प्रमिसा दाहाल \सुस्मिता अधिकारी
ललितपुर । गोदावरी नगरपालिका स्थित बज्रबाराहीमा रहेको बज्रबाराही अस्पतालको शिलान्यास भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको उपस्थितिमा शिलान्यास भएको उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले बज्रबाराही अस्पतालको स्वास्थ्य क्लिनिक, हेल्थपोस्ट, प्राथमिक स्वास्थ्य सेवा सहित लामो इतिहास भएको भन्दै हाल स्थानीय तह अन्तर्गत रहने १५ शैया अन्तर्गतको बज्रबाराही अस्पताल अन्तर्गत २०७६ साल साल असोजबाट सन्चालनमा रहेको समेत जानकारी दिइन् । साथै उनले अर्थिक बर्ष ०७६\ ०७७ मा बाग्मती प्रदेशको नीति कार्यक्रम तथा बजेटमा नै जिल्ला अस्पताल नभएको जिल्लामा स्थानीय तह सगको सिफारिसमा अस्पतालको स्तरोन्नति गर्ने घोषणा गरे बमोजिम चापागाँउ अस्पताललाई पाटन जिल्ला अस्पतालको रूपमा स्तरोन्नति गर्ने प्रक्रियामा रहेको समेत बताइन् ।
प्रदेश सांसद चेतनाथ सञ्जेलले लामो समयदेखि सेवा दिँदै आएको बज्रबाराही चापागाउँ अस्पतालको शिलान्यास अर्थमन्त्रीबाट भएकोमा खुसी व्यक्त गरे । उनले अस्पताल ललितपुरकै महत्वपूर्ण स्थानमा रहेको समेत बताए । तीन गाउँपालिका लगायतका गोदावरी नगरपालिका र ललितपुर जिल्लामै अस्पतालले सेवा दिने बताए । गत वर्षको अधिवेशनबाट बागमती प्रदेशले प्रदेशका मातहतको अस्पताल बनाउने निर्णय गरेको जानकारी दिए । भवनको समस्या तथा अस्पताललाई अगाडि बढाउन कर्मचारी व्यवस्थापनको समस्या रहेको विषयलाई उठान गर्दै अर्थमन्त्री को उपस्थितीमा यी कुरा पूर्ण गर्न सकिने प्रति आफू विश्वस्त रहेको बताए । ललितपुर जिल्लाको लगभग ८० प्रतिशत भूभागलाई समेट्ने अस्पतालको स्तर उन्नतिमा नेपाल सरकारको ध्यान जाओस् भन्दै प्रदेश सरकार पनि संगै अघि बढ्ने प्रतिवद्धता समेत सांसद सञ्जेलले गरे ।
सञ्जेलले शिलान्यासका क्रममा सातादोबाटो देखि लेले सडकखण्डको विषय उठान गर्दै हेटौंडा जोड्ने सडक विस्तारका लागि वि.सं. २०७१ सालमा नै टेन्डर परेको भए पनि घरको क्षतिपूर्ति दिन नसक्दा यसको विस्तार अगाडि बढाउन नसकेको बताए । हाल ठूलो समस्याको रुपमा रहेको सडक विस्तारमा सरकारको ध्यान जान आवश्यक रहेको भन्दै हालको सवारी चाप हेर्दा सडक विस्तार गर्न नसके अस्तव्यस्थ अवस्था हुने पनि जनाए ।
अर्का प्रदेश सांसद राजकाजी महर्जनले केन्द्रीय सरकारको बिशेष आयोजना तथा संघ र प्रदेशको समन्वयमा बनाइँदै गरेको अस्पतालले प्रदेश भरिका लागि स्वास्थ्य सेवामा सुविधा पुर्याउने आशा व्यक्त गरे । साथै प्रदेशमा रहेको यस शिलान्यास कार्यक्रमले खुसी ल्याएको बताउँदै यो क्षेत्रले ग्रामीण तथा सहरी भू-भाग छुने विशेष ठाउँ भएकाले यस अस्पतालको विकास गर्नु महत्वपूर्ण रहेको महर्जनले बताए । देशभरि रहेको स्वास्थ्य संकट सम्बोधन गर्ने गरी नेपाल सरकार सारेको योजनाप्रति महर्जनले खुसी व्यक्त गरे ।
संघीय सांसद नवराज सिलवालले ललितपुरको क्षेत्र नम्बर १ लाई उपत्यकाकै प्रणालीको रुपमा चिनिने भएपनि यस क्षेत्रमा सिंहदरबारको उज्यालो पुग्न नसकेको गुनासो व्यक्त गरे । सरकारले बजेट विनियोजन गर्दा अन्य क्षेत्र बराबर दिने हुँदा पिछडिएको क्षेत्रमा बजेटको अभाव नै रहने समेत सिलवालले बताए । जिल्लामा ८० प्रतिशत भूगोल ओगटेको क्षेत्र नम्बर १ राजधानीमा बसेर पनि कर्णाली बनेर बस्नु परेको बताउँदै आगामी दिनमा सरकारले बजेट विनियोजनमा अर्थमन्त्रीको विशेष पहल रहने आशा सिलवालले व्यक्त गरे । विकास निर्माण प्रति जनप्रतिनिधि प्रतिबद्ध भएर अघि बढ्ने समेत जनाए ।
साथै उनले क्षेत्र नम्बर १ मा रहेको ८३ वटा सामुदायिक वनको सही ढङ्गले प्रयोग गरी जडीबुटीको खेती तर्फ ध्यान दिनसके आर्थिक लाभ हुने समेत बताए । साथै मुलुकले दिएको जिम्मेवारी पूरा गर्न नेकपा प्रतिबद्ध रहेको भन्दै पार्टी फुट्ने भ्रममा नराख्न पनि सांसद सिलवालले आग्रह गरे ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस अस्पतालले भवन निर्माण गर्ने मात्र नभई पूर्वाधारका हिसाबले गुणस्तर, सुनिश्चित र हालको समस्याको समाधान गर्ने अस्पताल निर्माण हुने आशा व्यक्त गरे । उनले १८ करोडको सीमा भित्र रहेर निर्माण हुने यस अस्पताल निर्माणको समय दुई वर्ष रहेता पनि त्यो भन्दा कम समयमा बनाइसक्न आग्रह समेत गरे । उनले भवन निर्माण गर्दा परिप्रक्षित लागतमा निर्माण गर्ने, गुणस्तरीय तथा निर्धारित समयमा निर्माण गर्ने कुरामा ध्यान दिनुपर्ने समेत जानकारी दिए । १५ शैयाको अस्पताल निर्माणमा गोदावरी नगरपालिकालाई बजेट अभाव नहुने समेत बताए ।
साथै आधारभूत अस्पतालहरूको मात्र निर्माण गरेको नभई यस सँगसँगै ७ वटा प्रदेशमा ५०\५० शैयाका सरुवा रोग अस्पताल समेत निर्माण गरेको अर्थ मन्त्री पौडेलले जनाए ।
साथै यस वर्षदेखि जीर्ण रहेको सातदोबाटो तीलेश्वर सडकखण्ड निर्माणमा बजेट अभाव रहेको तर्फ पनि आफुले ध्यान दिने जनाए । स्थानीय सरकारले आफ्नै पहलमा गर्न सक्ने काम आफै अगाडि बढाउन आग्रह गर्दै नसके मात्र प्रदेश तथा संघमा जान आग्रह गरे ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले माननीय अर्थ मन्त्री पौडेलले विकास निर्माणका लागि साथ र सहयोग दिने विश्वास दिएको प्रति खुशी व्यक्त गरे । उनले कोरोनाले नागरिक तथा सरकारलाई सचेत तुल्याएको समेत बताए । देशभरि अस्पतालको खाँचो रहेको पहिलो प्राथमिकता स्वास्थ्यलाई दिनुपर्छ भनी सरकार तथा माननीय अर्थमन्त्रीले गरेको निर्णयले देश भरी सकारात्मक सन्देश फैलिएको महर्जनले बताए । साथै उनले बजेट बाँडफाँड गर्दा भूगोललाई आधार मानेर विनियोजन गर्नु न्यायोचित हुने समेत बताए । अर्थमन्त्री पौडेलले गोदावरी नगरको निर्मीत भवन पनि अवलोकन गरेका थिए । उक्त कार्यक्रममा कोरोना महामारीको समयको बिच भिड भने अब्यवस्थित देखिन्थ्यो ।
Leave a Reply