पशुपतिनाथको जग्गामा बक्रदृष्टी, बगैचा बनाउन छुट्याएको जग्गा गुठी संस्थानले हडप्यो

काठमाडौं । सिफल भण्डारेश्वरमा रहेको करिब ८ रोपनी जग्गा गुठी संस्थानले भाडामा दिएर तरकारी बजारका लागि संरचना निमार्ण गर्न थालेपछि विवाद शुरु भएको छ । सिफलस्थित धोविखोला किनारमा रहेको पशुपतिको जग्गा गुठी संस्थानले एकलौटी रुपमा भाडामा लगाएको थाहा भएपछि पशुपति क्षेत्र विकास कोषले असन्तुष्टि व्यक्त गरेको हो ।

२०२१ सालको नापीमा भगवानस्थान वडा नं ६ को कित्ता ६२ को ५ रोपनी १२ आना कायम भई जग्गा धनी पशुपति गुठी र मोही मनकामना महेश्वर भारती सिफल कायम भै पुर्जा प्रमाणित गरेको थियो तर २०४२ सालमा उक्त जग्गा धोबिखोला सिफल पक्की पुल गुठीको नाममा आएको देखिन्छ जुन कोषको असहमति र बिना जानकारी भएको कोषका पदाधिकारी बताउँछन् । यसवारे पशुपति क्षेत्र विकास कोष र गुठी संस्थान बिच विवाद भएपछि २०६१ पुस २० गते गुठी संस्थानका तर्फबाट प्रशासक दिलीप कुमार भट्ट र कोषका तर्फबाट सल्लाहकार धर्म प्रसाद गौतमबीच भएको सहमति जुटेको थियो । उक्त सहमतिमा जग्गा गुठीको नाममा रहेपनि  कोष र गुठी संस्थानको तर्फबाट संरक्षण र सदुपयोग गर्नु समान दायित्व रहने भन्ने उल्लेख छ । । तर हाल उक्त सहमति विपरित गुठी संस्थानले भाडा दिएको कोषको दाबी छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन कुमार थापाले दुईपक्ष बीच भएको सम्झौताको बुँदा नम्बर ९ मा पशुपतिनाथ मन्दिर नजिकै रहेको ८ रोपनी जग्गामा बगैचा बनाउने र त्यहाँ फुलेका फूलहरु पशुपतिमा चढाउने सहमति गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ पशुपतिका लागि बगैचा बनाउन छुट्याएको जग्गा सहमति विपरित एकलौटी ढंगले टहरा निमार्ण हुन थाले जति ताकेता गरेपनि गुठी संस्थानले सहयोग गरेन । ’

कोषाध्यक्ष थापाका अनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषबीच भएको समझदारीमा जग्गा द्धैत स्वामित्वको हुन्छ तर जे गरेपनि दुबैपक्षको सहमति गरेर मात्रै अगाडि बढने उल्लेख छ । भू -उपयोगिता सहितको कोषको गुरुयोजनामा पनि उक्त क्षेत्रलाई उद्यानकै रुपमा बिकास गर्ने उल्लेख गरिएको छ ।

कोषले बन्दै गरेको संरचना छिटो भन्दा छिटो रोक्का गरि लिजमा गरिएको सम्झौता रद्ध गर्न सरोकारवाला सवै निकायसँग आग्रह गरेको छ भने पुर्जा आफ्नो नाममा रहेकाले उक्त जग्गा गुठी संस्थानले नै प्रयोग गर्न पाउने संस्थानका प्रवक्ता सरोज थपलियाले बताए ।
यसैगरि पशुपतिनाथको नाममा रहेको यस्ता किसिमका धेरै जग्गाहरु ब्यक्तिगत नाममा लैजान भू माफियाहरुको चलखेल हुने गरेको समेत स्रोतले जानकारी दियो ।