण्डलाई हेर्ने हो भने पटक पटक विभिन्न महामारी र घातकरोगले मानबविकास क्रम छेदबिच्छेद भएको उदाहरण देखिन्छ ।यस्ता महामारी प्रकोपबाट बच्न मानिस अनेकौ औषधिको खोजमा जुटेको छ ।पूर्वीय समाजमा परापूर्ब कालदेखिनै प्राकृतिक उपचार पद्दतिलाई ज्यादा महत्व दिने गरेको पाईन्छ। आयुर्वेदिक स्वास्थ्योपचार बिधि अन्तर्गत थुप्रै बनस्पती वा जडिबुटीको प्रयोग गरिन्छ जसलाई आधुनिक चिकित्सा विज्ञानले पनि बिस्तारै अंगाल्दै गएको छ। अधिकांश आधुनिक भनिने औष्धिहरु पनि या त बनस्पति वा सूक्ष्मजीवबाट निकालिने तत्वको समिश्रणबाट नै तयार पारिन्छ।
यस्तै विभिन्न बनस्पतिहरु मध्ये एउटा बहुउपयोगी बिरुवाको नाम हो गुर्जो, जसलाई गाउँघरतिर गुर्जोको लहरा भनेर चिनिन्छ ।स्वास्थ्यको दृस्टीले ज्यादै नै महत्व बोकेको यस लहरालाई अमृतको उपमाले पनि चिनिन्छ। संस्कृतमा गुडूची वा छिन्नोद्भवा भनेर चिनिने यस बनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ र अंग्रेजीमा टिनोस्पोरा कर्डिफोलिओ (Tinospora cordifolia) को नामले चिनिन्छ। लहरा प्रजाति अन्तरगत पर्ने यस बिरुवामा फुल र फल दुवै लाग्ने हुनाले मिनिस्पेर्मेसी (Menispermaceae) परिवारमा सामेल गरिएको छ।बिशेषत उष्णतटीय क्षेत्रमा पाहिने यस बनस्पती भारतीय उपमहाद्वीपको विभिन्न स्थान जस्तै नेपाल, भारत, श्रीलंका, म्यानमार देखि चिन सम्म पाउन सकिन्छ। नेपालमा यो बनस्पती तराईका जंगलहरुदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको पाहिन्छ।
पानझैँ फ़िजारिएको पात हुने यस बिरुवाको लहरा ठुला रुखका हाँगाहरुमा बेरीएका हुन्छ। यसको डाँठ काटेर हेर्दा सेतो चक्रझैँ देखिन्छ जसले गर्दा अरु लहराबाट सजिलै छुट्याउन सकिन्छ भने बोक्रा हरियो वा खैरो हुने गर्दछ। यस लहरामा बर्षादको समयमा पहेलो फूल फुल्दछ र हिउँदमा फल पनि लाग्ने गर्दछ।
गाउँघरतिर सामान्य ज्वरो, रुघाखोकी, एलेर्जी, विभिन्न खाले चर्मरोग, पेटको गडबडी आदिमा प्रयोग गरिने गुर्जो बारे केहि अध्ययन अनुसन्धान भैरहेका छन्। अहिलेसम्म गरिएका यी सीमित अध्ययन अनुसन्धानबाट मात्र पनि आधुनिक चिकित्साशास्त्रमा यसको ठुलै सम्भावना उजागर भैसकेको छ्र यसमा विभिन्न दुर्लभ रासायनिक तत्वहरु जस्तै टटिनोस्पोरिन(tinosporine ) , टिनोस्पोराएड (tinosporide ), कर्डिफोलाइड्स (cordifolides A to E) ,कर्डिफोल(cordifol), पिक्रोटिन(picrotene), बरजेनिन(bergenin) आदि पाईन्छ ।।
विभिन्न रोगहरु जस्तै मधुमेह, क्यान्सर,ज्वरो,एलेर्जी, चर्मरोगको निम्ति गुर्जो प्रभाबकारी देखिएको छ। विश्वमै अत्याधिक मृत्युदर रहेको क्यान्सरको समस्या दिन प्रतिदिन जटिल बन्दै गैरहेको छ। विश्व स्वास्थ्य संगठनको प्रतिबेदन अनुसार पनि हरेक छ जना मध्ये एक जनाको मृत्यु क्यान्सरकै कारणले हुने गर्दछ। दिनानुदिन नयाँ नयाँ औषधिहरु परीक्षण गर्ने र प्रयोगमा ल्याउने काम भैरहेको छ यद्यपि यी औषधिहरु सोचे अनुरुप सफल हुन सकेका छैनन् त्यसैगरी यी औषधिहरुले शरीरमा ज्यादा नकारात्मक प्रभाव पार्दछन। मानब कोष र नमुना प्राणीहरुमा गरिएका हालैका केहि अध्ययनले गुर्जोको प्रयोग विभिन्न खाले क्यान्सरको लागि फलदायी हुने देखिन्छ। क्लेरोडेन फ्युरानो नामक गुर्जोमा पाइने तत्व क्यान्सर कोष नष्ट गर्न एकदमै प्रभावकारी पाइएको छ। केमोथेरापीले निम्त्याउने नकारात्मक प्रभावहरु पनि यसको प्रयोगले कम हुने देखिएको छ।त्यसैगरी यसले शरीरमा रहेको विषाक्त पदार्थहरू हटाउने काम पनि गर्दछ।
अर्को जटिल स्वास्थ्य समस्या हो मधुमेह जसलाई डाएबेटीज पनि भनिन्छ। मधुमेह हुदा इन्सुलिन नामक हर्मोन शरीरमा कम उत्पादन हुन्छ जसले गर्दा रगतमा ग्लुकोजको मात्रा अत्याधिक रहने गर्दछ। गुर्जोको प्रयोगले इन्सुलिनको प्रबाह बढ्ने र शरीरमा ग्लुकोजको मात्रा कम हुने अनुसन्धानबाट देखिएको छ। त्यसैगरी शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुदा विभिन्न संक्रमण हुने देखि रोग लाग्ने गर्दछ। गुर्जोको सहि तरिकाले उपयोग गर्दा रोग प्रतीरोधात्मक शक्ति वृद्धि हुने देखिएको छ। हाल फैलिरहेको कोरोना महामारीमा आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन पनि गुर्जो ज्यार्दै उपयोगी देखिन्छ ।
कमलपित्त (Jundice) लगायत कलेजो सम्बन्धी समस्याहरुको निम्ति पनि गुर्जो प्रयोगमा ल्याउन सकिन्छ। सुक्ष्म जीवाणु विरुद्ध काम गर्ने तत्वहरु यसमा पाइने हुँदा विभिन्न व्याक्टेरिअल वा भाइरल संक्रमणहरु बिरुद्ध उपयोगी देखिएको छ ।त्यसैगरी मानसिक तनाबबाट सिर्जित हुने विभिन्न समस्याहरु,कुष्ठरोग लगायत छाला सम्बन्धी रोगहरु, एलर्जी, रक्तअल्पत्ता आदि शारीरिक कठिनाईका लागि प्रयोगमा ल्याउन सकिने देखिएको छ। यसमा एन्टिअक्सिडेन्ट (antioxidant) गुण हुने हुँदा पनि विभिन्न शृंगार सामग्रीहरुमा पनि प्रयोग गर्न सकिन्छ।
स्वास्थ्य बाहेक यसको अर्को फाइदा बाताबरण संरक्षरणमा पनि हुन सक्दछ। कलकारखाना उधोगहरुबाट निस्कने फोहोरमा विभिन्न रासायनिक हानिकारक तत्वहरु हुने गर्दछ जसले बाताबरण प्रदुषण गरिरहेको हुन्छ। गुर्जोमा मसिना छिद्रहरू हुने गर्दछ जसले यी हानिकारक रासायनिक तत्वहरु सजिलै स्वोस्न सक्दछ। फोहोर बाताबरणमा आइपुग्नु पूर्व यदी गुर्जो प्रयोगमा ल्याउन सकिए यसले बाताबरण संरक्षरमा योगदान त पुर्याउछ नै साथसाथै आर्थिक भार पनि कम हुन जान्छ।
यी यस्ता महत्वपुर्ण गुणहरू बोकेको गुर्जो प्रकृतीको बरदान नै हो। कमैले मात्र चिन्ने यस बनस्पतिको बहुउपयोगीता अझै थोरैलाई जानकारी रहेको छ। केहि बिदेशी विश्वबिध्यालयहरुमा यसको अध्ययन अनुसन्धान भएता पनि नेपालमा खासै चासो दिएको पाइन्न। यसको महत्व जनमानसमा उजागर गरी थप अध्ययन अनुसन्धान गर्न सके भोलि गएर ग्रामिण अर्थतन्त्रको आधार बन्न सक्ने देखिन्छ। अझ यो कोरोना महामारीमा हामीले गुर्जोलाई घरेलु औषधिको रुपमा आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन सक्यौ भने रोगसंग लड्न धेरै महत्वपूर्ण हुन सक्दछ ।
– Sagar Thapa
(Lecturer, Bio Technology)
Kantipur Valley College
Leave a Reply