शिक्षणका लागि उच्चतम प्रविधिको प्रयोग गर्दै जनभावना क्याम्पस

प्रमिसा दाहाल

ललितपुर । अहिले कोरोना कहर यस्तो बनेर आएको छ जसले नेपालमा पनि केही प्रबिधिहरु भित्राइरहेको छ । अहिले मिटिङ्, गोष्ठी लगायतका विविध कार्यक्रमहरु जुम मिटिङ बाटै हुन्छन् । यहाँ सम्मकी शिक्षण पनि जुम बाटै भइरहेको छ । तर अहिले जुम भन्दा पनि सहज पारदर्शी सफ्टवेयरको प्रयोग गरेर शिक्षण गर्न अघि बढीरहेका छन् केहि क्याम्पसहरू ।
दक्षिण ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित जनभावना क्याम्पसले पनि गत महिनाबाट मुडल सफ्टवेयरका माध्यमबाट शिक्षण कार्य सुरु गरेको छ । यस क्याम्पसले दक्षिण ललितपुरका सम्पूर्ण विद्यार्थीहरुलाई समेटेको छ । २०४७ सालमा स्थापित यस क्याम्पसले २०७६ मा क्यु.ए.ए प्राप्त गरेको थियो ।
कोरोना महामारीले विद्यार्थीहरूको सिकाइमा पारेको प्रभावलाई न्यूनीकरणका लागि जनभावना क्याम्पसले बैशाख बाट जुम मिटिङका माध्यमबाट शिक्षण कार्य सुरु गरेको थियो । तर जुममा सोचे झैं शिक्षण प्रभावकारी नहुने तथा नेटको पहुँच नभएका विद्यार्थीहरुले नियमित कक्षा लिन नसक्ने भएकोले जनभावना क्याम्पसले गत महिना बाट मुडल सफ्टवेयरबाट शिक्षण गर्दै आएको छ ।
विश्वमा मुडल सफ्टवेयरको विकास सन् २००२ मा भएको थियो । यसबाट विद्यार्थीहरुले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट पढ्न सक्छन् । विद्यार्थीहरुले मोडलमा भएका विषयवस्तु डाउनलोड गरेर पढ्न सक्ने सुविधा भएको हुँदा जुम भन्दा यसमा विद्यार्थीहरुलाई सिक्न सहज र सहुलियत हुने कुरा यसै क्याम्पसका प्रधानाध्यापक तथा नेपाल पब्लिक क्याम्पस संघ अध्यक्ष शिवराज सञ्जेलले जानकारी दिनुभयो । जुममा भन्ने र सुन्ने क्रियाकलाप हुने हुँदा शिक्षण प्रभावकारी भयो या भएन भनी लेखाजोखा गर्न र शिक्षणलाई नतिजामुखी बनाउन समस्या थियो । तर मुडल सफ्टवेयरमा विद्यार्थी विद्यार्थी बीचको छलफल गर्न मिल्ने, गृहकार्य जाँच गर्न मिल्ने, विद्यार्थी मूल्याङ्कन गर्न मिल्ने तथा विधार्थीहरूले आत्म मुल्याङ्कन गर्न सक्ने र पारदर्शी हुने जस्ता सुविधाहरु रहेकाले यो सफ्टवेयरको सिकाइ राम्रो हुने प्रति शिक्षक तथा विधार्थी आस्वस्त छन् ।
नेटको समस्या झेलिरहन नपर्ने र कम मूल्यमा नै विद्यार्थीहरुले पढ्न पाउने हुँदा नेटको पहुँचमा रहन नसकेको नेपालजस्तो विकासोन्मुख मुलुकमा मुडल सफ्टवेयरको प्रयोग फाइदाजनक रहेको कुरा सञ्जेलले बताउनुभयो । हाल नेपालमा थोरै मात्र यस्ता कलेज छन् जसले मुडलबाट शिक्षण सुरु गरेका छन् ।कोरोना महामारीले लम्बाएको प्रत्यक्ष भेटमा समस्या हुँदा प्रविधीको उच्चतम प्रयोग गरेर कसरी शिक्षण प्रभावकारी बनाउने भनी विकल्पको खोजी गर्ने क्रममा मुडल सफ्टवेयरको प्रयोग गरिएको सञ्जेलको भनाइ छ ।

उनका अनुसार प्रविधिको प्रयोग गरेर शिक्षण गर्न पाउनु नेपालीका लागि एक अवसर सृजना भएको छ तर पनि शिक्षक प्रविधिमैत्री बन्न नसक्नु यसको प्रमुख चुनौती हो । हाल त्रिभुवन विश्वविद्यालयले शिक्षकहरुलाई मुडल सफ्टवेयरको तालिम दीईरहेको छ ।नेपालमा रहेको एक मात्र खुल्ला विश्वविद्यालयमा पनि यहि प्रविधिको प्रयोग हुन्छ । तर पनि आफ्नो क्याम्पस क्यु.ए.ए प्राप्त हुनाले प्रविधिमैत्री बन्नुपर्छ भन्ने उद्देश्यले चाँडो नै आफ्नो क्याम्पसमा यो प्रविधि प्रयोगमा ल्याएको बताउँछन् ।
यति मात्र नभई पुस्तकालयका सम्पूर्ण पुस्तकहरु समेत मोडल सफ्टवेयरमा नै विद्यार्थीहरुलाई उपलब्ध गराउने समेत भावी योजना रहेको बताउनुभयो।
यस्तै यसै क्याम्पसमा शिक्षण गरिरहनुभएका शिक्षक गोविन्द सञ्जेलका अनुसार यो एउटा अवसर पनि हो । उनका अनुसार प्रत्यक्ष कक्षामा उपस्थित भएर शिक्षण गर्दा भन्दा मोडलमा शिक्षण गर्दा शिक्षक तथा विद्यार्थीहरुले धेरै मेहनत गर्नुपर्ने बताउनु भयो ।