लकडाउन अझै लम्बिनु पर्छ बा !
लखर लखर डुलेर
अबेर घर आउने तिम्रा ज्वाई
घरभित्रै थन्किएका छन।
उनको र मेरो
चर्का चर्किको चियो चर्चा गर्ने
छिमेकी
मैले हाछ्यू गरेको सुनेर तर्किएकाछन ।
नहुने ले नखाए के बाल भो र ?
हुनेले सित्तिको हसुरेर
हात्ति झै ज्यान फूलाएकै छन ।
पढेर पद प्राप्त गरी भ्रस्टाचार मा लिप्त
हुन नसक्ने,
राजनिती गरेर मौकामा
चौका पनि हान्न नसक्ने
माईतिघर मण्डलामा कुर्लेर
लूटतन्त्र मुर्दाबाद भन्नेहरू
पुलिस र जेल बिना थन्किएकै छन।
हो बा !अझै लम्बिनु पर्छ लकडाऊन !
कुर्सि तानातान गर्नेहरूका
ढाड भाँचिएर
प्यारालाईसिस नभए सम्म
चामलको पोकोमा कमिसनको
दाऊ खेल्नेहरूका
पेट हुडाल्लिएर पखाला नलागे सम्म ।
डाडु पन्यू हातमा हात लिएर
अरू भोकले तड्पिएको टुलुटुलु
हेर्न आँखामा धमिरा
हातमा हत्कडि नलागे सम्म ।
निमुखालाई घरभित्र बन्दि बनाएर
सत्ताको जुहारी खेल्ने
कर असुल्नकै लागि
दैलो उघारेर भोक र शोकले
रनथनिएका हरुलाई
उल्लु बनाउनेहरूलाई
लाखौं को भिडले सिंहदरबारमै
नजलाए सम्म
लकडाउन खोल्नु हुन्न बा ।
किनकी बा भोकोपेट माथी
साम्राज्य जमाउनेको बिगबिगिले
अचेल भेडाहरू !
बाघ र सिंह बनेका छन।
हो सिंहले सत्ताको शिकार नगरे सम्म
लकडाउन जरूर लम्बिनु पर्छ बा !
– सुगिता शाह, दैलेख
Leave a Reply