अनौठो ढुंगा सहित त्रिवेणी घाटले घेरीएको टीकाभैरव मन्दिर

प्रमिसा दाहाल \सुस्मिता अधिकारी

ललितपुर । गोदावरी नगरपालिका दक्षिण ललितपुरको केन्द्रमा रहेको छ ।जसलाई लेले, नल्लु र बुरून्चुली (बासुकी) बाट आएका त्रिवेणी खोलाले घेरीएका छन । यी त्रिवेणी खोला लेलेलाई लिलावती, बुरून्चुलीलाई चन्द्रावती र नल्लुलाई कलावतीको नामले पनि चिनीन्छ । हिन्दु परम्परा अनुसार मच्छिन्द्र नाथमा बोकीने चार भैरव मध्ये दायाँ पट्टीको अगाडिको भैरव यहाँ बसेका र परशुरामले यहाँ तपस्या गरेको मान्यता रहेको छ भन्ने बारे स्थानीय अम्बरनाथ महर्जनले बताए । यहाँ देख्दै आश्चर्य लाग्ने दुई ठूला ढुङ्गा रहेका छन् । परापूर्वकालमा यी दुई ढुङ्गा एकै रहेको तर राम वनवास जाँदा यहाँ बाँस बस्ने क्रममा उनले चिरेर दुईवटा ढुङ्गा बनाएको मान्यता रहिआएको स्थानीय राम प्रसाद बजगाईँले जानकारी दिए । २०३८ सालमा आएको बाढीले सबै बस्ती बगाएको तर यी दुई ढुङ्गा पुरीने पानी हुँदा पनि दुई मध्ये अगाडिको सानो ढुङ्गा लडाएको तर पछाडिको ठूलो ढुङ्गा उस्तै रहेकोले यहाँ ठूलो दैवी शक्ति छ भन्ने जनविश्वास रहेको छ । यो ढुङ्गा उठाउन धेरै प्रयत्न गर्दा पनि नसकेको र २०५७ सालमा बजगाईँले सप्ताह लगाएर उठाउँदा सहजै उठाउन सकेको कुरा बताए । अगाडिको सानो ढुङ्गालाई रामेश्वर र पछाडिको ठूलो ढुङ्गालाई भैरवको रूपमा मान्दै आएको पनि उनले बताए ।


यहाँ घैंटो राखिएको छ । जुन मन्दिरको विशेषता नै यही घैंटोमा रहेको र २०३८ सालमा आएको बाढीले यो घैंटो पनि बगाएर घ्याम्पे दह सम्म पुर्याउदा पनि नफुटेको र त्यही घैंटो ल्याएर मन्दिरमा पुनः राखिएको कुरा सुनिएको गोदावरी नगरपालिका वडा ६ का महिला सदस्य मैयाँ बजगाईँले बताईन् । चैत पूर्णीमाको दिन बर्सेनि यो घैंटो फेरीन्छ जसमा जल राखिने गरिन्छ ।
यहाँ दूध चढाए पछि घर पालुवा पशु बिरामी भएका ठिक हुनेछन् भन्ने मान्यताले दक्षिण ललितपुर लगायतका क्षेत्रबाट यहाँ दुध चढाउन आउँछन् । यहाँ पशु बलि पनि दिने चलन छ । तर दुध र रगत एकै ठाउँमा हुन नदिन बलि दिने क्षेत्र छुट्ट्याइएको छ । मन्दिर व्यवस्थापनका लागि भैरव समिति बनाइ रकम उठाएर मन्दिर सुधार गरौं भनी आग्रह गर्दा कसैले ध्यान नदिए पछि आपु चुप रहेको प्रति बजगाईँको गुनासो रहेको छ ।
पहिले मन्दिरको नाममा लगभग २० मुरी धान आउने तथा गुठीको नाममा प्रशस्त जग्गा भएको तर अहिले उक्त जग्गा का छ भन्ने थाहा नभएको र खोजी पनि नगरेको प्रति बजगाईँ दम्पती तथा महर्जनले चिन्ता व्यक्त गरे ।