के हो ‘ब्याड टच र गुड टच ?’ ध्यान दिऔं

हिजोआज बालबालिकासम्बन्धी अपराध बढ्दो छ । स साना बालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् ।बच्चालाई कसरी सुरक्षित गर्ने ? हामीले ध्यान दिन जरुरी छ । बालबालिका केवल माया मात्र बुझ्छन् । नियत ठम्याउन सक्ने गरी उनीहरुको मानसिक क्षमताको विकास भइसकेको हुन्न । यस्तोमा गलत व्यक्तिले गर्ने व्यवहार समेत उनीहरुलाई माया गरेको लाग्न सक्छ । वयस्क मानिसले माया गर्ने नाममा बालबालिकाको शरीरमा छुने गर्छन । कतिले गलत नियतले पनि छुनाले बालबालिकामा मनोवैज्ञानिक असर पर्न जान्छ । यसबाट जोगाउन बालबालिकालाई केही प्रशिक्षण दिन आवश्यक छ, जुन अभिभावकले सहजै घरमै सिकाउन सक्छन् ।सबै छुवाइ एकनास हुँदैन।कसैले राम्रो काम गरिस् भनेर टाउको थपथपाउँछ, हात मिलाउँछ भने त्यो राम्रो छुवाइ हो।केटा होस् वा केटी, शरीरका चार संवेदनशील अंगमा कसैले छुन्छ भने त्यो खराब छुवाइ हो। यो भन्दैमा आमाबाबुले साना छोराछोरीलाई नुहाइदिनु, माया गरेर चुप्पा गर्नु, डाक्टरले बिरामीको शरीर जाँच्नु खराब छुवाइ होइन।

आफूलाई नराम्रो लाग्ने गरी कसैले शरीरमा छुन्छन् भने त्यो खराब छुवाइ वा यौन दुर्व्यवहार हो । जबर्जस्ती चुम्बन दिन (लिन खोज्नु, आफूभन्दा सानालाई यौनसम्बन्धी भिडिओ देखाउनु वा हेर्न सिकाउनु, गोप्य अंग वा अप्ठ्यारो लाग्ने ठाउँमा हात हाल्नु र छुनु खराब छुवाइ हो। शरीरका अन्य भाग, जस्तै घाँटी, तिघ्रा, पेट, पैताला लगायत भागमा कहिलेकाहीँ लाग्न वा छोइन सक्छ। तर बारम्बार आफूलाई अप्ठ्यारो लाग्ने गरी सोही ठाउँमा छोइरहन्छ भने त्यो पनि खराब छुवाइ हो।

बालबालिकाले यी दुई खालका छुवाइ छुट्याउन सक्ने हो खराब नियतका मानिसबाट बच्न सकिनेछ। आफ्ना सन्तानहरुलाई गुड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिन्छ । उनीहरुलाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुन भाग ढाकिन्छ, ती नीजि अंग भएको तथा तीनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउनु पर्छ ।

बालबालिकाहरुलाई के पनि भन्नु पर्छ भने यदि कुनै व्यक्तिले उनीहरुका ती अंगहरुमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुवा, आमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नु पर्छ भनेर सम्झाउनु पर्छ ।

  • सेफ टचका बारेमा जानकारी

बालबालिकाहरुलाई सेफ टचका बारेमा पनि बताउनु पर्छ । जस्तो, जब बालबालिकाहरुलाई आमा अथवा उनीहरुका डाक्टरले उनीहरुको शरीरलाई छुन्छन्, त्यो उनीहरुले शरीरमा कुनै प्रकारको समस्या त छैन भन्ने कुराको परीक्षण गरेका हुन्छन् । तर, डाक्टरले पनि आमा,बुवाको उपस्थितीमा मात्र बालबालिकालाई छुन सक्नेछन् । त्यसप्रकारको टच सेफ टच मानिन्छ । यस बाहेक अरु कसैले पनि उनीहरुलाई छुन अथवा कपडा खोल्नका लागि भन्न सक्ने छैन ।

आजको बढ्दो अपराधका अनुसार बालबालिकाहरुलाई ती सबै चिजहरु सिकाउनु तथा बताउनु निकै अनिवार्य भैसकेको छ । आजको समयमा बालबालिकाहरु जति खुलेर रहन्छन्, त्यति नै उनीहरुका लागि तथा तपाईंका लागि पनि राम्रो हुनेछ ।

  • यसरी बालबालिकालाई सिकाउने गुड टच र ब्याड टच

बालवालिकालाई सानै उमेरदेखि नै उनीहरुको शारीरिक संरचनाको बारेमा पुर्ण जानकारी दिनु पर्छ । बालवालिकालाई उनीहरुको गोप्य अंग कुन हो र यी अंगहरुलाई अरु कोहिलाई छुन दिनु हुँदैन भन्ने सिकाउनुपर्छ ।

बालबालिकालाई उनीहरुको शरीरमा केवल उनीहरुको मात्र अधिकार हुन्छ र कसैले पनि ति अंगहरुमा जबर्जस्ती टच गन सक्दैन । यदि कसैले जबर्जस्ती टच गर्न खोज्छ भने तुरुन्त आफ्नो आमाबुबालाई बताउनु पर्छ भन्ने कुरा सिकाउनु पर्छ ।

बालबालिकालाई उनीहरुको शरीरको बनावटको बारेमा बताउनु पर्छ र ती कुराहरु बताउँदा सही भाषाकोे प्रयोग गर्नु पर्छ । यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउनु पर्छ । यसरी गुड टच र ब्याड टच बारे आफ्ना बालवालिकालाई बुझाउन सक्यो भने पनि बाल हिंसा र अन्य दुर्घटना न्यूनिकरण गर्न सहयो पनि पुग्न सक्छ भने यसले उनीहरुमा सानै देखि सामाजिक चेतना समेत प्रवाह हुन सक्छ ।

– निर्जला सिजापति