कृषकको खेतबारीमा १ वर्षे लामो तरकारी खेती तालिम

ललितपुर । कृषि सहकारी सदस्यहरुलाई १ वर्षे लामो कृषक पाठशाला तालिम सफलताका साथ सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा लेले सामुदायिक विकास केन्द्रको समन्वयमा गोदावरी नगरपालिका वडा नंं. ६ स्थित श्री सरस्वतीकुण्ड कृषि सहकारी संस्था लि र श्री सारङ्गीडाँडा महिला कृषि सहकारी संस्था का सदस्यहरुलाई उक्त तालिम एक वर्ष अघि देखि निरन्तर सञ्चालनमा थियो ।
कृषकमा भएको सिपलाई सुध्रार र समय सापेक्ष आधुनिक तरकारी खेतीमा सहयोग गर्ने प्रमुख उद्देश्य सहित प्लाष्टिक टनेलमा गोलभेडा खेती र खुल्ला तरकारी खेतीको लागि कृषक पाठशाला कार्यक्रम आयोजना भएको लेले सामुदायिक विकास केन्द्रका प्रतिनिधि रामकुमार पुडासैनीले बताए । तालिमले तरकारी खेतीको प्राविधिक पक्षमा सबल हुन सहायता मिलेकोमा कृषक जमुना वाईवाले खुसि ब्यक्त गरिन् । तालिमले तरकारी उत्पादन विगतका वर्षहरु भन्दा तुलनात्मक रुपमा वृद्धि भएको र आयअर्जनमा पनि वृद्धि भएको तालिममा सहभागी सदस्य गिता बजगाइले अनुभव साटिन् ।
यस तरकारी खेती तालिमबाट २१० जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । यस कार्यक्रम अन्र्तगत नर्सरी व्यवस्थापन, जग्गाको तयारी, मल तथा गोठे मल तयारी, गोडमेल तथा छाटकाँट, रोग तथा किरा नियन्त्रण, सिचाँई, प्रविधिको प्रयोग, वाली भित्राउने र बजार व्यवस्थापन शिर्षकमा केन्द्रित रहेर तालिम सञ्चालन गरिएको थियो । १८ वटा उप समुहमा निश्चित समय तालिकामा तरकारी बारीमा नै तालिम संचालन गरिएको सामुदायिक केन्द्रका प्रतिनिधिले जनाए । कृषक सिता सापकोटाले व्यावहारीक ज्ञान सिपको बिकास गर्न सहयोग गरेकोमा सहयोगी संस्थाहरु लेले सामुदायिक विकास केन्द्र र गुड नेर्वस इन्टरनेशनल नेपाललाई धन्यबाद दिईन् ।