ललितपुरमा अमिगो फुड ट्रक’ रेष्टुरेन्ट

ललितपुर । गाडीमै सञ्चालन हुने मोवाईल रेष्टुरेन्ट अमिगो फुड ट्रक’ सञ्चालनमा आउने भएको छ । युवा उद्यमी सुदिप घिमिरे र गणेश कार्की मिलेर गाडी भित्र रेष्टुरेन्ट सञ्चालनको तयारी गरेका हुन् ।
‘अमिगो फुड ट्रक’ नाम दिएको यो रेस्टुरेन्ट बसमा सेट गरिएको छ । गाडी झैँ एक स्थानबाट अर्को स्थानमा लैजाने सुविधा समेत छ । बस भित्र नै भान्सा घर, धारा, टेबल र रात बिताउने समेत व्यवस्था छ । सुविधा सम्पन्न रेष्टुरेन्टमा झैँ यसमा रुफ टपको समेत व्यवस्था छ । गाडीको छतलाई व्यवस्थित बनाएर रुफ टप निर्माण गरिएको छ । रुफटप जानका लागि भेन्टिलेटरबाट भर्यांगको व्यवस्था गरिएको छ । गाडी गुड्ने समयमा भने रुफटप फोल्ड गरिने सञ्चालकले बताए । बस्नका लागि बसका सिट झिकेर सुविधा सम्पन्न कुर्सीको व्यवस्था गरिएको छ ।


नाइट आउटका लागि समेत यो बस प्रयोग गरीने भएकाले २० जना सम्म सुत्न मिल्ने गरि व्यवस्थापन गरिएको छ । रातको तथा जङ्गलमा जानुपर्ने सम्भाव्यतालाई ध्यानमा राख्दै उनीहरू सोलार जोड्दै छन् । उत्सव हेरेर झिलिमिली बत्तीको व्यवस्थापन समेत भैसकेको छ । जन्मदिन, भेटघाट, पिकनिक लगायत सानो सङ्ख्यामा गरिने कार्यक्रमका लागि सहर भन्दा केही पर पुगेर आनन्द लिन यो रेष्टुरेन्ट उपयोगी हुन्छ ।
घिमिरे र कार्कीले विदेशमा काम गर्दा देखेको फुड ट्रकको कन्सेप्टमा केही परिवर्तन गरेर नेपालमा सञ्चालन गर्न लागेका हुन् । यस अघि नेपालमा पुरानो सवारीलाई रेस्टुरेन्टको रूपमा विकास गरेर सञ्चालन गरेको भए पनि गुड्ने रेस्टुरेन्ट सम्भवतः पहिलो पटक सञ्चालनमा आएको हो ।
खानाका लागि सञ्चालक दुवै कुक भएकोले सुरुवाती चरणमा आफै सर्भ गर्ने उनीहरूको तयारी छ । ड्राइभिङ सिक्दै गरेका यी दुईले हाललाई भने एक ड्राइभर राखेका छन् । बाहिर जाने भन्न साथ जो कोहीलाई पनि व्यवस्थापनमा समस्या आउँछ । सोही सम्भाव्य समस्यालाई सम्बोधन गर्दै एक समाधानको रूपमा उनीहरूले यो रेष्टुरेन्ट सञ्चालन गर्न लागेका हुन् । आवश्यक पानी बसमा नै स्टोर गरिएको हुन्छ भने फोहर पानी जम्मा हुने ट्याङ्कीको समेत व्यवस्था गरिएको छ ।