भीडमा एक्लै हराइरहेको छ
जिन्दगीसँग डराइरहेको छ
दोसाँधमा विषादको भारी बोकेर
बाँच्नु र मर्नुको दोधारमा छ, मान्छे
दिनप्रतिदिन नूतन खोजको
अन्वेषणमा रुमलिरहेछ
आफ्नै चेतन रहस्यमयी यात्रामा
गन्तव्यहीन डुलिरहेछ, मान्छे
सत् असत्को पहाड बोकेर
जोड घटाउ एकैसाथगर्दैछ
चिन्दैन आफ्नै प्रतिबिम्ब तर
अरूलाई नग्याउन व्यस्त छ, मान्छे
सत् चित् आनन्दको खोजीमा
ठुला–ठुला ठेलीहरू पल्टाउँदै छ
आफैभित्रको सुगन्ध चिन्न नसकेर
कस्तुरी भई भौतारिरहेछ, मान्छे ।।।

भावना पराजुली
काठमाडौं, नेपाल
bhawanaparajuli29@gmail.com








Leave a Reply