प्रमिसा दाहाल
अहिले विश्वभरी कोभिड १९ ले प्रभाव पारीरहेको छ । देशको सामाजिक, आर्थिक तथा राजनैतिक अवस्थामा प्रभाव पारेको छ । त्यस्तै लामो समयको लकडाउनले बाल मनोविज्ञानमा पनि उस्तै प्रभाव पारे्को देखिन्छ । कोभिड १९ ले कुन क्षेत्रमा कति प्रभाव पारेको छ ? यो त भन्न सकिँदैन तर पनि यसले बाल मस्तिष्कमा पनि ठूलो प्रभाव पारेको देखिन्छ । नेपालमा १८ वर्ष मुनिका लाई बालबालिका मानिन्छ ।
लकडाउन सुरु भएको करिब २ महिनामा १३८ जना बालबालिकाहरुले आत्महत्या गरेको तथ्याङ्कं छ । त्यसो त नेपाल धेरै नै आत्महत्या गर्ने देश मध्येमा एक पर्छ । नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्दा पनि औषत दिनमा १५ जनाले आत्महत्या गर्छन् । तर लकडाउनमा यो सङ्ख्या बढेर १८ पुगेको छ । जसमा बालबालिकाको सङ्ुख्या पनि अधिक पाइन्छ ।
सकारात्मक रुपमा दृष्टिगत गर्दा लकडाउनले पारिवारिक सम्बन्ध तथा अभिभावकसँग बालबालिकाको निकटतालाई बढाएको थियो । पारिवारिक व्यस्तता तथा बालबालिका पनि विद्यालयमा ब्यस्त हुनाको कारण बालबालिका र अभिभावक बिच एक अर्काको लागि लामो समय हुँदैन थियो तर लकडाउनका कारण बालबालिकाहरुले आमाबुबा सँग समय बिताउन अवसर पाएका थिए । यस्तो अवस्थामा पनि बालबालिकाहरु यस्तो नकारात्मक कदम उठाउन किन अग्रसर भए त ? भन्ने कुराले सोचनिय बनाएको छ ।
अभिभावकासँग बस्न पाउँदा बालबालिकाहरु खुसी हुनुका साथै घरमा बालमैत्री वातावरणको विकास हुनुपर्ने भएता पनि यस्तो हुन सकेको छैन । अझ यो अवधिमा आत्महत्या गर्ने बालबालिकाहरुको संख्या बढिरहेको छ । बालबालिकाहरुले किन आत्महत्या गरे भन्ने कुनै कारण फेला नपरेको भएता पनि हाम्रो सामाजिक तथा पारिवारिक संरचनालाई आधार बनाएर केही कारण भने पहिल्याउन सकिन्छ ।
-लकडाउनका कारण परिवारमा उत्पन्न हु्ने घरायसी हिंसा तथा कमजोर आर्थिक अवस्थाले असर पारेको कारण ,
-विद्यालयहरु बन्द हुँदा तथा सामूहिक रुपमा भेटघाट गरि खेल्ने वातावरण नबनेको हुँदा एक्लोपनको महसुस भएका कारण,
-बालबालिकाले अधिकांश खाली समय इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरेर बिताउने हुँदा, यस्ता माध्यमबाट प्रसारित नकारात्मक तथा भ्रामक सामग्रीहरुले बालबालिकाहरु भयभित भएका कारण,
-इन्टरनेटले बालबालिकालाई अर्धैर्य बनाइदिँदा आफ्नो माग र पारिवारिक आर्थिक अवस्था बिच मेल नहुँदा आवेशका कारण गलत निर्णयमा पुग्न सक्छन् ।
बालअधिकार मध्य बाँच्न पाउनु पनि एक भएकोले बालबालिकालाई बालमैत्री वातावरण निर्माण गरी बाल मनोविज्ञानमा असर पर्न नदिनु हाम्रो दायित्व हो । बालबालिकाले आफ्नो जीवनको अन्त्य आफै गर्नु एक संवेदनशील विषय हो । यसमा बालबालिकाको मनोविज्ञान बुझेर उनीहरुका लागि उचित वातावरण निर्माण गनुर्् आवश्वयक छ ।
यसरी बालवालिकाको उमेरमै हुने आत्महत्या बढी रहँदा भविष्यमा आउने संकट कठिन हुन्छ । यसले पारिवारीक र सामाजिक जिम्मेवारी माथि प्रश्न उठ्छ । बालबालिकाको समस्या बुझ्न तथा सुन्न कतिपय देशहरुमा हटलाइन सेवाको व्यवस्था भएता पनि नेपालमा यस्तो व्यवस्थाको संयन्त्र नहुनुले हाम्रा भावी सन्तती प्रती राज्य जिम्मेवार हुन नसकेको भन्ने शंङ्का पनि उत्पन्न हुन सुक्छ ।
लकडाउनको समयमा बालबालिकाले धेरै जसो समय पारिवारिक वातावरण भित्र बिताउने हुँदा उनीहरुमा अभिभावकको बोली तथा व्यवहारले प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । यस अवस्थामा बालबालिकालाई एक्लो हुन नदिन अभिभावकले साथीको भूमिका खेली उनीहरुको समस्या, मनस्थिती, खाने, खेल्ने तथा सुत्ने क्रियाकलापका बारेमा बुझ्नु आवश्यक छ ।
भनिन्छ बालवालिकाहरु भविक्ष्यका कर्णद्धार हुन् र आजको विकासका साझेदार पनि हुन् । नेपालमा लगभग ४२ प्रतिशत जनसंख्या बालवालिकाको रहेका छ । यसरी हेर्दा राज्यले यति धेरै संख्या भएका बालवालिकालाई बेवास्ता गर्न नसक्ला तर पनि ध्यान भने कम गएको देखिन्छ । अझ यस्तो जटिल परिस्थितिमा बालवालिकामा विशेष कार्यक्रम गर्न ल्याई तल्लो तहसम्मकालाई प्रभाव पर्ने कार्यक्रम ल्याउन आवश्यक छ । नभए जो गरिवि र पछाडि परेका छन् उसैले धेरै यस्तो समस्या भोग्नु परेको देखिन्छ । धेरै स्थानीय सरकारले पनि यो विषयमा कमै सोचेको देखिन्छ । त्यसैले बालवालिकाको मनस्थितिमा सकारात्मक सन्देश प्रवाह गरि भोलिको सभ्य र समृद्ध राष्ट्रको लागि पनि सोच्न जरुरी छ । हामी अभिभावकले पनि
विशेष गरी बालबालिकालाई अभाव र समस्यासँग जुध्न सिकाउने, आशावादी र उत्साहित हुन प्रेरित गर्ने र जीवनोपयोगी ब्यवहार सिकाउने हो भने उनीहरुमा सानो कुराबाट भयवित नहुने बानी सिर्जना हुन्छ । त्यसैले बालबालिकासँग अधिकांश समय बिताउने, मनोरञ्जनात्मक क्रियाकलाप गर्ने, बालबालिकालाई पारिवारिक समस्या अवगत गराइ भोक, कष्ट, अभावसँग लड्न सिकाउन सके बालबालिकाहरु हतोत्साही हुने छैनन् र यस्ता गलत निर्णय पनि लिने छैनन् ।
Leave a Reply