ठेचो -सुनाकोठीको सडकमा टिपर चल्न माग गर्दै ब्यवशायी आन्दोलनमा (भिडियो सहित)

ललितपुर । ठेचो सुनाकोठीको सडकमा प्रशासनले टिपर गाडी चलाउन नदिएको भन्दै टिपर व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । आज बिहानदेखी व्यवसायीहरुले गोदावरी नगरपालिका कार्यालय र प्रदेश सांसद चेतनाथ सञ्जेलको घर ट्रिपरले घेराउ गरेका छन् ।आफ्नो जनप्रतिनिधिहरु नै मिलेर आफुहरुको व्यवसाय चल्न नदिएकोले आन्दोलन गर्नुपरेको ब्यवशायीको भनाई छ ।
नख्खु करिडोरको सडकमा टिपर चलाउँदा सडकको खराबीका कारण गाडी बिग्रेर घाटा भएको उनीहरुको गुनासो छ । टिपर चालकहरुले रातिको समयमा ठेचो सुनाकोठीको सडक प्रयोग गर्दै आएका थिए । टिपरले राति समस्या परेको स्थानीयले गुनासो गरेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयमा उक्त क्षेत्रको संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा  टिपर नख्खु करिडोरबाट मात्र सञ्चालन गर्ने निर्णय गरेका थिए । स्थानीयले टिपर मार्फत सामान ढुवानी गर्नु परेमा वडाको सिफारिस लिएर ल्याउने प्रावधान भएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले ब्यवशायीलाई अप्ठ्यारो नपर्ने गरि नख्खु करिडोरको सडक सञ्चालन गर्न सहयोग गर्ने बताए ।
प्रदेश सांसद चेतनाथ सञ्जेलले नागरिकको गुनासोले नै टिपर रोकेको बताए । उनले पनि टिपर ब्यवशायीलाई सहज बनाउन आफु तयार रहेको बताए । मंगलवार दिउँसो नगर प्रमुख गजेन्द्र महर्जनसंग ब्यवशायीहरुको छलफल भएको थियो भने छलफलमा आफ्नो समस्या समाधान नभए सम्म टिपर सडक मै राख्ने ब्यवशायीहरुले अडान लिएका छन् । ब्यवशायीहरु सडकमा टिपर चलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेका छन् । हेर्नुहोस् भिडियो ः