आज हरितालिका तीज

प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीया देखि पञ्चमी सम्म मनाइने तीज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हिन्दु नारीहरूले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तीजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा समेत बिस्तारै प्रभाव पर्न थालेको देखिन्छ । केहीवर्ष अघिसम्म आर्यन र हिन्दु महिलाले मात्रै मनाउने तीज हिजोआज राजधानीका नेवार, गुरुङ, राई, लिम्बू लगायतका महिलाले पनि मनाउन थालेका छन् । असार–साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरीचेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाएर रमाइलो गर्ने अनि व्रत बस्ने परम्परा पनि बदलिन थालेको छ । विगतमा बढीमा ३ दिनसम्म मनाइने तिज पहिल्ला वर्षहरूमा २ र ३ हप्ता अघिदेखि नै भेटघाट, रमाइलो गर्दै दरखाने अनि नाचगान गर्ने कार्यक्रमका साथ मनाउन थालिएको देखिन्छ ।


बर्खाको हिलो, झरीबाट पार पाएपछि माइतीघर जाने आमाबुबा, आफन्तसँग भेटघाट गर्ने, दुःखसुखका कुरा गर्ने महिलाहरू सबै आप्mनो दुःख पीडा बिर्सिएर तीजमा रमाइलो गर्छन् । आप्mनो जन्मघर, मातापिता, भाइबहिनी, बालसखा, आफन्त, छिमेकीसँग आत्मियता साट्ने अवसरसमेत तीजले जुराएको छ चेलीहरूलाई । तीजमा दरको रूपमा खिर, पुलाउ, आफुलाई मनपर्ने सेलरोटीलगायत मीठामीठा शाकाहारी परिकार बनाएर खाने चलन छ ।तर हिजो आज माछा मासु समेत खाएको देखिन्छ जसलाई गलत चलन चलेको भन्दै धर्ममा विज्ञहरु बताउँछन् । तीजले छोएका महिलाहरू सडक, बजार, मन्दिर, पसल, टोल सबैतिर रातो साडी, हातभरी राता पहेँला चुरा, निधारमा रातो टीका, अनि छड्के तिलहरी लगाएर कम्मर मर्काउँदै नाचिरहेका भेटिन्छन् ।तर यसपाली कोरोना महामारीको कारणले गर्दा घरमै रमाईलो गरि मनाउन बाध्य छन् ।
तीज नारीहरूले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने चाडका रूपमा पनि प्रचलित छ । यो पर्वमा विवाहित हिन्दू महिलाहरू पतिको दीर्घायू, घरपरिवारमा सुख समृद्धि एवं सफल दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिहरू असल जीवनसाथीका लागि व्रत बसेको पाइन्छ । यो पर्वमा सौभाग्य सामग्रीहरू छड्के तिलहरी, सिन्दुर, राता पहँेला पोते एवं सोही रंगका पहिरनमा सजिएका हुन्छन् । हरितालिका तीजका रूपमा चर्चित यो पर्वमा अघिल्लो रात दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने चलन छ । व्रतको दिन महिलाहरू भेला भएर स्वतन्त्रता, न्याय र समानताका गीत गाउँदै नृत्य गर्ने गर्छन् । त्यसैगरी तीजमा सौभाग्यका प्रतीक चुरापोते एवं नयाँ लुगा कपडा पनि छोरीचेलीलाई उपहारका रूपमा माइतीले दिने चलन पनि छ । यसले गर्दा चेली र माइतीको सम्बन्धलाई समेत प्रगाढ गराउने गर्छ ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी तनावको बोझले थिचेका बेला केही समय त्यसबाट मुक्ति दिलाउने पर्वको रूपमा पनि तीज मनाउने गरिएको हो भनि समाजशास्त्री हरु बताउँछन्। तीजमा माइती एवं बाल्यकालका साथीसंगीसँग भेटेर गाउँदै नाच्दा, रमाइलो गर्दा जीवनका पीडा भुल्ने अवसर चेलीबेटीले पाउने भएकोले गीत एवं नाचगानको चलन सुरु भएको हो । पतिको दीर्घायुको कामना व्रतालु आपैm पीडित भएर गर्नु ठीक हँुदैन ।


हिजोआज तीजले छोएका महिलाहरू विभिन्न स्थानहरुमा रातो साडी, हातभरी राता पहेँला चुरा, निधारमा रातो टीका, अनि छड्के तिलहरी लगाएर कम्मर मर्काउँदै नाचिरहेका भेटिन्छन् । वास्तविक भोगाइका अनुभूतिहरूलाई तीजमा नारी समुदायले रमाइलो गरेर सुनाउने परम्परागत संस्कृति नै तीजे गीत हुन् । तीजमा विशेषगरी विवाहितहरू पतिको उन्नति प्रगति एवं दीघार्युको कामना गर्दै व्रत बस्छन् भने अविवाहितहरू सुयोग्य एवं सक्षम वरको कामना गर्ने गर्छन् ।
तीजका दिन महिलाहरू व्रत बस्ने साथीसंगीसँग भेटघाट गरी नाचगान गर्दै रमाइलो गर्छन् भने चौथीका दिन स्नान गरी व्रतपारायण गरेपछि खाना खान्छन् । तेस्रो दिन ऋषिपञ्चमी पर्ने भएकोले त्यसदिन ३ सय ६५ वटा दतिवनका टुक्राले दाँत माझेर नजिकैको नदी, तलाउ, धारा अर्थात कुवामा गई स्नान गर्दा वर्षभरि जानीनजानी गरिएका पाप पखालिने जनविश्वास छ । त्यसपछि सप्तऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खानुपर्ने धार्मिक मान्यता रहिआएको छ । त्यसैगरी तीजको समयमा महिलाले लगाउने कपडालाई पनि धार्मिक मान्यतासँग जोडिएको छ । रातो साडीलाई सुख समृद्धि र साहसको प्रतिक, पोतेलाई शान्ति एवं शीतलताको र रातो टीकालाई सौभाग्यको प्रतीक मानिँदै आएको पाइन्छ ।