रहेनन् नेपाली बाबा

काठमाडौं । श्री जगदाचार्य नेपाली बाबा भनेर चिनिने तेजनाथ शर्माज्यू को निधन भएको छ । ६९ वर्षीय बाबाको सोमवार राति  ८ः५५ बजे विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको हो भने हिजो (मंगलवार)  दिउँसो १२ः३० बजे पशुपति आर्यघाटमा उहांको अन्तिम संस्कार गरिएको थियो ।

शित युद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गर्नुभएका शर्माले वि.सं २०२८ सालदेखि अन्न भोजन समेत त्याग गर्नुभएको थियो । उहाँले वि.स २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गर्नुभएको थियो धर्मो रक्षति रक्षितः’ अभियान थाल्नुभएका शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गर्नुभयो । फलफूलमात्र खाने गरेका उहाँलाई त्यागी पण्डितका रुपमा पनि व्याख्या गरिन्थ्यो।

उहाँले सनातन वैदिक परम्परालाई आदर्श मानेर अथक साधना गर्दै जगदम्बा विन्ध्यवासिनीको आराधना गरी चन्द्रागिरी नगरपालिका स्थित सतुंगलमा विंध्यवासिनी आध्यात्मिक संघ, विन्ध्याश्रमको स्थापना गरी अखण्ड हवन गराइरहनु भ‌एको छ । हिमालयदेखि कन्याकुमारी सम्म, मेचिदेखि महाकाली भक्तजनका साथमा पैदल यात्रा गरी नेपाल भारतमा मात्र हैन संसारभरि नै आध्यात्मिक जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभ‌एका परम तपस्वी आध्यात्मिक साधक नेपाली बाबाको निधनले वैदिक सनातन धर्मका साधकहरूले तपस्वी आध्यात्मिक अभिभावक गुमाउनु परेको उहाँका भक्तजनहरु बताउँछन् ।