मुन्धुम कानुन र आजको सन्दर्भ

ई.पू ७५० देखि नेपालको प्राचीनकाल शुरु भएको पाईन्छ । नेपालको कानुनी ईतिहासलाई हेर्ने हो भने पनि प्राचीनकाललाई पहिलो चरण मानिन्छ । किराँतकाललाई पनि प्राचीनकाल मानिन्छ । कानुनको कुरा गर्ने हो भने किराँतीकालीन न्याय ब्यवस्थालाई अध्ययन गर्दा किराँतीहरुको बेद “किराँती मुन्धुम र किराँती मुन्धुम खातुन ”बाट धेरै कुरा प्राप्त गर्न सकिन्छ । त्यस समाजमा न्याय ब्यवस्था सरल र शान्ति पूर्वक रहेको पाईन्छ ।

नेपालमा किराँतीबंशका राजाहरुले राज्य गरेको ऐतिहासिक तथ्य छ । तत्कालिन समयमा कुनै लिखित कानुन भएको नपाएपनि मुन्धुम भन्ने धर्मशास्त्रीय किराँत ग्रन्थ प्रति जनआस्था र विश्वास समेत कायम रहेको थियो । यसमा ब्यक्त भएका बचनहरुलाई दण्ड कानुन सरह लागु गरि विवाद हल गर्ने कार्य समेत यसै अनुरुप गरिन्थ्यो । मुन्धुम अनुसार न्यायीक कार्य सम्पादन गर्नका लागि गाउँ गाउँमा मुखिया विचारी पनि छानिन्थ्यो ।
दाजु भाईको झगडामा गाउँको मुख्य ब्यक्ति (पानतुम्याङ् )ले गाउँको पञ्च भलाद्मी –पासि ङ पादाङ) को सभा बसाली त्यहि छलफल गरि विवादको सत्यतथ्य पत्ता लगाउने काम गरिन्थ्यो ।

मुन्धुम अनुसार प्रमुख न्यायधिकारी राजा हुन्थे र राजाले न्याय गर्दा ऐन कानुन नियम छाडे भने तिनको हालत  “भुत्ला नभएको चरो टाकुरामा बसेझैं हुन्थ्यो “भन्ने जनविश्वास थियो । न्यायको अभावमा मानिस मासिने गति पशुपंक्षीको जस्तो हुन्छ भन्ने मुन्धुमका बचनले असल न्याय ब्यवस्थाको महत्वलाई आज पनि उत्तिकै ग्रहणयोग्य बनाउँदछ ।

धर्मको अभावमा न्याय हुनै सक्दैन । मुन्धुममा भनिएको छः यदि भगवानलाई खुसि बनाउने हो भने न्याय निशाफ जीवन्त रहोस् । अरुलाई अन्याय गर्ने ब्यक्तिको अल्पायु मै मृत्यु हुन्छ । उसले ईश्वरको दण्डको सजाँय भोग्नु पर्दछ । मुन्धुमका अनुसार न्याय पद्धति धर्ममा आधारित रहनुपर्छ भन्ने थियो । जहाँ मानिसहरु धर्मको डरले पनि अन्याय गर्न डराउँदथे । उक्त समयमा मुन्धुम विपरीत गरिएको न्याय गैर कानुनी मानिन्थ्यो ।
नवजात शिशुको सम्वन्धमा पितृत्वको विवाद उठ्यो भने धर्मगुरुले चुमलुङ्ग नामको बसाँई टुंगो लगाउनुपर्ने भएकोले पञ्च भलाद्मी, मुख्य ब्यक्तिको अतिरिक्त धर्मगुरुहरु पनि न्याय मुर्तिका रुपमा रहन्थे । सामाजिक बहिष्कारमा परेका ब्यक्तिलाई पुन सामाजिक मान्यता भित्र ल्याउन सकिने ब्यवस्था थियो । बहिष्कृत ब्यक्तिले गाउँ सभा समक्ष तीन पटक सम्म दुवो र ढुंगो चाटी समातेर माफी माग्दा आगामी दिनमा त्यस्तो अपराध नगर्ने कबुल गरेमा पुनः सामाजिक मान्यता पाउन सक्थ्यो ।

नजिकको नातेदारको बिच करणी गर्न नहुने र आमाको तर्फ ४ पुस्ता भन्दा पछिको मात्र संग मात्र मिल्ने तहाँ उल्लेख थियो । उक्त समयमा फौजदारी कानुनका मुद्धाका दुबैपक्षलाई माटो खुवाएर सपथ गराई सत्य पत्ता लगाउनुपर्ने प्रकृया थियो । ज्यानमाराको ज्यानै लिने, चोरको हात उम्लेको पानीमा डुवाईदिने ,डाँकालाई अंगभंग गराईदिने पटके अपराधीलाई कैद थप गरि सजाँय गर्ने, चोरीको विगो नतिर्नेलाई कैदको सजाँय गरिन्थ्यो । हत्यारालाई धार्मिक स्थलमा लगि पश्चाताप गराईन्थ्यो । पिता तर्फ नजिकको नातेदारमा करणी लेनदेन गर्नेलाई हाडफोरा र नजिकको नातेदारमा यस्तो गर्नेलाई दुधफोरा भनिन्थ्यो । तत्कालिन समयमा हाडफोडालाई जनम भर दास बनाईने र दुधफोरालाई गाँउबाट निकाली ओडारमा बस्नुपर्ने गरिन्थ्यो । तर दास कस्कोमा बस्ने र लोग्ने स्वास्नी संगै बस्न पाउने कि नपाउने भन्ने र ओडारमा कति वर्ष बस्नुपर्ने भनि याकिन गरेको देखिदैन ।

यसरी हेर्दा किराँतकालमा मुन्धुम नै न्याय ब्यवस्थाको सर्वोत्तम आधार रहेको पाईन्छ । न्याय प्रणाली कठोर देखिएता पनि अनुशासनमा राख्न यसले ज्यादै महत्वपूर्ण भुमिका खेलेको थियो । हाल नेपालको वर्तमान करणी सम्वन्धि अपराधको कानुनी विकास यहीँबाट नै भएको भन्न सकिन्छ । न्याय सम्पादनमा राजा वा राज्यको प्रमुख ब्यक्ति नै नैतिकता विहिन भए भने त्यसको स्वरुपको संकेतले पनि उसको प्रतिष्ठा प्रति जनताको आस्था मासिने उल्लेख रहेको बुझ्न सकिन्छ । यदि जनताले नै राष्ट्रप्रमुखलाई सम्मान गरेनन् भने पदमा बसेको शोभा नहुने भन्ने कुरा उक्त समयको उक्ति पहाडको टाकुरामा भुत्ला नभएको चरो बसे झैं हुने भन्ने कुराले पद, क्षमता र नैतिकताको सम्वन्ध बारे प्रष्ट पारेको कुराले वर्तमान परिस्थितिलाई पनि सन्देश दिएको छ ।

– कृष्णमुरारी पुडासैनी