मंगलबजारमा ‘स्मार्ट’ शौचालय शुरु

ललितपुर । ललितपुर महानगरपालिकाको मंगलबजारमा अवस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालय पुनर्निर्माण गरिएको छ ।
ललितपुर महानगरपालिकाले एरोशान कम्पनीसँग सहकार्य गरि उक्त शौचालय बनाएको हो । विश्व शौचालय दिवसको अवसरमा शौचालय प्रयोग सुरु गरिएको छ ।
शौचालय जाँदा सिक्का लिएर जानु पर्छ । शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ । शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको रहेको छ । शौचालयबाट बाहिर निस्कदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्कन संकेत प्राप्त हुन्छ । त्यसपछि बाहिर निस्कन सकिन्छ । ट्वाइलेटको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ ।

फरक त के भने उक्त शौचालयमा महिलाका लागि स्यानिटरी प्याड पनि उपलब्ध रहेको छ । उक्त प्याड छ रुपैयाँ तिरेपछि प्राप्त गर्न सकिन्छ । प्रयोग भइसकेको उक्त प्याड विर्सजनको विशेष व्यवस्था गरिएको छ । शौचालयको औपचारिक शुभारम्भ कार्यक्रममा पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो नमूना सार्वजनिक शौचालय भएको बताए । पर्यटकीय स्थानमा पुनर्निर्माण गरिएको जस्तै सार्वजनिक शौचालय महानगरको अन्य स्थानमा समेत निर्माण गरिने उनले बताए। केहि समय पछि महानगरपालिकाले मोवाइल शौचालय समेत भित्राउने पनि बताए । उनले भने, तीन वटा मोवाइल शौचालयहरु महानगरले ल्याइसकेको छ । एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख प्रकाश अमात्यका अनुसार यो शौचालय पुनर्निर्माण गर्नका लागि करीब २५ लाख रुपैयाँ लागेको बताए । उक्त शौचालयबाट बायोग्याँस निकालिएको छ । उक्त ग्याँसबाट शौचालयका संचालकहरुले चिया खाजा पकाउँछन् ।