आज गणेश चतुर्थी , चन्द्रमा हेरे चोरीको आरोप लाग्ने !

शिवपुत्र गणेशको जन्मोत्सवका रूपमा आज गणेश चतुर्थी मनाइँदै छ । यस दिन मरु टोलको अशोक गणेश (मण्डप गणेश), रानीपोखरीको कुनामा रहेको सोह्र हातयुक्त बुद्धिगणेश र कमलादी स्थित कमलविनायक मन्दिर लगायतका गणेश मन्दिरमा गणेशको जन्मोत्सव मनाउने गरिएकोमा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन। यसैले घरमै गणेशको पूजा आराधना गर्नुपर्ने छ। ।
नेवार समुदायमा भने यस पर्वलाई ‘चथा’ भन्दै भिन्नै प्रकारले मनाउने गरिन्छ । उनीहरूले राति सडकमा भुस्याहा कुकुरले भुकेपछि घरको कौशीको एक कुनामा लिपपोत गरी कमलको पात बिछ्याई त्यसमा कमलको फूल, क्वँचा स्वाँ र चथा स्वाँ (दुवै एक प्रकारको फूल) अदुवाको बिरुवा, आरूको बियाँका साथै भुटेको गेडागुडी, काँक्रो, नासपाती, केरा आदि फलफूल चढाई चन्द्रमाको पूजा अर्चना गरी मनाइन्छ । यसो गरेमा चोरको मिथ्या दोष लाग्दैन भन्ने उनीहरूको विश्वास रहँदै आएको छ ।

पूजा सकिएपछि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर भुटेको गेडागुडी लगायत आरूको बियाँ प्रसादका रूपमा खाने चलन छ ।
यसरी चन्द्रमा र गणेशको पूजा गर्ने परम्परा रहेको सम्बन्धमा परापूर्वकालमा एक दिन
देवसभामा गणेश पुग्दा चन्द्रमाले उनलाई हात्तीको मुख भएको भनी धेरै गिल्ला गरेका थिए । त्यसरी गिल्ला गरेकाले गणेश अत्यन्त रिसाइ चन्द्रमालाई तेरो मुख हेर्ने सबै चोर होस् भनी सरापेका थिए ।
त्यस सरापले गर्दा कसैले अनुहार नहेरेपछि चन्द्रमा लाजले भुतुक्क भएका थिए । त्यो कुरा थाहा भएपछि महादेव लगायत सबै देवता गणेश कहाँ पुगी मूला, लड्डु, दूध, हरियो दुबो आदि चढाई चन्द्रमालाई माफ गर्न निवेदन गरेका थिए । आफ्ना पितासमेतले त्यसरी माफ दिन जोड गरेकाले गणेशले भाद्र शुक्ल चतुर्थीमा बाहेक अरू दिन चन्द्रमालाई हेरे सराप नलाग्ने भनी माफ गरेका थिए । त्यसैले यस रातमा चन्द्रमालाई हेरेमा चोरीको मिथ्या दोष लाग्छ भन्ने डरले चन्द्रमालाई नहेर्ने गरेको र गणेशको पूजा गरेको भन्ने लोक कथन छ ।
शास्त्रमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णलाई पनि चोरीको आरोप लागेको थियो । सत्राजित नाम गरेका राजाले श्रीकृष्णलाई मणि चोर दोष लगाएका थिए । सत्राजितलाई सुर्यले खुसि भएर स्मन्तक नामको मणि दिएको शास्त्रमा उल्लेख छ । सत्राजितको दरवारमा आवतजावत गर्ने र मणि चोर्नको लागि श्रीकृष्ण बाहेक अरुमा आँट नहुने भन्दै राजाले उनलाई दोष लगाएका थिए । तर सत्राजितको प्रसेन नामको भाईले मणि भिरेर शिकार खेल्न गएका रहेछन् । शिकार खेल्न जाँदा भाईलार्ई सिंहले मारेछ । त्यसै रहेको मणिलाई जंगलकै जाम्बवान् नाम गरेको भालुले बच्चा (छोरी) लाई खेलाउन भनेर आफ्नो गुफामा लगेछन् । यसैबिचमा श्रीकृष्ण आफु दोषीको आरोप परेपछि स्वयंम् मणि खोज्न थाले । उनले सत्राजितको भाईको कुरा थाहा पाएपछि जंगलमा खोज्न गएछन् । भाई मरेको देखेपछि भालुको पाईला हेर्दै खोज्न जाँदा गुफासम्म पुगे । भालुको छोरीले खेलेको देखेपछि खोस्न लाग्दा भालुसंग युद्ध भयो । २८ दिनसम्म युद्ध भएको कुरा श्रीमद्भागवत्मा दशमस्कन्धको ५६ मा अध्याय उल्लेख गरिएको छ । युद्धमा भालुलाई जितेपछि भालुले मणि सहित आफ्नी छोरी जाम्ववती समेत दिएर पठाएका थिए । श्रीकृष्णले उक्त मणि द्धारकाको सभामा सबै कहानि बताई राजालाई दिई आफ्नो चोरीको आरोप मेटाएको कुरा उल्लेख छ । यसै बिचमा राजा सत्राजितले पनि आफुले गलत आरोप लगाएको भन्दै माफ मागि खुसि भई आफ्नी छोरी सत्यभामा पनि दिएको कुरा शास्त्रमा उल्लेख छ । त्यसैले यस गणेश चौथीको दिन चन्द्रमा हेर्यो भने वर्षदिन भरिमा कुनैबेला पनि चोरीको आरोप लाग्न सक्छ भन्ने कथन पनि रहेको छ ।