सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक राख्न शान्ति समाजद्धारा प्रधानमन्त्रीलाई आग्रह

कृशुणा मिडिया सम्वाददाता

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
शान्ति समाजको प्रतिनीधिमण्डलले सोमवार प्रधानमन्त्रीसँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा रहेको समस्याको ध्यानाकर्षण गराएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न समेत आग्रह गरेको छ ।
यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ । विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराएको शान्ति समाजका सभापति गोविन्द खनालले जनाएका छन् ।

कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन र भविष्यमा आउनसक्ने महामारीको सामना गर्न विगतका घटनाबाट पाठ सिक्दै सोही अनुरुपको नीति संयन्त्र बनाउन पनि समाजले सुझाव दिएको छ ।  चुरेले तराईलाई संरक्षण गरिरहेको र चुरेको अत्याधिक दोहन र वन विनास रोक्न र चुरे संरक्षणमा विशेष प्राथमिकता दिनुपर्नेमा समेत शान्ति समाजले आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न थिए ।