पहिरोले शङ्खुमा मच्चियो खानेपानीको हाहाकार

प्रमिसा दाहाल

ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शङ्खुमा श्रावणको पहिलो हप्ता देखि वर्षाका कारण रातोमाटेमा गएको पहिरोले पानीको पाइप फुटेपछि गाउँमा खानेपानीको हाहाकारभएको हो ।
बाइस दिनको लामो प्रयास पश्चात बल्ल गाउँमा गत मंगलवार खानेपानी आउन थाले पनि पुनः पहिरोका कारण आजबाट फेरी पानी बन्द भएको छ । वडा कार्यालयले खानेपानी व्यवस्थापन समिति बनाएर काम गरे पनि पाइप चोरी हुने तथा पाइप फुट्ने जस्ता समस्याका कारण गाउँमा पानी ल्याउन समस्या भएको कुरा स्थानीयबासी मन्दिरा बजगाईँले बताईन्।

खानेपानी आउन छोडेपछि स्थानीयवासी आकाशे पानीको भरमा छन् भने कोही एक घण्टाको बाटो हिडेर खानेपानी ल्याउन बाध्य छन् ।तर आकाशे पानी पनि नपरि दिँदा अधिकांश वस्तुभाउ पालन गर्ने किसानहरु समस्यामा परेका छन् । लामो समय पछि गाउँमा पानी पुगेता पनि पुनः खानेपानी आउन बन्द भए पछि स्थानीयको पलाएको आशा पनि टुटेको छ ।

“पानी ल्याउने दुरी टाढा भएकोले पनि स्थानीयले यस्ता समस्या भोग्नु परेको छ” स्थानीय बजागाईँ भन्नु हुन्छ । यहाँ सत्र किलोमिटर टाढा रहेको काभ्रे जिल्लाको ढुङखर्कबाट पाइप बिच्छ्याएर पञ्चायत कालमा चित्रराज सञ्जेलको पहलले गाउँमा पानी ल्याइएको स्थानीयहरु बताउँछन् । हाल यस पानी शङखुका ६०० भन्दा बढी घरधुरीले प्रयोग गरिरहेका छन् । समस्या समाानका लागि बजेटको इष्टिमेट भईरहेको र यसलाई फाईनल गरेर पालिकामा बुझाउने योजना रहेको वडा अध्यक्ष धुर्वप्रसाद घिमीरेले बताए । जनताले कहिले खानेपानी पाउँछन् भन्ने प्रश्नमा उहाँले यसै समय तोक्न नसकिने बताए ।

गाउँमा पानी ल्याउनु भन्दा पहिलेको अवस्था निकै संघर्षशिल रहेको कुरा स्थानीयबासी सुरेश शर्मा (बजगाईँ) ले जानकारी दिए । उहाँका भन्नुहुन्छ “उहिले टोलमा पोखरी निर्माण गरि
आकाशे पानी सङ्कलन गर्ने तथा एक घण्टा सम्म हिडेर पधेँराबाट पानी ल्याउनु पर्ने अवस्था थियो ।” तर हाल यी पोखरीहरु अतिक्रमण गरि अवशेष मात्र बाँकी रहेको पाइन्छ ।

यसरी स्थानीयहरु भावी पुस्ताले यती लामो दुरीदेखि खानेपानी अहिलेकै अवस्थामा ल्याउने सम्भावना कम भएकाले आफ्नै गाउँमा वैकल्पिक उपाए खोजी गर्न यो समस्या भोग्नु नपर्ने बताउँछन तर वडा अध्यक्ष घिमीरेले यसको वारेमा हाल कुनै योजना नभएको जानकारी दिए ।