नियम विपरीत गोदावरीमा कर्मचारीको स्तर बृद्धि

ललितपुर । गोदावरी नगरपालिकाले साविक स्थानीय निकायका कर्मचारीहरुको कानुन विपरीत स्तर बृद्धि गरेको पाईएको छ । नगरपालिकाले यस आ.वको शुरु महिना देखि लागु हुने गरि १२ जना कर्मचारीको स्तर बृद्धि गर्ने निर्णय गरेको हो । कर्मचारी व्यवस्थापन (सेवा शर्त सम्वन्धि) ऐन, २०७६ निर्माण गरि यसैको आधारमा कर्मचारीको स्तर बृद्धि गरेको नगरपालिकाले जनाएको छ । तर यसवारे नगरपालिकाका कानुनी सल्लाहकारहरु भने बेखवर छन् ।

हाल संघीय निजामती कर्मचारी ऐन मस्यौदाको रुपमा छ जुन पुर्ण भईसकेको छैन  । त्यसैको आधारमा प्रदेशको बन्नुपर्ने प्रावधान छ । यसरी संघ र प्रदेशकै कानुन नबनि पालिकाहरुले ऐन बनाउन नपाउने नियम छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सह सचिव वसन्त अधिकारीले स्थानीय तहका कर्मचारीको स्तर बृद्धि र बढुवा गर्नु कानुन बिपरीत भएको बताउँछन् । उनले त्यसरी कार्य गर्ने पालिकाहरुलाई मन्त्रालयले रोक्न नसक्ने तर सुझाव दिदै आएको छ ।
केहि समय अघाडि अन्य केहि नगरपालिकाहरुले समेत आफ्नो कर्मचारीको बढुवा गरेका थिए , तर त्यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा मन्त्रालय मार्फत रोकेको थियो ।
विवादित विषय त्यो पनि कानुनी आधार नभई ऐन बन्नु गलत रहेको र सो ऐन निर्माण बारे नगरमा कुनैपनि कानुनी सल्लाह र जानकारी समेत नभएको नगरका कानुनी सल्लाहकार विजय सिलवालले बताए ।

उक्त ऐन निश्चित कर्मचारीहरुले ब्यक्तिगत स्वार्थमा जनप्रतिनिधिहरुलाई प्रभावमा पारी निर्माण गरेको हुन सक्ने स्रोतले जनाएको छ । स्रोत भन्छ, “होईन भने कानुनमा विवादित रहेको कुरा किन जनप्रतिनिधिहरुले सहजै निर्णय गरे त ! ”

स्तर बृद्धि भएका कर्मचारीहरु मध्ये केहिको योग्यता समेत नपुगेको हुन सक्ने अनुमान गरिएको छ । यसबारे कृशुणा मिडियाले सुचनाको हक अनुसार जानकारी मागेको थियो । जसमा स्तर बृद्धि भएका कर्मचारीको योग्यता बारे स्पष्ट पारिएको छैन । सुचनाको हक अन्तर्गत ब्यक्तिगत शैक्षिक योग्यतालाई गोप्य राख्न सकिने भएकोले उक्त सुचना दिन नमिल्ले बताएको थियो । धेरैजसो कानुन विपरीतको निर्णयलाई कार्यान्वयन गर्न अप्ठ्यारो परेन ? भनेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीलाई प्रश्न गरेका थियौ, उनले यो विषय आफु आउनु भन्दा अघि निर्णय भई सदर भइसकेकोले सो निर्णयको पत्र मात्र तयार गरेको जानकारी दिए ।

हाल करारमा रहेका कर्मचारीहरुलाई समेत स्थायी गर्न नगर कार्यपालिकामा जनप्रतिनिधिहरुले कुरा उठाउने गरेका छन् । आफुले भर्ति गरेका कर्मचारीलाई स्थायी गराउन उनीहरुले पटक पटक कुरा राख्ने गरेको समेत स्रोत बताउँछ ।
तर नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहका कर्मचारीहरुलाई हौसला र प्रोत्साहन गर्न स्तर बृद्धि गरेको बताए । संघका कर्मचारीहरु ५-६ वर्षमा बढुवा हुने तर स्थानीय स्तरका कर्मचारीहरुमा बढुवा नभएकोले हतोत्साही हुन नदिन प्रोत्साहन स्वरुप गरेको उनले बताए ।