पशुपतिक्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त) सार्वजनिक

काठमाडौं ः पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त) नामक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच अनुसन्धान ग्रन्थ नामक प्रतिवेदन सार्वजनिक गरेका हुन्।

 

मन्त्री भट्टराईले पशुपतिसँग नेपालको पहिचान जोडिएको छ, पाशुपत क्षेत्रको ऐतिहासिकता पनि छ। पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा नामक अनुसन्धानात्मक प्रतिवेदनले पाशुपत क्षेत्रका सम्पदा जोगाउँदै यस क्षेत्रलाई विश्वव्यापी बनाउन कोष लागि परेको र सोही क्रममा गुरुयोजनालाई अन्तिम चरणमा पुर्‍याइएको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले शिवको वैदिक पद्दतिबाट पूजाआजा हुने भएकाले पशुपतिनाथको महत्व विशेष रहेको बताए। कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति एकपटक पुग्नैपर्ने स्थल भएकाले सोहीअनुसार समग्र विकास गर्न गुरुयोजना तय गरिएको बताए।
कोषका कोषाध्यक्ष एवं प्रकाशन समिति संयोजक डा. मिलनकुमार थापाले सरकारले गुठी संस्कृति जोगाउन उच्चस्तरीय नेपाली संस्कृति संरक्षण समिति गठन गर्नुपर्नेमा जोड दिए। उनले भने, यसैगरी पाशुपत क्षेत्रका नौ डबली, नौ इनार, नौ पोखरी, नौ चउर र नौ ढोकाको संरक्षणका लागि पनि समिति बनाएर अध्ययन अनुसन्धान गर्नुपर्छ।ु उनले पशुपतिनाथको जग्गा संरक्षण र गुरुयोजनाका काममा अनावश्यक धाकधम्की आउने गरेको पनि गुनासो गरे। पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदाको त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागले अनुसन्धान गरेको हो भने ग्रन्थमा प्रधानसम्पादक प्रदीप ढकाल र मिलनकुमार थापा, कार्यकारी सम्पादक प्राडा सोमप्रसाद खतिवडा र गोपीकृष्ण ढुंगाना छन्। ग्रन्थ सात सय पृष्ठको छ। कार्यक्रममा मन्त्री भट्टराईले कोषको आधिकारिक वेवसाइट, मोबाइल एप्स र सोसल मिडिया प्लेटफर्मको पनि उद्घाटन गरेका थिए।