थाङ्का चित्रमा अवसर र चुनौति

प्रमिसा दाहाल

ललितपुर । थाङ्का बौद्ध दर्शनमा आधारित एक विशिष्ट चित्रकला हो। चित्रकला बाट सजिलै धर्म शास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीबाट थाङ्काको बिकास भएको थियो भन्ने धारणा पनि रहि आएको छ । त्यतिबेला भारतको नालन्दा विश्वविद्यालयमा यस विषयको अध्यापन हुँदा तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरुहरु शिक्षा लिन त्यहाँ जाने गर्दथे । तर तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरु पलायन भई उनीहरूको उद्देश्य फेरियो । उमेरका कारण उनीहरुले चित्र बनाउन नसक्ने भए भने उनीहरूका चेला चेलीले पनि यो दर्शन पूर्णरुपमा टिप्न सकेनन् । त्यस्तै भारतमा पनि आधुनिक शिक्षाका कारण यो कलाको अध्यापन रोकियो । नेपालमा भने गुम्बाहरुमा यो शिक्षा फैलँदै गयो । त्यसैले अहिले विश्व बजारमा बिक्री हुने ९५.५ प्रतिशत थाङ्का नेपाली हुन्छन् ।


हाल गोदावरी नगरपालिका वडा नं.११ सेराफाट्मा बसोबास गर्ने मरिचमान बोम्जनका दुई दम्पतिले विगत २५ वर्षदेखि घरेलु व्यवसायका रुपमा थाङ्का चित्रकला अंगाल्दै आएका छन् । बोम्जनले उक्त चित्रकला रामेछाप जिल्लाको सुनापती गाउँपालिकाबाट सिकेर आफ्नो जन्मथलो कोन्ज्योसोमको मगर गाउँमा यो पेसालाई निरन्तरता दिदँदै आएका छन् । उनकी श्रीमती सुष्मा लामाका अनुसार कोरोना कहरले सृजना गरेको लकडाउनको समयमा पनि उनको यो व्यवसाय रोकिएको छैन । यस कोरोना महामारीले कैयौं मानिस बेरोजगार भएका छन् । कैयौं कर्मचारी समयमा तलब नपाउँदा तथा श्रमको उचित मूल्यांकन नहुँदा आन्दोलनमा उत्रन बाध्य छन् । तर यो आफूले सञ्चालन गरेको घरेलु व्यवसाय हुँदा कसैको दबाबमा रहेर काम गर्नुपर्ने अवस्था र बेरोजगारीको चपेटामा भौतारिएर छट्पटिनु पर्ने अवस्था नरहेको लामा बताउँछिन् ।


यो एक पौराणिक कथामा आधारित चित्रकला हो, जुन बौद्ध धर्म संग सम्बन्धित छ । पहिले बौद्धमार्गीहरुले मात्र यो व्यवसाय अंगालेको भएतापनि अहिले अन्य जातिहरूले पनि यो व्यवसाय अंगालेको पाइन्छ । यसको प्रमुख कारण भने यसबाट मनग्य आम्दानी गर्न सक्नु तथा सबै जाति धर्म बिच धार्मिक सहिष्णुता रहेको कुरा लामा बताउँछिन् । सातवटा चरणमा एउटा पूर्ण थाङ्का चित्रकला तयार पार्न सकिन्छ । अहिलेको विश्व यान्त्रिकता सँग जोडिएको छ । विश्वमा रहेका सामग्री यन्त्र तथा उपकरणहरु बाट मात्र बनाइन्छ तर यस्ता हातद्वारा कोरिने चित्रकलाहरु भने कमै पाइन्छन् । थाङ्काको मुख्य विशेषता भनेकै हात द्वारा बनाउनु हो । यही विशेषताका कारण पनि विदेशीहरुले थाङ्का चित्रकला बढी रुचाउने लामाको भनाइ छ ।


थाङ्कामा विशेषगरी बुद्ध तथा भगवानका चित्र बनाइन्छ, जसलाई परम्परामा जस्तो थियो त्यस्तै चित्रमा उतार्नुपर्ने र त्यसलाई तोडमोड गर्न नपाइने हुँदा थाङ्का बनाउन कठिनाई रहेको उनी बताउँछिन् । अहिले पछिल्लो समयमा भने थाङ्कामा प्रकृति तथा वातावरण जस्ता विषयवस्तुलाई पनि समेटिन्छ । धार्मिक थाङ्का जस्तो प्राकृतिक थान्का रहँदैन । यो काल्पनिक हुन्छ ।
अहिले प्रविधिले विश्वलाई साँघुरो बनाएको छ । अचेल हरेक सामग्री अनलाईनका माध्यमबाट खरिद तथा बिक्री गर्न सकिन्छ । यदि अनलाईनका माध्यमबाट विश्व बजार सँग जोडिएर थाङ्का आफैंले बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिनेमा उनी विश्वस्त छिन् तर पनि नेपालमा प्रविधिको अभाव तथा भाषागत ज्ञान को समस्या हुनु र नेपाली बजारमा थाङ्काको उचित मूल्य नआउनु थाङ्का व्यवसायको मुख्य चुनौती हो । आफैंले भाषा नबुझ्दा बिचमा अर्को व्यक्ति राखेर सामग्री व्यापार गर्नु पर्दछ । तर पनि थाङ्काबाट मासिक रुपमा रू। एकलाख सम्म कमाइ हुने गर्दछ । सामग्रीको मूल्य कटाएर आफूलाई पचास हजार सम्म कमाइ बच्ने उनी बताउँछिन् । आफूले थाङ्का बनाउन लागेको समय र श्रमको मूल्य लिने हुँदा यतीमा पनि आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

सुन दलेर बनाइएको थाङ्का चम्किलो र महङ्गो हुन्छ भने सुन नदली बनाइएको थाङ्का सस्तो हुन्छ । परम्परागत धार्मिक विषयवस्तुलाई चित्रमा जस्ताको तस्तै उतारेर सात वटा चरण पार गरी थाङ्का बनाइने हुँदा एउटा थाङ्का बनाउन यति नै समय लाग्छ भन्ने यकिन गर्न नसकिने उनी बताउँछिन् । लकडाउन भन्दा अगाडि केही मानिसहरुलाई चित्र बनाउन रोजगारी पनि दिएका भोम्जनले हाल भने एक्लै थाङ्का बनाइरहेका छन् । बिस्तारै यसलाई व्यवसायिकता तर्फ उन्मुख गराउने पनि उनको सोचाई रहेको छ । आफूले बनाएको आँखा तथा नाक आकर्षित नदेखिने हुँदा अर्को व्यक्तिलाई दिनको पाँच हजार समेत दिएर आँखा तथा नाक बनाउन लगाएको उदाहरण दिँदै कला र क्षमता भएका व्यक्तिलाई यो फलदायक पेशाको रुपमा रहेको उनले विश्लेषण गरेका छन् ।
नेपालीहरु प्रविधिमैत्री हुन नसक्नु र नेपाली बजारमा थाङ्काको उचित मूल्य नपाउनु नै यस व्यवसायको चुनौती हो । प्रविधिसँग जोडिएर विश्व बजारसम्म थाङ्का व्यवसायलाई जोड्नु आवश्यक छ । यो व्यवसायलाई प्रवर्धन गर्दै युवा वर्गको ध्यान यसतर्फ आकर्षण गर्न सके राज्यको अर्थतन्त्रमा समेत दिगो विकास हुन्छ । तर पनि राज्यले यसतर्फ ध्यान दिन सकेको पाउन सकिदैन । यो थाङ्का व्यवसायीहरूको प्रतिनिधित्व गर्ने एउटा सानो उदाहरण मात्र हो ।