कस्तो समाजसेवा,जहाँ क्यामेरा बिना सहयोग हुदैन

हामी मानिस सामाजिक प्राणी हौ,हामी समाजबाट छुट्टिएर बस्न सक्दैनौं ।हामी सामाजिक प्राणी भएकाले अरु कसैलाई दुःख पर्दा आफैंलाई दुखेको महशुस गरि निस्वार्थ भावले सहयोग गर्ने ब्यक्ति समाजसेवी हुन्छ। तर समाजसेवा जस्तो पवित्र कुरा आज दिनदिनै कलंकित हुदैछ। समाजसेवा त फेसन, सामाजिक सञ्जालमा भाईरल हुने चलखेल भइरहेको छ। कहि एक कोसा केरा दिएर पनि भाईरल भएको दृश्य देखियो । समाजसेवाको अर्थ हुन्छ, निस्वार्थ रुपमा गरिने सेवा,हामी सामाजिक प्राणी हौ समाजसेवा मानवतासंग सम्बन्धित हुन्छ,र मानवताप्रति देखाईने श्रद्धा नै समाजसेवा हो।अहिले कोरोनाले सारा संसार रुवाइरहेको बेला संक्रमण नफैलियोस भनेर सरकारले लकडाउन गरेको छ ,र दिनहु ज्याला मजदुरी गरेर खाने परिवारहरुलाई समस्या आईपरेको छ। यतिबेला आफैले आफैलाई समाजसेवी भन्ठान्नेहरु राहत वितरणमा खुब तल्लिन छन्। म उनीहरुलाई प्रश्न गर्न चाहन्छु,

कसैलाई सहयोग गरेको देखाउन राहत बाढ्दै फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा हालेर गरिबिको मजाक उडाउनु के साच्चिकै समाज सेवा हो ?

असली समाजसेवी ती हुन् जस्ले सेवाको बद्लामा फाईदा लिदैनन् असली समाजसेवीहरु त लुकेका छन् किनकि उनीहरु पत्रकार भेला गरेर फोटो भिडियो खिचेर देखाउदै हिड्दैनन, उनीहरु त निस्वार्थ भावले सहयोग गर्छन् र गुपचुप भएकाछन् ।भनिन्छ :दान वा समाजका लागि गरेको सेवा एक हातले दिएको अर्को हातलाई थाहा नहोस् ।

तर आजकल फोटो खिच्नकै लागि समाजसेवा गरेको जस्तो देखिन्छ । नेपालको सन्दर्भमा निस्वार्थ सेवा गर्नेको संख्या निकै कम छ। निःस्वार्थ सेवाको उदाहरण नेपाल धर्तीमा गौतम वुद्धले दिनु भएको छ । सेवाका नाममा नेपालमा व्यापक शोषण छ ।

हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ । राजधानी सहरको प्रमुख ठाउँ टुँडीखेल ,वा देशका मुख्य मुख्य सहर र हस्पिटल वरपर क्यान्सर रोगी, मृगौला रोगी, मुटुरोगी र उनका परिवार चन्दा माँगेर बाँचेका छन् । कुनै पनि समाजसेवीको त्यसतर्फ ध्यान गएको छैन । पीडितहरूको सेवामा कुनै पनि संघसंस्था र समाजसेवीले चिन्ता र चासो लिएको पाइंदैन ।पीडितको नाममा आएको राहत सामग्रीमा र्‍याल चुहाउने समाज सेवाका क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूको पनि कुनै कमि छैन । अन्य क्षेत्रमा झैं समाज सेवाको क्षेत्रमा पनि विकृति र विसंगति छ ।खहरे खोलाजस्ता समाजसेवीहरुकोे देखाउने दाँत एउटा छ भने चपाउने दाँत अर्को छ । समाजको समृद्धि र विकासका लागि सामाजिक कार्य हुन जरुरी छ । तर देखाउनलाई र हल्ला गर्नलाई मात्र समाजसेवा आवश्यक छैन ।

सामाजिक न्यायका पक्षमा समाजसेवा हुनु पर्छ । समाजसेवामा सामाजिक इमान्दारिताको खाँचो हुन्छ । समाजको आवश्यकता र नागरिकको मागलाई सही ढंगले सम्बोधन गर्न सक्ने समाजसेवी बन्नु पर्छ ।यस्ता नक्कली समाजसेवीलाई राज्यले तुरुन्त एउटा सिस्टममा ल्याउनुपर्छ । समाजमा जथाभावी जे पायो त्यही गर्न दिनुहुँदैन । राहतका नाममा जथाभावी जसलाई पायो, त्यसलाई बस्तुको वितरण गर्न दिनुहुँदैन । एकद्वार नीति अवलम्बन गरी जसलाई अत्यावश्यक छ, उसलाई मात्र राहत उपलब्ध गराउनुपर्छ ।

अन्तर्मनदेखि समाजसेवा गर्ने चाहना हुनेले राज्यको नीति नियमभित्र रहेर गर्नुपर्छ । सरकारले कानुन बनाएर समाजसेवीलाई पहिचान गरी उनीहरुको क्षमता र कार्यमा आधारमा श्रेणीबद्ध गरी समाजसेवाको मार्गलाई अगाडि बढाउन जरुरी देखिन्छ ।

एउटा माक्स लगाएर पाँच दश के।जी.चामल र दुई र तीन लिटर खाने तेल बोकेर एक दुई गाउँ टोल कुदेर फोटो खिचेर सामाजिक सञ्जालमा चर्तिकला देखाउने काम समाजसेवा होइन । बेलैमा सबै सचेत हौं ।

विवेक मानवको गुण हो । दया, करुणा मानवको स्वभाव हो । सेवा यसको उपज हो । मानवको स्वभाव र गुण देखाँउदा कोहीले फोटो खिचो्स् त्यसमा पनि हाम्रो भन्नु छैन । तर गरिवि र दुखी प्रतिको भावनात्मक मनलाई कसैले पनि नखेलोस् । प्रत्येक मानवले सेवाको भाव देखाउनुपर्छ । समाजमा रहेका असल सेवीहरुलाई सहयोग गरौं । वास्तविक समाजसेवीलाई प्रोत्साहन गरौं । समाजसेवालाई देखाउने र माग्ने भाँडो नबनाऔं ।

निर्जला सिजापति ( स्वतन्त्र लेखक )