आज ऋषि पंचमी, यसपाली घरमै स्नान पुजा

भाद्र शुक्लपक्षको पंचमी (ऋषि पंचमी) जुन महिलाको लागि अति नै महत्व मानिन्छ । शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस् कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ भन्ने चलन छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका) तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश गरिन्छ।

यस व्रतमा ब्रतीले हलोले नजोतेको, कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पुजा सकिएपछि कर्कलोको साग, समाको भात खाने चलन छ । यस व्रतमा साग,नीवारहरु,साँवा (श्यामाक), कन्दमूल फलफूल बाहेक अरु कुरा खाइन्न । हलो, कोदालो द्वारा उत्पन्न चिज बिज अन्नपात खाइदैन।वैदिक सनातन हिन्दु परम्परा अनुसार हाम्रो रीतिरीवाजको सहि प्रयोग गर्नु आजको आवश्यकता हो । कोरोनाको महामारीले गर्दा सुरक्षित तवरले यसपाली आफ्नो घरमै एकाघरका परिवार मात्र रहेर मनाउनु पर्ने अवस्था आएको छ । ऋषि पंचमीको शुभकामना