पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी -विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले उपलब्ध गराएको उपचार खर्च गैर कानुनी भन्दै सरकारसंग खर्च विवरण माग गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरिश भट्ट र बागमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले पूर्वप्रधानमन्त्री खनालको उपचारका निम्ति सरकारले निकासा गरेको रकमको विवरण माग गरेका छन् । त्यस्तै कुन कानुन अनुसार उपचार खर्च दिएको हो भनेर पनि विवेकशील साझाले माग गरेको छ ।
विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएकोले त्यसलाई रोक्न पनि निवेदन दिएका छन् ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनिएको छ ।

विवेकशील साझा पार्टीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा भएको चियापान, खाजा र नास्तामा भएको खर्च विवरण पनि माग गरेको छ ।

ओली प्रधानमन्त्री भएको अवधि २०७४ फागुन ३ गते देखि २०७८ असार २९ गतेसम्म बालुवाटारमा भएको चियापान, खाजा, नास्ता लगायत कुन कुन शीर्षकमा कति खर्च भयो भन्ने विषयमा पूर्ण विवरण उनीहरुले माग गरेका हुन् ।