एक महिना अघिको कुरा, कामको सिलसिलामा एकजना कमरेड दाजुलाई नयाँ बानेश्वरमा भेटे। जसलाई ६४\६५ साल तिर होला, मैले काम कै सिलसिलामा भेटेको थिएँ। जुन बेला उनी एक बोडिङ्ग स्कूल को शिक्षक पेशा त्यागेर तत्कालिन नेकपा माओवादी पाटी को सञ्चार क्षेत्र हेर्ने प्रतिनिधि बुझिन्थे। जनताको आवाज लिने टेलिभिजन कार्यक्रम थियो त्यतिखेर । संविधान सभाको चुनाव र चुनाव पछि संविधान बनाउने बेला सम्म संगै काम गरेका थियौं टेलिभिजन कार्यक्रम निर्माणमा । हामी कार्यक्रम छायांकन पछि बेलुका जनताको आवेग बारे छलफल गर्थ्यौं। ती दाजुले ‘कम्युनिष्ट विचार र वर्गिय संघर्ष र बुर्जुवा शिक्षाका कुरा गरेर देश परिवर्तन गर्न पुजिवाद र दलालहरुको सत्ता भंग गर्नुपर्छ” भन्थे ।
राज्यको शासन प्रणाली र जनताको मुक्तिका बारे ज्यादै मन छुने कुरा गरेर हामी सबै प्राविधिक टीम गणतन्त्रका पक्षमा कुरा गर्थ्यौं
जहाँ गणतन्त्रमा गरिवहरुले स्वास्थ्य शिक्षा निशुल्क पाउनेछन् र गरिबको बस्तीमा रातो घाम लाग्नेछ , यस्तै यस्तै कुराहरु…।
छायांकन समयमा स्थानीय पसलमा खाना खाने गरेको याद छ। उनी भन्थेः यी कति मेहनती छन् राज्यमा शासक होइन जनताका नोकरले राज्य गर्नुपर्छ। त्यतिखेर उनले लगाउने साधारण पोसाक, खाना खाने, व्यवहार र विचारले सबै साथी हरु फ्यान बनेका थियौं।
समय ढल्किदै गयो, माओवादीबाट पनि मन्त्री र प्रधानमन्त्री समेत भए। उनी सँग हाम्रो सम्बन्ध बिचमा टाढियो। करिव १० वर्षपछि उनी एकाएक राजसी ठाँटमा भेटिए। सुनेको थिएँ, उनको अहिले नयाँ बानेश्वरको आसपासमा ठूलो बँगैचा सहितको घर छ रे, ६०\६५ लाखको गाडी पनि चढ्छन् रे । सन्तानहरू कुन्नि कुन सारै नाम चलेको बोर्डिङ मा पढ्छन् रे। उनको व्यवसाय काभ्रेको कुन्नि कुन ठाँउमा १५\२० ओटा बाख्रा राखिएको फर्म छ रे। त्यसको आम्दानीले बानेश्वरमा भवन र राज खानदानी जीवन शैली भयो भने किसानी पेसाले उहाँलाई ठूलै अवसर मिल्यो होला।
हाल ठूला नेता उनका साथी छन्, आजकल फेसबुकमा पनि उच्च सानको फोटो र विदेशी जस्तो देखिने खानामा विलासी जीवनशैली बिताएको फोटाहरु देखिन्छन्। त्यो समयमा धनी,गाडी चढ्ने नेता, ब्यापारीलाई उनले भ्रष्टाचारी, कमिसन खोर , दलाल, पुजीवादी भन्दै साधारण जीवनशैली जिउँन प्रेरित गर्दै मानिस समाजका लागि जिउनुपर्ने संदेश दिन्थे। तर आज आफ्ना सन्तान च्याप्दै गितार र ड्रम बजाउने, लकडाउनमा विदेशमा पाक्ने विभिन्न प्रकारका फोटो फेसबुकमा राख्ने ती दाजुले लकडाउनकै समयमा मलाई केही भिडियो निर्माणको काम दिन बोलाए । उनीसंग आफ्नो सानदार प्रेस लेखिएको गाडीमा बानेश्वरको चोक नेर भेटेँ। जसले मलाई म आजसम्म नपुगेको उच्च स्तरको रेस्टुरेन्ट (लकडाउन मा बस्ने उहाँहरुको विशेष जकसन) मा लगेर हट लेमन खुवाउनु भयो र म जस्ता श्रमजीवि लाई केही हजारको भिडियो बनाउने काम दिनु भयो। धन्यवाद !!
तर गणतन्त्र दिवसकै दिन यसरी आफैलाई मायाँ गर्ने दाजुको बारेमा लाई लेख्ने इच्छा जाग्यो ।
धनी देखिने मानिस तपाई जस्तै हुँदोरहेछ । अनि मले सोचिरँहे कि १५\२० ओटा बाख्रा राख्ने फार्म खोलेर ३ जनालाई रोजगारी दिई कर्मवीर बनेर यति धेरैको सम्पति कसरी कमाउने रैछ ?…तपाँईले सिकाउनु भएको कुरा सम्झिए ।
अनि सम्झिए उनले सिकाएका कुरा ः राज्यलाई ठग्ने र कमिसन दलालहरुको बिरोध गर्न नसक्नेले आमाको छातीमा लात्ती पनि हान्न सक्छ भनेर सिकाउनु भएको थियो। त्यसैले तपाईसँग जोडेर यो मनोभाव लेखे, किनकी म आमाको छातीमा लात्ती हान्न सक्दिन दाजु तपाईलाई मात्र गणतन्त्र दिवसको शुभकामना 😷😷😷😷
कृष्णमुरारी पुडासैनी
गणतन्त्र दिवसका दिन उब्जेका मनोभाव..
विगतमा लगाउने नारा मात्रै थिए सारा गरिबलाई गरिबी बनाउने । मुरारीजी अझै निरन्तर भइरहोस यस्तो सम्झना ।