बजार मुल्यभन्दा झण्डै दोब्वरमा सेनेटरी प्याड खरिद गर्यो गोदावरीले, वितरण प्रणाली पनि कार्यविधि बिपरीत

ललितपुर । गोदावरी नगरपालिकाले नियम बिपरित सेनेटरी प्याड खरिद तथा वितरण गरेको पाईएको छ । सेनेटरी प्याड ब्यवस्थापन कार्यविधि २०७६ लाई मिच्दै नगरभरिका सामुदायिक विद्यालयमा प्याड वितरण गरेको हो । सेनेटरी प्याड ब्यवस्थापन कार्यविधि,२०७६ अनुसार नगरपालिकामा स्थानीयतह स्तरीय सेनिटरी प्याड वितरण तथा ब्यवस्थापन समिति रहने छ । जसमा उपप्रमुख संयोजक रहने प्रावधान छ । तर प्याड खरिद गरि वितरण गरेको लामो समय हुँदा पनि उपप्रमुख मुना अधिकारीले आफुलाई जानकारी नै नभएको बताईन् । यसरी हेर्दा सेनिटरी प्याड ब्यवस्थापन कार्यविधि,२०७६ अनुसार कुनैपनि विधि लागु नभएको यकिन गर्न सकिन्छ । नगरपालिकाले वितरण मात्र गरेको तर कार्यविधि अनुरुप प्याड विसर्जनका लागि कुनैपनि वास्ता गरेको देखिदैन भने अनुगमनको पक्ष शुन्य छ ।
बजारमा प्रति प्याकेट रु.२५ देखि रु.४० सम्म मुल्य पर्ने सेनिटरी प्याड नगरपालिकाले रु.६० मा खरिद गरेको पाईयो । उक्त प्याडको प्रति प्याकेट होलसेल मुल्य रु.२० देखि रु.२७ सम्म पर्ने सम्वन्धित स्रोत बताउँछ । नगरपालिकाले जम्मा ४३ हजार २ सय ८४ प्याकेट खरिद गरेको थियो भने १ प्याकेटमै लगभग रु.३० फरक परेको देखिन्छ । उक्त प्याडले चिलाउने र एलर्जि हुने समस्या समेत भएको विद्यार्थीहरुले बताएका छन् । जसका कारण छात्राहरुले उक्त प्याड प्रयोग गरेका छैनन् भने कम गुणस्तरका कारण प्याडहरु विद्यालयको स्टोरमा थन्किएको छ ।

अघिल्लो वर्ष नगर बालअधिकार समितिको समन्वयमा केही विद्यालयहरुले निशुल्क सेनेटरी प्याड पाएका थिए । त्यस प्याडको तुलनामा हाल वितरण गरेको प्याड गुणस्तरहिन देखिएको छ । नेपालमा प्याड म्यान भनेर चिनिने ज्ञान महर्जनका अनुसार उक्त प्याड बालिकाहरुलाई प्रयोग नगर्न सुझाव दिन्छन् । नगर बालअधिकार समितिमा प्याड संगै भेन्डर मेसिन र ब्यवस्थापनको समेत प्रवन्ध गर्ने छलफल भएपनि निषेधाज्ञाको समयमा गुपचुप तवरले प्याड खरिद गरि वितरण गरेको नगर बालअधिकार समितिका एक सदस्यले जानकारी दिए ।
उपप्रमुख संयोजक रहने स्थानीयतह स्तरीय सेनिटरी प्याड वितरण तथा ब्यवस्थापन समितिमा कार्यपालिकाका महिला सदस्यहरु मध्ये कार्यपालिकाले तोकेको एकजना, महिला तथा बालवालिका शाखा, स्वास्थ्य शाखा, विद्यालयका शिक्षक प्रतिनिधि समेत रहने ब्यवस्था छ । उक्त समितिको सदस्य सचिव शिक्षा शाखाको तर्फबाट हुने ब्यवस्था छ । तर नगरपालिकाका सिमित कर्मचारीको उपस्थितिमा खरिद मुल्याकंन समितिको मात्र सक्रियता देखिएको छ ।

सेनेटरी प्याड ब्यवस्थापन कार्यविधि,२०७६ को केहि अंश
सेनेटरी प्याड ब्यवस्थापन कार्यविधि,२०७६ को केहि अंश

नगर शिक्षा शाखा प्रमुख देविप्रसाद उपाध्यायले टेण्डर गर्न ढिला हुने हुँदा नगर बालअधिकार समिति मै छलफल गरि रकम विद्यालयकै खातामा पठाउने सुझाव दिएका थिए । उनले भनेंः “टेण्डर गरे जस्तो मात्र गर्न शिक्षा शाखाले नचाहेको हो ।”

प्याड खरिदमा टेण्डर गर्न नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र भारतीको निर्देशनमा स्वास्थ्य शाखाले जिम्मा लिएको बताएको छ । सेनिटरी प्याड ब्यवस्थापन कार्यविधि,२०७६ को दफा २० को उपदफा (६)मा विद्यालयको खातामा सोझै रकम निकासा गर्न सक्ने सहज ब्यवस्था भएपनि टेण्डर नै गर्नुपर्ने  र बजार मुल्य भन्दा अधिकतम मुल्यमा खरिद हुनु आर्थिक अनियमिता हुनु बाहेक अरु केही नरहेको नगरपालिकाका एक कर्मचारीले बताए ।

टेण्डर प्रक्रिया हेर्दा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार गरिएको देखिए पनि यसको मर्म अनुरुप भएको पाईदैन । सार्वजनिक खरिद ऐनको प्रस्तावनामै ‘सार्वजनिक खरिद प्रक्रियाले मितब्ययी तथा विवेकपूर्ण ढंगबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न” भन्ने शब्द छ । तर गोदावरीको प्याड खरिदमा गरेको टेण्डर प्रक्रिया नितिगत रुपमा सहि देखिएपनि सार्वजनिक खरिद ऐनको मर्म विपरीत देखिन्छ । कुनैपनि सामान खरिद टेण्डर गर्नुभन्दा अघि लागत अनुमान गर्नुपर्ने हुन्छ । खुद्रा बजारमा रु ३२ देखि रु ४० पर्ने सेनेटरी प्याडलाई ४० हजार गोटा किन्दा झन् सस्तो हुनुपर्नेमा नगरपालिकाले झण्डै दोब्वर मूल्य रु ६० मा खरिद गर्नु प्रत्यक्ष अनियमितताको उदाहरण हो ।

प्याड खरिदको टेण्डर गर्दा ५ वटा फर्म वा संस्थाको प्रस्ताव परेको थियो भने टेण्डर फारम खोल्ने समयमा मुचुल्का गर्दा खरिद भएकै फर्मका तर्फबाट कम मूल्यमा प्रस्ताव गर्ने मेडिगोल्ड इन्टरनेशनल प्रालिका प्रतिनिधि कुमार हुमागाँईको मात्र एकल उपस्थित भएको देखिन्छ । वितरण गरिएको padeluxe नामको उक्त प्याड मेडिगोल्ड इन्टरनेशनल प्रालिसंग खरिद गरेको हो । यसरी हेर्दा टेण्डर  पूर्व निर्धारित हुन सक्ने शंका भएको नगरपालिकाका एक कर्मचारीले बताए । स्रोतका अनुसार मेडिगोल्डका प्रतिनिधि रहेका हुमाँगाई नगरपालिकाको स्वास्थ्य सामाग्री खरिद गरिएको अन्य फर्मको समेत प्रतिनिधिका रुपमा धाउने गर्छन् । विद्यालय अध्ययन गर्ने छात्राहरुको स्वास्थ्यसंग सम्वन्धित प्याडमा यसरी अनियमितता हुनु र गुणस्तरियतामा समेत प्रश्न उठ्नु स्वभाविक विषय नभएको गोदावरीका सम्वन्धित सरोकारवालाहरु बताउँछन् । यसवारे नगरप्रमुख गजेन्द्र महर्जनले आफु फाईल अध्ययन गरेर मात्र प्रतिक्रिया दिने बताएका छन् ।

प्याड खरिदका लागि बोलपत्र मुचुल्का र मुल्याकंन समितिको बैठक माईन्यूट
प्याड खरिदका लागि बोलपत्र मुचुल्का र मुल्याकंन समितिको बैठक माईन्यूट