गौरी मल्ल पनि पुगिन् पशुपति सरसफाईमा (भिडियो सहित)

काठमाडौं । पशुपतिनाथ मन्दिरको सरसफाईमा वरिष्ठ अभिनेत्री गौरी मल्ल पनि सहभागी भईन् । स्वच्छ पशुपति अभियानमा सहभागी हुन अभिनेत्री मल्ल शनिवार बिहानै पशुपतिको हंश मण्डप पुगेकी थिईन् । उनी लगायत वरिष्ठ अभिनेता शिव श्रेष्ठ र कलाकार मदनदास श्रेष्ठ पनि पशुपति पुगेका थिए । पशुपतिलाई सफा गर्न मनैदेखि सफा रहि सकारात्मक बन्न अभिनेत्री मल्लले अनुरोध गरिन् । कलाकार मदनदास श्रेष्ठले स्थानीय युवाहरुलाई अझ बढि सक्रिय हुन आग्रह गरे । पशुपतिको स्वच्छ अभियानलाई निरन्तरता दिन आफु पनि अभियन्ताको रुपमा रहेको अभिनेता शिव श्रेष्ठले स्पष्ट पारे । सफाई कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायत अन्य थुप्रै चर्चित कलाकारहरुको सहभागिता थियो । सरसफाईमा स्थानीय युवा क्लव तथा स्थानीय युवाहरुले उत्कृष्ट रुपमा कार्य गरिरहेका छन् ।

‘पशुपति हाम्रो आस्था,सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति” को नारा दिएको पशुपति स्वच्छ अभियान,२०७८ गत शनिवार देखि शुरु भएको छ । पशुपतिनाथलाई स्वच्छ बनाउन सांकेतिक रुपमा अभियानले काम गर्ने सरसफाई अभियानका संयोजक डा.श्याम खड्काले जानकारी दिए । पशुपतिनाथमा हाल सरसफाई गर्ने कर्मचारीको अभाव देखिएको छ । सरसफाई कर्मचारीको ब्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले योजना बनाइरहेको जानकारी छ । पछिल्लो समयमा पूर्व सदस्य सचिव प्रदिप ढकालले सुरक्षा र सरसफाई लगायतका साठी भन्दा बढि कर्मचारीको करार नविकरण नगरेका कारण पशुपतिलाई ब्यवस्थित गर्न अप्ठ्यारो भएको कोषका एक सदस्यले जनाए । video: