काठमाडौं । आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै काठमाण्डौ र ललितपुरस्थित ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा बिहिवार मध्यान्ह् १२ बजेदेखि आधा घण्टासम्म काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दुतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन भएको हो ।
धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन, कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउँने ? आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन्, हामी आणविक अस्त्ररहित विश्व चाहन्छौ लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थियो । यसैगरी सहभागिहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेध ः शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शिघ्र हस्ताक्षर÷अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र उपरोक्त दुतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले हस्तान्तरण गरेका थिए भने चीनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र हुलाक इमेलबाट पठाइएको धर्नाका एक सहभागीले जानकारी दिए ।
यसैगरी देशका अन्य ३१ जिल्लामा ३२ वटा प्रदर्शन भएको छ।
पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघबाट आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको थियो र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ । यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ । ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर÷अनुमोदन दुबै गरेका छैनन् र यो सन्धि अनुमोदनका लागि अनिच्छुक देखिन्छन् ।
Leave a Reply